हृदयका चौतारीमा पिप्लेको तीनतले भिर

बाल्यकालका अनगिन्ती सम्झनाहरूमध्ये मलाई बारम्बार सम्झाइरहने ठाउँ हो- तीनतले भिर । ढाँडे खेतमा टेकेर टाउकामाथि ढाँडाखर्क बोकेर इतिहासदेखि उभिएको छ तीनतले भिर । पारी पिलिङ डाँडा, कालिमाटी, सोल्मा र शुक्रबारेलाई सामुन्नेमा राखेर हलचल नगरी उभिएको तीनतले भिर सायद तेह्रथुम पिप्लेमा बाल्यकाल बिताएका मेरा समकालीनहरू, अग्रजहरू र नयाँ पुस्ताहरूका निम्ति मनमस्तिष्कको एउटा कुनामा अमिट छाप बनेर बसेको छ । अझ मेक्चना, पिप्ले र पाटीगाउँबासीहरूलाई तीनतले भिरले पक्कै पनि केहीनकेही अनुभूतिहरू पस्किएकै हुनुपर्छ । किसान हुन् वा बटुवा, पाहुना हुन् वा पर्यटक, शिक्षक हुन् वा निजामति तीनतले भिरको दृढतासँग ठोक्किएका जो कोहीलाई पनि यसको सम्झना गहिरो हुनु पर्ने हो ।
पछिल्लोपटक म तीनतले भिर कहिले पुगेँ स्पष्ट सम्झना छैन । डेड दशक अघि त्यहाँ पुगेको हुनुपर्छ । तर योसँग बाल्यकालमा बिताएका क्षणहरू उत्तिकै ताजा छन् । भोगटिनी, दारे गौँडो, खोक, खोर्सानी बारी, ठुलो पाखो, मुडा आदि तीनतले भिरका अभिन्न अङ्ग हुन् । यी प्रत्येक ठाउँसँग मेरो गहिरो नाता जोडिएको छ । हिजोआज पनि म सम्झन्छु ती दिनहरू कति सुन्दर, सुललीत, सुरम्य र मनोविनोदात्मक थिए । हृदयमा आनन्दको समुद्र थियो । पिर थिएन, चिन्ता थिएन अनि तृष्णा थिएन । न लोभ थियो न रिस राग । उद्देश्यहरू जटिल पनि थिएनन् । अप्राप्तिको उचाइसम्म उक्लिएका थिएनन् उद्देश्यहरू । सबैथोक थिए भुइँमै । भेटिने ठाउँमै । अझ भनौँ छुन सकिने ठाउँमै ।
म यस्तै दश एघार वर्षको हुनुपर्छ । रमेश काका र म दारेगौँडोमा बाख्रा चराउन गएका थियौं । जेठको महिना थियो । बैशाखको सुरुदेखि नै त्यो साल पानी परेकाले भुइँभरि हरियो घाँस पलाएको थियो । जमिन रसिलो थियो । तल लाक्पाके र मझे बेँसीबाट बजगाईंको डी हुँदै फैलिएर आएको भुइँ कुहिरोले तीनतले भिर ढाकिदियो । दारेगौँडोमा छोडेका डेड दर्जन बाख्राहरू प्याsssप्याsss गर्दै सालिम्बो, मर्चे झार, बन्सो, सिरु र सिन्के घाँस मस्तसँग खाइरहेका थिए । रमेश काका र म तल्लिरको जाँते ढुङ्गामा बसेर गीत गाइरहेका थियौँ- छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले …। तल खेतमा दिनभरि आली काटेर आएको पाटीगाउँको दिलकुरे लिम्बूले दारेगौँडोको ओढारमा बसेको अरिँगालको गोलामा ढुङ्गा हानेर माथि सल्लेरीको चोरदुलोतिर टाप कस्यो । अरिँगालहरू बिच्किए र जताततै उड्न थाले । काका र म चोयाबाँसको झ्याङको बाटो हुँदै सल्लाका बुटा पन्छाउँदै रकेटकै गतिमा सिरिङखन्नो खेततिर भाग्यौँ ।
