धार्मिक तथा ऐतिहासिक स्थल बराह क्षेत्र भ्रमणको प्रतिवेदन
परिचय :
मिति २०८० / ११ / १२ गते श्री सहिद दशरथ चन्द्र माध्यमिक विद्यालयका कक्षा ७, ८ र ९ (अङ्ग्रेजी माध्यम) मा अध्ययनरत सम्पूर्ण विद्यार्थीद्वारा शिक्षक शिक्षिकाका साथ सुनसरी जिल्लाको बराह नगरपालिकामा अवस्थित हिन्दु धर्मावलम्बीहरूको पवित्र धार्मिक स्थल बराह क्षेत्रको भ्रमण गरियो । वि.सं १९७६ सालमा स्थापना भएको यो स्थल हिन्दु धर्मावलम्बीहरूको मुख्य धार्मिक स्थल पनि हो । यस स्थानमा विभिन्न मठमन्दिर, धर्मशाला तथा आन्तरिक र बाह्य पर्यटकहरूका लागि मनोरञ्जनमूलक क्रियाकलापको व्यवस्था छ । नेपालका धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको पहिचान, सामाजिक अध्ययनअन्तर्गत २५ पूर्णाङ्कको आन्तरिक मूल्याङ्कन र पाठ्यक्रममा उल्लेख गरिएका उद्देश्य पूरा गर्न यो भ्रमण गरिएको थियो ।
अध्ययनको आवश्यकता :
सामाजिक अध्ययन बहुविधात्मक विषय हो । सामाजिक विज्ञानका भूगोल, इतिहास, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, धर्म, संस्कृति, पर्यटन आदि यस विषयका मुख्य पक्ष हुन् । ती पक्षहरूको वस्तुनिष्ठ अध्ययनका लागि स्थलगत अवलोकन भ्रमण आवश्यक छ । यसले learning by see (हेरेर सिक्ने) संस्कृतिको विकास गर्दछ । अर्कातर्फ बराह क्षेत्र नेपालकै धार्मिक महत्त्व बोकेको स्थल हो । यसका बारेमा जानकारी लिनु आवश्यक छ । यसका साथै कक्षा ९ को सामाजिक अध्ययन विषयको १५% आन्तरिक परीक्षाको परियोजना कार्य अनिवार्य पूरा गरी विषय शिक्षकलाई बुझाउनु पर्ने हुन्छ । यी सबै आवश्यकता पूरा गर्न बराह क्षेत्रको अध्ययन भ्रमण गरी प्रतिवेदन तयार गर्नु आवश्यक ठानिएको छ ।
भ्रमणका उद्देश्य :
विद्यालयमा स्थलगत भ्रमण गर्नुअघि हामी विद्यार्थी र गुरुवर्गबिच छलफल गरी यस भ्रमणलाई उद्देश्यमूलक बनाउन निम्न उद्देश्य तय गरियो :
क) बराह क्षेत्रमा रहेका मठमन्दिर तथा मूर्तिबारे जानकारी प्राप्त गर्ने,
ख) सांस्कृतिक र ऐतिहासिक वस्तुको अध्ययन गर्ने,
ग) मन्दिरको संरचना, अवस्थिति र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी लिने,
घ) आवश्यक सुधारका लागि सुझाव दिने
अध्ययनको विधि :
उल्लिखित उद्देश्य पूरा गर्ने र भ्रमणलाई अझ प्रभावकारी बनाउने योजना बनाइयो । त्यसका लागि भ्रमणमा सँगै रहनुहुने सामाजिक अध्ययन शिक्षक श्री सीताराम रिमालबाट आवश्यक जानकारी पाउने कुरामा विश्वस्त बनियो । यति हुँदाहुँदै पनि उद्देश्य पूरा गर्न अध्ययनका निम्न लिखित विधि अवलम्बन गरिए :
क) प्रत्यक्ष अवलोकन
ख) अन्तरवार्ता
ग) मौखिक पश्नावली
घ) सम्बन्धित साहित्यको अध्ययन
ङ) शिलालेखको अध्ययन
च) संवाद
भ्रमणबाट पत्तालागेका कुराहरू :
शिक्षक तथा विद्यार्थीहरूको एउटा टोली बिहान ७:00 बजे विद्यालय प्राङ्गणबाट गन्तव्यतर्फ प्रस्थान गर्यो । बसमा सबैसँग रमाइलो गर्दै गन्तव्यसम्म पुग्ने उत्साह थियो । गन्तव्य थियो- बराह क्षेत्र । सुनसरी जिल्लाको बराह नगरपालिकामा अवस्थित यो धार्मिक तथा सांस्कृतिक स्थल कोसी नदीका किनारमा रहेको छ । यो स्थलले ठुलो धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको छ । यस स्थलको वर्णन बराह पुराणमा समेत गरिएको छ । पृथ्वी रसातलमा पुग्न लाग्दा भगवान् विष्णुले बराह (बनेल) को रूप धारण गरी आफ्ना दुईवटा दाह्राले पृथ्वीलाई थाम्नुभएको थियो । बराह भगवान्ले पृथ्वी थामेको ठाउँ हुनाले यस क्षेत्रको नाम नै बराह क्षेत्र रहन गएको हो । भगवान्ले आफ्ना १० मध्ये तेस्रो अवतारमा बराहाको रूप लिएर बराह क्षेत्रबाट नै पृथ्वीको उद्धार गर्नुभएको थियो । त्यसैले यो क्षेत्र धार्मिक-सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण छ ।
