ताराको तेजले चम्किएको साब्लाको कुटी
मैले थाहा पाएदेखि नै हिमाली टाकुराको हिउँ जस्तै सेतो थियो तारा गुरुको कपाल र दारी । निधारमा चन्दनको सेतो तिलक, गलामा तुलसीको माला, सुन्तले रङको कमिज, सेतो धोती, देब्रे हातमा चिल्लो लौरो, दाहिने हातमा टिलिक्क टल्किएको पित्तलको कमण्डलु, खुट्टामा कपडाका सेता जुत्ता तारा गुरुको पहिचान थियो । पातलो शारीरिक बनौट, गोरो छाला, मझौला उचाइ र बोल्दा देखिने सेता दाँत तारा गुरुका थप विशेषता थिए । पूर्वी पहाडको साब्ला तेह्रथुममा कुटी बनाएर बसेका तारानाथ खतिवडालाई अधिकांश मानिसहरू ‘तारा गुरु’ भनेर चिन्थे । तमोर नदीको सहायक मध्येको एक खोरुङ्गा खोला किनारमा थियो तारा गुरुको कुटी । माथि मेन्छ्यामधाप, श्रीजुङ, पौंठाक र मोराहाङतिरबाट बगेर आउने खोरुङ्गा खोला र आम्बुङतिरबाट आउने लुन्द्रुङ खोलाको कलकल गर्ने प्राकृतिक आवाजलाई कुटीबाटै सुन्न सकिन्थ्यो ।
साब्लाको हलिमेला बजार काटेर केही तल्तिर खोरुङ्गा खोला पुग्नै लाग्दा खेतको चेप्टो आली नै आली पूर्वी दिशा ताकेर गएपछि कुटीमा पुगिन्थ्यो । आलीको एउटा भागमा थियो ठुलो ढुङ्गो । त्यसकै छेउमा थियो अम्बकको रूख । त्यहाँबाट केही अगाडि गएपछि भेटिने गोलो आकारको पहाडी ढिस्कोमा बनाइएका थिए चारवटा साना ठुला घर । तीमध्ये दुईवटा मन्दिर, एउटा त्यसकै ठिक तल्तिर दक्षिणमुखी पहाडी शैलीको घर र अर्को उत्तराभिमुख लामो पाटी थिए । दक्षिणमुखी पहाडी शैलीको घरसँगै जोडिएको थियो गाई गोठ । त्यसकै आडमा थियो ढिकी । थुम्कोका दुईवटा मन्दिरमध्ये एउटा सर्वेश्वर र अर्को शिवालय थियो । कुटीको कम्पाउन्ड थियो स्थानीय रुखपातले बनेका किला र घोचाघाराहरूको । हलिमेलातिरको प्रवेशद्वारमा थियो काठका दुईवटा खाँवामा चारचारवटा प्वाल पारेर बनाइएको तगारो । ती प्वालहरूमा लगाइएका हुन्थे लामा र सिधा रुखका ससाना गोलाकार घोचाहरू । बाटुलो आकारको प्राकृतिक थुम्काकै टुप्पामा थियो कुटी र भौतिक संरचना । उतिबेला ग्रामीण भेगमै बनाइएका स्थानीय इँटाहरू थिए कुटीको भुँइ र भित्तामा । तारा गुरु थिए कुटीका केन्द्रविन्दु । उनको दर्शन गर्नकै लागि मानिसहरू घन्टौँ पैदल हिँडेर आउँथे । जिरिखिम्ती, पिप्ले, म्याङ्लुङ बजार, तम्फुला, साब्ला, जलजले, ओयाक्जुङ, पौठाक, श्रीजुङ, मोराहाङ र आम्बुङबाट तारा गुरुप्रति आस्था भएकाहरू कुटी परिसरमा पाइला राख्थे । डाँडापारीको इसिबु र खाम्लालुङ, कोयाखोला र आठराई, सोल्मा र बसन्तपुरतिरका मानिसहरू पनि समय मिलाएर पुगिरहन्थे त्यहाँ । मैले जान्दादेखि नै त्यस भेगको धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित थियो तारा गुरुको कुटी ।