अरिँगालले चारवटा बाख्रालाई चिलेछ । अरिँगालको टोकाइले आत्तिएका बाख्राहरू तल्लोखन्नो खेतको हलिने ढुङ्गोतिर एक निमेषमै आइपुगे । तीमध्ये रमेश काकाको एउटा माउ बाख्रो आएन । त्यो बाख्रो धेरै कुद्ने र समाउन गाह्रो हुने हुनाले अगाडिको एउटा खुट्टा दोबारेर डोरीले बाँधिदिने गरेको थियो । त्यसो गर्नुलाई डुँडीखुट्टी भनिन्थ्यो । डुँडीखुट्टी लगाएको बाख्रो बाटामा आउँदै गर्दा दुईवटा स्यालले बाटो छेकेछन् । आत्तिएर बाख्रो चोयाबाँस छेऊको भिरबाट लडेछ र मरेछ । घर आएपछि कान्छा हजुरबाले रमेश काकाको ढाडमा माथि छेलेको गोठबाट वर्षौंअघि ल्याएको असारेको लौरोले दुईतीनपटक पिट्नुभएछ । मलाई लिन बालिका दिदी भुङ्ग्रोमा पोलेका चारपाँचवटा आलु लिएर सिरिङखन्नो खेतको सिरानको मुहानसम्म जानुभएको थियो । मेरा बाख्राहरू सुरक्षित थिए । अम्बिका दिदीले भनेको सम्झिन्छु- दारेगौँमा बेहुली लुकाइ खेल्दा खेम लुइटेल चिप्लिएर लडे, मैले अचानक समाएँ नत्र काका बाँच्ने थिएनन् ।
खोक तीनतले भिरको अर्को एउटा भाग हो । खोकको शीर भन्नु नै ढाँडाखर्कको धारामुनिको भाग हो । ढाँडाखर्कको धाराबाट बगेको पानी पहराको चेपबाट पसेर खोकको शिरमा निस्किन्छ । त्यो पानीको कारण खोकमा निगुरो, उन्यु, सिस्नो, अल्लो र विभिन्न जातका लहराहरू फस्टाएका थिए । हामी खोकको निगुरो टिप्न मरिहत्ते गर्थ्यौं । निगुरो टिप्न उत्तिसको लौरोले सिस्नो पन्छाउँदै माथिसम्म पुगिन्थ्यो । सिस्नोले पोलेर झमझम गर्थ्यो र पछिसम्म दुखिरहन्थ्यो । गाईवस्तु खोकमा हाल्दिएपछि ढुक्क भइन्थ्यो । एकदिन हाम्रो घरका कलुवा र पामे गोरु मस्तसँग खोकमा चरिरहेका थिए । म, जीवन श्रेष्ठ र रमेश काका खोकको पानी बारेर पौडी खेल्न र ससाना माछा समाउन व्यस्त भयौं । तीनैजनाका गोरु खोकको पुछारमा रहेको गणेशमान लिम्बूको धान खेतमा पसेछन् र मस्तसँग धान खाएछन् । पछि थाहा पायौँ । डरले मनभरि डेरा जमायो । घरमा कसैलाई पनि भनेनौं । केही दिनपछि गणेशमान लिम्बूले पत्ता लगायो र समाज भेला गरेर अर्मल तिराएर छोड्यो । बुबाको गाली नमज्जाले खाएँ त्यो दिन ।
खोकमा एउटा चर्चित गाडेको ढुङ्गो पनि थियो । त्यो ढुंगो पिप्लेका सेरबहादुर श्रेष्ठले गाडेको भन्ने सुनेको हो । हामी त्यसमा अडेस लागेर बस्थ्यौँ र चरिरहेका वस्तुबाख्रालाई बोलाउँथ्यौँ । खोकको पुछारनेर एउटा खिर्राको रुख थियो । हामी त्यसमा चढ्थ्यौँ र सैसुला खेल्थ्यौँ । खिर्राको चोप दुधजस्तै हुन्छ । त्यो छालामा परे घाउ हुन्छ भन्थे बुढापाकाहरू । कागभलायो जति विषालु हुँदैन खिर्रो । बुबाले पाटीगाउँको धनबहादुर लिम्बूसँग खोकको बारी राजिनामा पास गरेर किन्नुभएको थियो । त्यो पछि तल पिप्लेका दिनानाथ दाहाललाई बेचिदिएको कुरा गर्नुहुन्थ्यो । उनीहरूले खोकको पानीका लोभले त्यो बारी किनेका थिए । मैले बुबाका मुखबाट सुनेको थिएँ । खोकबाट तेर्सै आउँदा भिरको चेपैचेप भोगटिनीको सिरानमा निस्किने बाटो थियो ।
