म कहिले हाँस्छु
कहिले रुन्छु
कहिले टोलाउँछु
कहिले रमाउँछु

म कहिले एक्लै हुन्छ
कहिले भिडमा हुन्छु
कहिले दोबाटामा हुन्छु
कुनै कुनै बेला सबैमा ‘म’ देख्छु

म ‘म’ नै हुँ
मलाई ‘म’ मात्र चिन्दछु
तर मभित्रको ‘म’ अरूलाई चिनाउँदिनँ
मभित्रको मेरो ‘म’ ले के के देख्छ देख्छ
‘देखे जति सबै आफ्नै पार्’ भन्छ
आफ्नै बनाउँदा के हुन्छ ?
नबनाउँदा के हुन्छ ?
आफैँ उत्तर दिँदै भन्छ-
‘आफ्नो भलो गरिस् भने
अरूको नास हुन्छ
त्यसो नगरी बसिस् भने
सड‌कमा बास हुन्छ’ 

म एउटा यात्री
मलाई सडकको बास प्रिय छ
जहाँ अनेक यात्रीसँग भेट हुन्छ
त्यसैले मलाई ‘म’ बन्नु छ
सबैको भलाइमा
सतिसाल झैँ खडा हुनु छ ।