तारा गुरुको आध्यात्मिक झुकाव मोराहाङ सल्लेरीका उनकै नातामा काका पर्ने चुणामणि खतिवडाका सान्निध्यतामा भएको थियो । १९७४, माघ १२ गते मोराहाङको सल्लेरीस्थित दिपुङ गाउँमा जन्मिएका तारा गुरुलाई २०२२ साल असार महिनामा हलिमेलातिरका केही गोठालाहरूले तपस्या सुरु गरेको तीन दिनपछि भेटेका थिए भन्ने पिप्लेका केशव लुइटेलका मुखबाट सुनेको थिएँ । जङ्गलले घेरिएको पहाडी थुम्कोमा पात्लेको फेदैनेर अगाडि कमण्डलु राखेर तपस्यामा बसेको अपरिचित व्यक्तिका बारेमा साब्ला गाउँभरि हल्ला फैलिएपछि लोकनाथ सुवेदी, लयप्रसाद सुवेदी, रामप्रसाद सुवेदी र साधु बा भनिने सुवेदी थरका अर्का एक व्यक्ति हेर्न पुग्दा तारा गुरुलाई तपस्यारत भेटेका थिए- यो पनि मैले केशवकै मुखबाट सुनेको थिएँ । सुवेदी युवाहरूले नजिकैको ढाल्नेका सेउला काटेर सानो छानो हालिदिएका थिए । पछि जलजलेका बलराम भट्टराईले सेउलाको झुप्रोलाई ढुङ्गा र माटोको गाह्रो लगाएर मन्दिरमा परिणत गरिदिए । बिस्तारै मानिसहरूको आइजाई बढ्दै गयो ।
आध्यात्मिक ज्ञान हृदयको भित्री कुरा हो । व्यक्तिगत र पारिवारिक घेरामा सीमित व्यक्तिले यसको प्राप्ति पूर्ण रूपमा गर्न सक्दैनन् । भौतिक वस्तुप्रतिको आसक्ति भएकाहरूले आध्यात्मिक ज्ञानको महत्त्व र गूढार्थ बुझेका हुँदैनन् । रामायण, महाभारत र अठार पुराणहरूका कथाद्वारा मानिसहरूलाई सत्चरित्र र नैतिकवान् बनाउन तारा गुरु जस्ता व्यक्तिहरूको समाजमा अधिक महत्त्व थियो । सात्विक खानाले मानिसलाई दीर्धजीवी बनाउने कुरामा तारा गुरुको विशेष जोड थियो । तारा गुरुले कोमल गीतालाई लयबद्ध रूपमा वाचन गरेको म झल्झली सम्झिन्छु । भगवत् गीतालाई कोमलनाथ अधिकारीले नेपाली भाषामा अनुवाद गरेपछि त्यसलाई कोमलगीता भनेर चिनियो । भगवत् गीतालाई ज्ञानयोग, भक्तियोग र कर्मयोगको त्रिवेणी मानिन्छ ।
एकरात तारा गुरुले तल खोलाको फलामे पुलमुनि महादेव शिला रूपमा भएको सपना देखेछन । त्यसपछि उक्त शिलालाई आवश्यक विधि पुर्याएर माथि तपस्यास्थलमा ल्याइयो र स्थापना गरियो । पछि साब्लाका लोकनाथ सुवेदीले नीजि लगानीमा शिला भएको स्थानमै शिवालय बनाइदिए । लोकनाथ समाजसेवी थिए । उनी विष्णु सुवेदी सरका बुबा र शारदा सुवेदी मिसका ससुरा हुन् । सर्वेश्वर मन्दिरमा इसिबुका पदमप्रसाद भेटुवालले झिँगटीको छाना हाल्दिए । इसिबुका पदमप्रसाद फेदाप गाउँपालिकाका प्रमुख केशव