हामी वस्तुबाख्रा चराउन जाँदा खोकको पुछार हुँदै मुडा मुनिसम्म लैजान्थ्यौँ । मुडा अचम्मको ढुङ्गो थियो । त्यो भिरमा च्यापिएर बसेको विशाल ढुङ्गो थियो । भोगटिनी, कमलखन्नो, पिप्ले बेँसी र अम्बिका भट्टराई सरको घरतिरबाट हेर्दा टाउको र घुँडा काटिएको मानिसको आकृतिजस्तै देखिन्थ्यो । एउटा ठुलो र अर्को सानो तर उस्तै आकृति थियो त्यसको । खोकको पुछारबाट अलि पर गएपछि मुडामा चढ्ने बाटो थियो । सालिम्बोका बुच्काहरू समाउँदै हामी मुडासम्म जान्थ्यौं । एउटा ढुङ्गामा सावधानीपूर्वक चढेपछि ओढार भेटिन्थ्यो । त्यो ओढार करिब दसपन्ध्र मिटर जति अग्लो थियो । ओढारका विभिन्न भागमा वन पिपलका साना ठुला बुटाहरू पलाएका थिए । ओढारको माथिल्लो भागमा वन गौथलीहरू बस्थे । तिनीहरूको विष्टाले ओढारको अधिकांश भाग सेतो थियो ।
मुडामा चढ्न सानो चेपबाट सिधा ठाडो माथि उक्लिनुपर्थ्यो । दुईवटा विशाल ढुङ्गाका च्यापमा छड्के पर्दै माथि टुप्पामा पुगिन्थ्यो । टुप्पाबाट पर परसम्म रमिता हेर्दा खुब मजा लाग्थ्यो । २०६३ सालको हिउँदतिर सूर्य केसी र म सीतापाइला, काठमाडौँमा हरि खत्रीको घर जाँदा तीनतले भिरको मुडाका बारेमा कुरा गरेको म गाढा गरी सम्झिन्छु । हरिले भनेका थिए- कुलबहादुर श्रेष्ठले मिठो धुन निकालेर बाँसुरी बजाउँथे । त्यो धुनले लठ्ठ पारेर अर्खौले माहिलाकी छोरीसँग बिहे गरे । हामी कुलबहादुरलाई जिस्क्याउँथ्यौँ । एकदिन जिस्क्याउँदा जिस्क्याउँदै गर्दा कुलबहादुर जोडले रिसाए र म तीनतले भिरतिर भागेँ । त्यहाँ पनि कुदाउँदै आएपछि मुडामा चढेर ज्यान जोगाएँ । भेटेका भए मलाई कति भकुर्ने थिए । हरिका कुरा सुनेर सूर्य र म मरी मरी हाँसेका थियौँ ।
मुडाको ढुङ्गादेखि ठिक तल हेलिकोप्टरकै आकृतिको अर्को ठुलो ढुङ्गो थियो । त्यसलाई सबैले हेलिकप्टरे ढुङ्गा भन्थे । त्यसको ढाँडेतिरको भागमा खिर्राको रूख थियो । हामी त्यो रूखको टुप्पाबाट ढुङ्गाका फेदतिर झर्थ्यौं । पातीका अग्लाअग्ला बुटाहरूले ढुङ्गालाई वरिपरिबाट घेरेको थियो । त्यो ढुङ्गाको बाटो हुँदै पर जाँते ढुङ्गासम्म जान सकिन्थ्यो । जाँते ढुङ्गाको छेउकै पहरामा चिउरीका रूखहरू थिए । पहराका मुनि गिद्धले गुँड लगाएको थियो । स्थानीय गिद्धहरू अन्तरे विष्ट लडेर मरेको भिर, सिमलको अग्लो रूख हुँदै मुडाको ढुङ्गासम्म कावा खाइरहेको दृष्य देखिन्थ्यो । पछिपछि ती गिद्धहरू विस्तारै त्यहाँबाट लोप भएर गए । जाँते ढुङ्गा मुन्तिरको बाघेको मूल ढाडे खेतको सिचाइ गर्ने भरपर्दो स्रोत थियो ।
अर्जुन दाजु र म ठुलो पाखोबाट सालिम्बाको घाँस काटेर ल्याउँथ्यौँ । २०४५ सालको भुकम्पले भिर भत्किएर एउटा ढुङ्गो बाटामा अड्किएको थियो । त्यो ढुङ्गो चढेपछि मास्तिर छड्के परेर बसेको पहराको ठुलो भाग थियो । त्यसको शिर मुडाको ढुङ्गाको सिरसँग नजिकै भए पनि माथिबाटै आइजाई गर्ने बाटो थिएन । अम्बिका दिदी र बालिका दिदीले पनि त्यहाँबाट घाँस काटेर ल्याएको कुरा बारम्बार गर्नुहुन्थ्यो । डेडराज श्रेष्ठ, केशव काका, रमेश काका, खेम काका, विष्णु काका र रामजी काकाले पनि ठुलो पाखोबाट घाँस काटेर ल्याएको कुरा गरेको सम्झना छ । अर्खौले नेवारका छोराछोरी र बुहारीहरू पनि त्यहाँसम्म घाँस काट्न पुग्थे ।