भौगोलिक दृष्टिले हेर्दा यस क्षेत्रको अवस्थिति विचित्रको छ । यो पहाड र मधेसको सङ्गम क्षेत्र हो । त्यसैले यहाँ धेरै जाडो वा धेरै गर्मी हुँदैन । यो क्षेत्र कोसी र कोकाह नदीका दोभानमा अवस्थित छ । यी दुवै नदी पनि धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण छन् । यिनै नदीमा पितृको अस्तु बगाउने प्रचनल छ । यहाँ श्राद्ध गरे पितृले मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ । यहाँ मुख्य गरी भगवान् विष्णुको पूजा गरिन्छ ।
बराह क्षेत्र धार्मिक दृष्टिकोणले मात्र नभएर मनोरञ्जनात्मक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । अग्ला पहाडका फेदमा रहेको बराह क्षेत्र प्राकृतिक दृष्टिले निकै मनोरम छ । यहाँको हावापानी पनि राम्रो छ । यहाँ पर्यटकहरूले जलयात्राको सुविधा लिन पाउँछन् । यो छोटो यात्रा आकर्षक र मनोरञ्जनात्मक छ ।
महेन्द्र राजमार्गदेखि उत्तरतर्फ करिब ४-५ किलोमिटकको दूरीमा रहेको यस स्थनसम्म पुग्नका लागि यातायातको राम्रो व्यवस्था छ । राजमार्गलाई छाडेर उँभो लाग्दा आधाआधीसम्म त पक्की सडकमै यात्रा गर्न पाइन्छ । त्यसपछिको आधा बाटो चाहिँ उचित रूपमा विकसित भइसकेको छैन । अर्थात् आधा कच्ची बाटोबाट यात्रा गर्नुपर्छ । ठाउँ ठाउँमा बाटो निर्माण गर्ने कार्य भइरहेको छ ।
यही बाटामा पितृ श्राद्ध गर्न, बराह भगवान्को दर्शन गर्न, बराह क्षेत्रको अध्ययन अनुसन्धान गर्न आउनेहरूको घुइचो लाग्दो रहेछ । यहाँ यात्रीलाई बास बस्ने होटल तथा लजको राम्रो व्यवस्था छ । पूजासामाग्रीका पसलहरू पनि मज्जाले चलेका छन् । यस दृष्टिबाट हेर्दा यहाँ व्यापार व्यवसाय पनि राम्रै भएको पाइन्छ ।
यस क्षेत्रले व्यवसाय मात्र होइन यात्रीहरूलाई सुविधा पनि दिएको छ । यहाँ यातायात, पिउने शुद्ध पानी, सार्वजनिक शौचालय, पाटी पौवा आदिको राम्रो व्यवस्था छ ।
हाम्रो टोली बराह क्षेत्रका साथै अर्को स्थानको अध्ययन अवलोकन गर्न पनि पुग्यो । त्यो स्थल थियो- चतारा हाइड्रो पावर प्रोजेक्ट । यो प्रोजेक्ट हाम्रो टोली बराह क्षेत्र जाने बाटैमा पर्थ्यो । यस स्थानमा गएर विद्युत् उत्पादन हुने प्रक्रिया अवलोकनमार्फत बुझ्न पाइयो । त्यसमा पनि विज्ञद्वारा आवश्यक जानकारी दिइयो । यस प्रोजेक्टको जलविद्युत् उत्पादन क्षमता ३.२ मेघावाट रहेछ ।
निष्कर्ष :
सुनसरी जिल्लामा रहेको बराहा क्षेत्र धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले निकै महत्त्वपूर्ण छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले आवश्यक बजेट विनियोजन गरी यस क्षेत्रको विकास गर्न लागिपरे यो क्षेत्र धार्मिक पर्यटकीय स्थलका रूपमा सजिलै विकसित हुन सक्छ ।
सुझावहरू :
१) मन्दिरसम्म पुग्ने कच्ची सडकलाई पक्की बनाउनुपर्ने,
२) मन्दिर परिसरको उचित सरसफाइ र फोहोर व्यवस्थापनमा जोड दिनुपर्ने,
३) वरपर रहेका व्यापार / पसलहरूलाई व्यवस्थित गर्नुपर्ने,
४) यस क्षेत्रका आगन्तुकलाई क्षेत्रगत परिचय गराउने व्यवस्था मिलाउनुपर्ने,
५) यस क्षेत्रका कलाकृतिको आवश्यक संरक्षण गर्नुपर्ने ।
मिति : २०८०/१२/०९
प्रतिवेदक
श्रेया रिमाल
एन्जिला शंकर
स्मृति सापकोटा
विनिता दाहाल
लेखकको सम्वन्धमा