भेटुवालका बुबा हुन् । दक्षिणमुखी पहाडी शैलीको घर र उत्तराभिमुख लामोपाटी ज्ञाननाथ सुवेदीकै पहल र प्रयत्नमा निर्माण भयो । कुटी परिसरमा पूर्वाधारहरूको निर्माणसँगै आउने जानेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भयो । बिहान सबेरै उठेर मानिसहरू नुहाउन तल खोलासम्म पुग्थे । फर्किएपछि गायत्रीमन्त्र जप र पूजापाठ हुन्थ्यो । शङ्खको तिखो आवाजले कुटी वरिपरि गुन्जायमान हुन्थ्यो । खोला पारिबाट प्रस्टै सुनिन्थ्यो घण्टीको आवाज ।
म पहिलो पटक तारा गुरुको कुटी कहिले पुगेँ तिथिमिति सम्झना छैन । तर म निकै सानो छँदा आमा र अन्तरी हजुरआमा मनमाया लुइटेलसँग त्यहाँ पुगेको गाढा गरी सम्झिन्छु । कान्छी हजुरआमा र कान्छा हजुरबा पनि उतै हुनुहुन्थ्यो । कुटी परिसरमा भव्य पुराण थियो । मानिसहरूको चहलपहल थेगिनसक्नु थियो । पुराणका मूल पण्डित थिए विराटनगरका भवानीशङ्कर निरौला र पिप्लेका घिमिरे पण्डित । भवानीशङ्करका मुखबाट भागवतका मन्त्रमुग्ध पार्ने कथाहरू सुन्न मानिसहरू निकै लालायित हुन्थे । उनको कथावाचन गर्ने शैली र बिचबिचमा भजन गाउने कलाले मानिसहरूका कान र मन दुवै लोभिन्थे । जिरिखिम्तीमा जन्मिएर बाल्यकालमा कठोर दुःखसँग सामना गर्दै सुन्दर भविष्यप्रति दृढ इच्छाशक्ति बोकेका भवानीशङ्कर निरौला सयौँ चुनौतीका पहाडहरू छिचोलेर एउटा उचाई हासिल गरेका सफल र लोकप्रिय भागवत कथावाचक थिए । उतिबेला मात्र होइन हिजोआज पनि उनको लोकप्रियता विराटनगरतिर उत्तिकै चर्चामा छ । कुटीमा हरेक वर्ष सप्ताह, लक्ष्यहवन, रामायण कथा वाचन, गोलोक आदि कार्यक्रमहरू भइरहन्थे ।
तारा गुरुको कुटी वरिपरि कटहर, मेवा, आँप र लिचीका बोटविरुवाहरू थिए । कृष्ण दाइ र म सँगसँगै हुर्किएका बाल्यकालीन दौँतरी भएकाले वर्षमा एकपटक कटहर खान पिप्लेबाट एकघण्टा पैदल हिँडेर कुटी पुग्थ्यौँ । दसकटेको पट्टेर जङ्गल पुगेपछि डरले सातो जान्थ्यो । जङ्गल छिचोलेर लिम्बु गाउँ पुगेपछि धड्कनको गति पुरानै लयमा फर्किन्थ्यो । पारी जलजले र ओयाक्जुङतिरबाट आएका मानिसहरू हलिमेलामुन्तिर र मास्तिरको मूलबाटोमा भेटिन्थे । बसन्तपुर र लसुनेतिरबाट आफूभन्दा गरुङ्गो भारी बोकेर आएका भरियाहरूका ढाकरहरू बाटाका ढुङ्गे चौतारो र वरका ठुल्ठुला रूखहरूका बाहिरी जराहरूमा अड्याएर राखिएका हुन्थे । तिनीहरूलाई दिइएको हुन्थ्यो तोक्माको टेको । शरीरबाट बगेको पसिनाको धारालाई रुमालले पुछिरहेका भरियाहरू उतिबेलाका स्थानीय भाकाका गीतहरू गुनगुनाइ रहेका हुन्थे । अश्लिल कुरा गरिरहेका भरियाहरूका कुरा कानमा ठोक्किए सकेसम्म लजाउँथ्यौ कृष्ण दाइ र म । खेततिर भेटिन्थे गोठालाका झुण्ड । गाई, गोरु र बाख्राहरू मस्तसँग चरिरहेका हुन्थे खेततिर ।