तीनतले भिरको सिरानमा स्याम्दल लिम्बूको ढाडाखर्क खेत थियो । धाराको सानो पानीले ढाडाखर्कको पूरै खेत सिचाइ गर्न सम्भव थिएन ।त्यसैले स्याम्दल लिम्बूका माइला, साहिँला, काहिँला र कान्छा छोराहरू र केही नातिहरू रूपा र सिस्ने खोलाबाट जिरिखिम्ती बजार हुँदै ल्याएको कुलो लगेर असारमा धान रोप्थे । ढाडाखर्कको माटो चिम्ट्या थियो । सानोतिनो पानीले त्यहाँ खेती गर्नु असम्भव हुन्थ्यो । त्यसैले स्याम्दल लिम्बूका सारा परिवारहरू भेला हुन्थे र खेत रोप्थे । आकासे पानी पर्ने र रूपा खोलाको कुलो आएका बेला ढाडाखर्कको खेतका अधिकांश गराहरू टिलपिल हुन्थे र समा चल्थे । तल पुछारबाट पानी भरिएपछि ठुलो पाखाको विशाल पहराबाट झरनाको स्वरूपमा पानी झर्थ्यो र ढाँडे खेतमा गएर मिसिन्थ्यो ।
खोर्सानीबारीमा पुगेर घाँस काटेको र बाख्रा चराएको सम्झना मसँग ताजा छ । अर्खौले अन्तरे खोकबाटै खोर्सानीबारी चढ्थे र घाँसको भारी पुर्याउँथे । अर्जुन दाजु, कमला काकी, रमेश काका र म ढाडाखर्कको अमलाको रूखको फेदबाट खोर्सानीबारी ओर्लिएर घाँसको भारी पुर्याउँथ्यौँ । सल्लेरी वनतिरबाट पनि खोकको माथिल्लो भागमा घाँस काटिन्थ्यो । एउटा संयोग के थियो भने तीनतले भिरमा घाँस काट्ने हँसियाहरू सबैका पोतेको ढुङ्गा मुन्तिरका डम्बरबहादुर लोहारका आरनमा बनेका हुन्थे । दाम राम्रै लिने र सामान पनि राम्रै दिने डम्बरबहादुरको औजार व्यवसाय गाउँभरि चर्चित थियो । उनी खुर्पा, खुर्मी, कर्द, कोदालो, कोदाली र खुकुरीहरू बनाउँथे र बेच्थे ।
भोगटिनीको बारीका सुर्काहरूमा फिलुङे र गहत छर्ने गरेको सम्झना छ मसँग । वि.सं. १९९५ मा पाटीगाउँकी एउटी लिम्बुनीलाई बाइस रुपैया दिएर हजुरबुबाले बन्दकी लिएपछि केही न केही बाली लगाउने चलन थियो । स्याम्दल लिम्बूले २०३२ सालको नापीका बेला बन्दकीको थैलो फिर्ता नगरी दर्ता गरेपछि हजुरबुबा र बुबाले त्यसमा आफ्नो हकदाबी त्यतिकै छोड्नु भएको सुनेको थिएँ बुबाका मुखबाट । भोगटिनीको सिरानमा घगौरुको बोट थियो । हामी त्यहाँ लटरम्म फलेका घगौरु खान्थ्यौँ र छेउका चिलाउनेका अधिकांश रुखहरूमा चढेर बेस्सरी हल्लाउँथ्यौँ । बाल्यकाल साँच्चिकै आनन्दमय थियो । भोगटिनीको तल्लो भागमा चौतारे लिम्बूले कोदो रोप्ने, फिलुङे, गहत छर्ने र सुटुनी रोप्ने गरेको म अझै पनि राम्ररी सम्झिरहन्छु । कृष्ण दाइको एउटा गोरु त्यसकै छेउका भिरबाट चिप्लिएर स्वाहा भयो । वस्तुहरू लड्ने र मर्ने, लड्ने र उठ्ने खबरहरू पछि पनि निकै पटक सुनिएको थियो । वस्तुबाख्रा चराउन गएका बेला ठुलो ओढारबाट पहरो रसाएर निस्किएको पानीलाई सानो कुलो बनाएर भोगटिनीसम्म लगेर धारा बनाएर खेलेको स्मृति ताजै छ । सूर्य केसीले स्युचाटार, काठमाडौंमा बसेको बेला भन्थे- हामी गोठालो जाँदा भोगटिनीमा दह बनाउँथ्यौँ र पौडी खेल्थ्यौँ । नजिकैको चोक्टी खेतनेरको अँधेरी खोलामा पानीको दह बनाएर नाङ्गा नाङ्गै पौडी खेल्थ्यौँ । सबै उस्तै भएर पौडी खेलेपछि लाजजति अँधेरी खोलाको पानीले खाइदिन्थ्यो । सूर्यका कुरा घतलाग्दा हुन्थे ।
तीनतले भिरलाई म घरिघरि किन पनि सम्झिरहन्छु भने मैले पुगनपुग चार दशकको जीवनयात्रामा गगनचुम्बी पहरा र हिमालहरू नजिकबाट देखेको छु । तैपनि बाल्यकालमा हिँडेको, उफ्रिएको, चढेको र आफ्नो दैनिक जीवनसँग अन्योन्याश्रित सम्बन्ध बोकेको तीनतले भिर म दुनियाँमा कहिँ पनि भेट्दिनँ । टाउकै फुटाए पनि पाउदिनँ । अरू भिर पहराहरू पखेटा पलाएपछि देखेका भेटेका हुन । अझ भनौँ तन्नेरी भएपछि आँखामा ठोक्किएका र ठोक्काइएका हुन् । गडी गाउँका खगेन्द्र खत्री भन्थे- मलाई श्रीकर्नेको भिरको दुलोमा बसेर तास खेल्दा औधी मजा आउँछ । किनकि उनको बाल्यकाल नै त्यसकै वरिपरि बितेको थियो ।
गाउँका बाटाघरे बा, खरदार बा र जन्तरे बाहरू पनि वस्तुबाख्रा चराउन तीनतले भिरसम्म आउँथे । अझ उनीहरू वस्तुबाख्रा चराउँदै बार बार्ने चोया र घर बुन्ने बाता काड्थे । रामकुमार श्रेष्ठ, प्रधाननी बढेमा र बाटाघरे माइली पनि घाँस सोत्तर गर्न त्यहीँ पुग्थे । अन्तरे हजुरबा र केशव काकालाई पनि आक्कल झुक्कल देखेको छु मैले त्यतातिर घाँससोत्तर गरेको । डेडराज दाइ त्यता पसे भने घाँसका भारीभरि चिउरीका दाना बोकेर घरतिर लाग्थे । अझ पनि उही सुरतालमा गजधुम्म भएर ठडिएको होला तीनतले भिर । फेरि पनि त्यहाँ पुग्ने र तीनतले भिरलाई अँगालोमा बेस्सरी बेरेर आनन्दमा निमग्न हुने मनको इच्छा उचाइमा छ । म अझै पनि टोकियो टावर र अनगिन्ती गगनचुम्बी भवनभन्दा पहिला तीनतले भिरलाई गहिरो गरी सम्झिरहन्छु, मनका कुनामा सजाइरहन्छु ।
मेरा निम्ति आइफिल टावर भने पनि, तियान्जी माउन्टेन भने पनि, स्काइ ट्रि भने पनि तीनतले भिर हो । म यसलाई मृत्यपर्यन्त हृदयमा सजाउन चाहन्छु । एकपटक खोकको पानीले प्यास भेटाउन चाहन्छु । भोगटिनीका घगौरुलाई नास्ता बनाउन चाहन्छु । पहराका चिउरीहरू कोदाको भुसमा पकाएर पहेंला भएपछि खान चाहन्छु । दारेगौँडाको वन पिपलको पात बजाएर तल मझे वा लाक्पाकेसम्म सुनाउन चाहन्छु । ढाडेका खेतका गराहरूमा प्वाल पार्ने ससाना बिराली र गँगटाहरू फेरि पनि आफ्नै आँखाले हेर्न चाहन्छु । बाघेको मूल मास्तिरको पहरामा मैले बाल्यकालमा देखेका गिद्धका सन्तानहरू आकाशमा उडेको दृश्य आँखाका नानीमा सजाउन चाहन्छु ।
लेखकको सम्वन्धमा