यस्तै दश एघार वर्षको उमेरमा ओयाक्जुङका होमनाथ सापकोटाको साथ लागेर कृष्ण दाइ र म तारा गुरुको कुटी गएका थियौँ । वर्षमा एकपटक कटहर खान बोलाउथेँ उनले । त्यो साल असार दश गतेभित्र जसरी पनि कुटी जानु भन्ने खबर आएको थियो । उत्तर दिशातिर फर्किएको लामो पाटीको पछाडिको ठुलो रुखमा फलेका कटहर टिप्न लगाए तारा गुरुले । कृष्ण दाइ र मैले रुखबाट टिपेका कटहर डोकोमा राख्यौँ र बिस्तारै डोरीका सहाराले भुँइमा झारिदियौँ । त्यो दिन कृष्ण दाइ र मैले अघाउन्जेल कटहर खायौँ । भोलिपल्ट बिहान दुई दुईवटा कटहर बोकेर घर फर्कियौँ ।
कृष्ण दाइका बुबापट्टिको बुढो मामली घरको नाता थियो कुटीमा । विवाहपश्चात एउटी छोरी जन्मिएकी र ठिक एक वर्षपछि श्रीमती परलोक गएपछि तारा गुरुले दोस्रो विवाह गरेनन् । मोराहाङ सल्लेरीका खतिवडा परिवारमा रहेको आध्यात्मिक आस्थाकै कारण तारा गुरुले खोला किनारको जङ्गली थुम्कामा तपस्या गरे । छोरी पनि हुर्किँदै गइन् । पछि तारा गुरुले आफ्नी छोरीको विवाह पिप्लेका प्रजापति लुइटेलसँग गरिदिए । प्रजापतिकै नाति हुन कृष्ण दाइ । कृष्ण दाइ र मैले पाँच कक्षासम्म सँगै पढेका थियौँ । तारा गुरु छोरीका घर आउँदा हाम्रै आँगनको बाटो हिँड्ने, आध्यात्मिक ज्ञान सुनाउने, चियापानी पिउने र समय मिले आफैँ खाना बनाएर खाने गर्दथे ।
गोलो पहाडी थुम्कोमा बनाइएको मन्दिर र भौतिक संरचनाले आध्यात्मिक रुचि भएकाहरूलाई चुम्बकले फलाम ताने झैं तानेर राख्दथ्यो । साउन महिना र शिवरात्रिमा खोरुङ्गा खोलाको जल बोकेर शिवालयमा चढाउनेहरूको लस्कर लामै हुन्थ्यो । मान्यजनलाई भेट्न जाँदा रित्तो हात जानु हुँदैन भन्थे र आफ्नै खेतबारीमा उत्पादन गरेका अन्न, सागपात र फलफूलहरू बोकेर वरिपरिका गाउँका मानिसहरू पुग्थे तारा गुरुको कुटीमा । तम्फुला, म्याङ्लुङ, पिप्ले, नेवै, सल्लेरी, सेर्मा र साब्लातिरका मानिसहरू ट्यामेमा दूध, दही र ध्यू बोकेर पनि जान्थे । बुढापाकाहरूका निम्ति मोक्ष प्राप्ति, युवायुवतीहरूका निम्ति उमङ्ग र बालबालिकाहरूका निम्ति हर्षोल्लासको पवित्र धाम थियो कुटी । त्यहाँ पुगेर दर्शन गरे मृत्युपछि स्वर्ग पुगिन्छ भन्नेहरूको सङ्ख्या पनि उल्लेख्य थियो । सिक्किम र दार्जिलिङबाट पनि तारा गुरुका चेलाचेलीहरू दर्शनार्थ आउँथे भन्ने मैले बारम्बार सुनेको थिएँ । वृन्दावनबाट खनाल गुरु कुटीसम्म आएको म गाढा गरी सम्झिन्छु ।
कुटीमा गएका बेला हामी तल्तिरको खोरुङ्गा खोलामा पौडी खेल्न जान्थ्यौँ । जान्नेहरू खुब रमाइलो मान्थे । म दहको छेउछाउ पानी छप्ल्याङछुप्लुङ पार्थेँ । पौडी खेल्न मैले सिकिनँ । घारी घरी कमल निरौला, गडीगाउँका रमेश निरौला, कृष्ण दाइ र म खोलामा जान्थ्यौँ । खोलैखोला निकै माथिसम्म पुगिन्थ्यो । घाम चर्किएका बेला खपिनसक्नु गर्मी हुने औल थियो त्यो ठाउँ । माथि पिप्लेको घरतिर उति धेरै गर्मी हुँदैनथ्यो । एक पटक पिप्लेका कमल निरौला, रमेश निरौला, केशव कार्की र म आम्बुङतिरको किनारबाट ताङ्माया खोला र खोरङ्गा खोला दोभानमा पावर हाउस हेर्न गएका थियौँ । खेत र जङ्गल छिचोलेर पावर हाउस पुग्दा हाम्रा हात र अनुहारमा काँडाले कोरेका दागहरू थुप्रै थिए । पछि फर्किँदा नेवैतिरको बाटोबाट आयौँ । जाँदा तीन घण्टाभन्दा बढी समय लागेको बाटो फर्किँदा एक घण्टाभित्रै कुटी आइपुगियो ।
पुराण लागेका बेला दुई तीन रात उतै बसेको सम्झना छ मसँग । कुटीमा गाई पालेका हुन्थे एकदुईवटा । गाईलाई डाले घाँस काट्न लगाउथे बुढापाकाहरू । हामी खुसी हुँदै रुख चढेर डाले घाँस झारिदिन्थ्यौँ । पिप्लेकी नारायणी ढुङ्गानाले लामै समय कुटीमा जीवन बिताएको म राम्ररी सम्झिन्छु । पछिल्लो पटक २०५६ सालमा नागदहका दीपक ढुङ्गाना र म सदरमुकामबाट पैदल कुटी गएका थियौँ । मन्दिर परिसरमा भेटिएकी थिइन् साब्लाकी मन्जु सुवेदी । हामी तीनैजना म्याङ्लुङ क्याम्पसका सहपाठी थियौँ । मन्दिरको पछाडितिर अनेक जातका रूखहरू थिए । केराका बोटहरू, अमलाका सानाठुला रूखहरू र हलुवावेदका रूखहरू थिए । अलि तल्तिर मालबाँसका झ्याङहरू थिए । बयरका बोटहरू थिए उत्तर दिशामा । हलिमेलातिरको बारभरि थिए सिमालीका बुटाहरू । पाटका बोटहरू थिए आठ दसवटा । पाटलाई कुहाएर पिटेपछि निकालिएको सेतो रेसाबाट गाईवस्तुका दाम्ला बुन्ने चलन थियो पहाडतिर ।
कुटीछेउको मूलबाटो आठराईतिरका मानिसहरूको सदरमुकाम आइजाइ गर्ने बाटो थियो । जिरिखिम्ती, लसुने, बसन्तपुर हुँदै तराई आउनेहरू कुटीछेउको मूलबाटोकै प्रयोग गर्दथे । हलिमेला पुगेपछि सदरमुकाम र जिरिखिम्ती जाने बाटो छुट्टिन्थ्यो । हलिमेला कुनै समय निकै चहलपहल भएको बजार थियो । मलामीलाई खाजा खुवाउन मानिसहरू आआफ्ना घरका स्थानीय उत्पादनहरू बोकेर हलिमेलापुछारको चौतारासम्म पुग्थे । दिवङ्गत आफन्तहरूका नाममा मुलबाटाको दाँयाबाया फलैंचा वा चौतारो बनाउने चलन थियो । ढुङ्गा माटोको गाह्रो लगाएर पाटीहरू पनि बनाएका हुन्थे । फलामे पुलको पूर्वी भागमा बटुवाहरूका निम्ति पाटी बनाइएको थियो । खोरुङ्गा खोलामा ३६ गाउँका मानिसहरू दाहसंस्कारका निम्ति आउँथे । मेक्चनाका रामचन्द्र पण्डितले खोला किनारमा दाहसंस्कार गरिएका पितृहरूको उद्धारका निम्ति आफ्नै सपनाका आधारमा सार्वजनिक पुराण लगाएको कुरा सुनेको थिएँ बुबाका मुखबाट ।
२०५९ सालको हिउँदतिर तारा गुरुलाई मैले मोरङको विराटचोक स्थित टङ्क गुरागाईँको घरमा भेटेको थिएँ । त्यहाँबाट कावासाकी कम्पनीको मोटरसाइकलमा राखेर हरैंचा लिएर गएको थिएँ । गृहयुद्धले असुरक्षा बढेपछि तारा गुरुको बसोबास बिस्तारै चतराधामतिर हुन थाल्यो । जगतगुरु बालसन्त मोहनशरणको अथक प्रयासबाट चतराधामको महिमा दिन दुई गुना रात चौगुना बढ्दै थियो । तारा गुरुले तेह्रथुम आश्रम चतराधाममा स्थापना गरे र उतै बस्न थाले । फोक्सोमा देखिएको समस्याका कारण २०६७, मङ्सिर -२९ गते पुगनपुग त्रियानब्बे वर्षको उमेरमा उनले भौतिक संसारबाट बिदा लिए ।
टोकियोको व्यस्त जीवनमा पनि हिजोआज म तारा गुरुलाई बाक्लै सम्झिरहन्छु । उतिबेला साब्ला गाउँ र त्यस वरपरका मानिसहरूका निम्ति धर्म र संस्कृतिको केन्द्र थियो कुटी । धार्मिक ज्ञान, पौराणिक शिक्षा तथा परम्पराको प्राप्ति, प्रचार र जगेर्ना गर्न यस्तै धार्मिक केन्द्रहरू मानिसको रोजाइमा थिए । जसमा अब्बल भूमिका निर्वाह गरेको थियो तारा गुरुको कुटीले । अचेल माथि आम्बुङका ज्ञानप्रसाद काफ्लेले कुटीको रेखदेख गरिरहेको, ओयाक्जुङका एकजना सिलवालले कुटी नजिकै घर बनाएको र कुटीमुन्तिरबाट मध्यपहाडी लोकमार्ग बनेको सुनेको सम्म छु । समय मिले तारा गुरुको कुटीसम्म पुगेर विगतलाई पुनर्ताजगी गराउने मनको धोको हृदयको एउटा कुनामा जब्बर र अटेरी भएर बसेको छ । आगामी दिनमा समयले साथ दिए जलजलेमा अर्जुन दाजुका ससुराली घरको चिया, तल्लार साहिंली दिदी गोमा भट्टराईका घरको मोही, ओयाक्जुङकी राधिका दिदीका घरको एकराते दही, इसिबुमा रमेश काकाको ससुराली घरको घिउ र स्नातकोत्तरका सहपाठी द्वय शान्ता बराल र सोमनाथ घिमिरेका घरको दालभात खान पुग्छु । नामिन्ताकी पिङ्गोली सानिमाका घर पुगेर अँगेनाको भुङ्ग्रोमा पोलेका खेतका आलु टिमुर, नुन र पुदिना हालेको चखिलो अचारमा चोबेर खाने मनको इच्छा कसो पूरा नहोला । बतासेकी गुणसुन्दरी दिदीका बारीमा फलेका केराउका कोसा करेसाबारीबाटै टिपेर खाने धोको छ मनभरि । कोयाखोला तरेर गइएछ भने विज्ञान संग्रौला र तोम सिटौलाको आँगनमा पाइला नटेकी कसरी फर्किन्छु र म ।
लेखकको सम्वन्धमा