आँसुका धारासँगै अस्ताएकी कान्छी भाउजू

२०५२ सालदेखि मैले नजिकबाट चिनेको हो म्याङ्लुङ बजार तेह्रथुमकी कान्छी भाउजू अर्थात् बुद्धलक्ष्मी श्रेष्ठलाई । मझौला कद, उज्यालो अनुहार, गहुँगोरो वर्ण, विनम्र बोली र परिष्कृत व्यवहार कान्छी भाउजूको विशेषता थियो । कान्छी भाउजूको विवाहका दिन मूलघर पिप्लेमा काँडेदार सेलरोटी, ढिकीमा कुटेको पोखरेली धानको चिउरा, सख्खरको डल्लो र एक गिलास दूध चिया खाएको गाढा गरी सम्झन्छु । कान्छी भाउजूका श्रीमान् रामकुमार श्रेष्ठ र ससुरा शेरबहादुर श्रेष्ठ मेरा हजुरबाका पालादेखिका छिमेकी हुन । रामकुमारका दाजु डेडराज श्रेष्ठसँग त म सानैदेखि निकै घुलमिल थिएँ । श्रेष्ठ परिवार र हाम्रो पानी खाने धारा होस् वा घाँस काट्ने पाखापखेरा, दाउरा काट्ने पात्लेचहुर वन सबै एउटै थिए ।
एउटै मूलको पानी खाएर हुर्किएका छिमेकी छिमेकी बिचको पुरानो सम्बन्धमा रामकुमार दाइकी जीवनसाथी बनेर भित्रिएकी थिइन् कान्छी भाउजू । धनकुटामा जन्मिएर त्यतै हुर्किएकी कान्छी भाउजू बुहारी बनेर भित्रिएकी थिइन् पिप्लेको श्रेष्ठ निवासमा । पिप्लेको मूलघरमा भाउजू बसेको उति सम्झना मसँग छैन । मलाई राम्ररी सम्झना छ तेह्रथुम बजारको वन कार्यालयतल्तिर मूल सडकको तल्लोपट्टिको आफ्नै तीनतले घरमा भाउजूले होटल चलाएको । म त्यहीं होटल चलाएदेखि भाउजूको आनीबानी र बोलीवचनबाट गहिरो गरी प्रभावित भएँ । भाउजूका हातले बनाएको खाजा मैले कक्षा ८ देखि १२ पढ्दासम्म खाएँ । पुगनपुग पाँच वर्ष मेरा निम्ति जीवनकै महत्त्वपूर्ण समय थियो । त्यो समयमा मैले चना र चिउरा, मटर र चिउरा, पाइनापल बिस्कुट र चिया अत्यधिक खाएँ पिएँ । थुक्पा र चाउमिन प्रत्येक शुक्रबार मात्र बन्थ्यो । त्यो मैले प्रायः कुनै हप्ता पनि छुटाइनँ ।
२०८०, माघ-१ गते साँझ ५ बजे तिनै कान्छी भाउजूले अल्पायूमा संसार छोडेको खबर भोलिपल्ट अर्थात् माघ-२ गते बिहान झिसमिसेमा सुनें । अकल्पनीय घटनाले म स्तब्ध भएँ । दुवै आँखाबाट आँसुका बलिन्द्र धारा बगे । कति छोटो जीवन रहेछ भाउजूको । शरीर नै नरहेपछि संसार अर्थहीन छ । नाता र सम्बन्ध भ्रम लाग्ने रहेछन् । भावना भन्ने कुरा कालान्तरमा मनको एउटा कुनामा थन्किँदो रहेछ । राम्रा मानिसहरू भगवान्लाई पनि चाँडै चाहिने रहेछ ।
कान्छी भाउजूसँगका सम्झनाहरू मसँग अनगिन्ती छन् । आठ कक्षा पढ्दा म १२ वर्षको थिएँ । १२ वर्षको सानो केटो पाटीगाउँ छेउको भन्ज्याङबाट, टुक्रे बजार, ढलेको बर, सुवेदीको बारी, कालो वन, कोप्चेको भीर, ढुङ्गा अड्काउने हुँदै वन कार्यालय पुग्दा लगभग तीन किलोमिटर बाटो छिचोल्नु पर्दथ्यो । वन कार्यालयबाट सिंहबाहिनी मावि पुग्न लगभग एक किलोमिटर पर्छ । यसो गर्दा घरबाट विद्यालय पुग्न ४ किलोमिटर पैदल हिँड्नु पर्ने, फर्किन पनि त्यति नै दूरी पार गर्नुपर्यो । यसो गर्दा दैनिक ८ किलोमिटर हिँडेर विद्यालय पढ्नु सामान्य कुरा थिएन । त्यसमा पनि ढलेको वरछेउ बाटाभरि भेटिने चिहानघारी, गडीको पाटे बाघ लाग्ने घनघोर जङ्गल र बजार पुग्नै लाग्दा भेटिने असङ्ख्य चिहानघारी छिचोल्नु आफैंमा चुनौती थियो । हिउँदमा धुलो र वर्खामा हिलो बाटाको विशेषता थियो । यो सारा चुनौतीसँग एक्लै जुधेको देख्दा कान्छी भाउजू छक्क पर्नुहुन्थ्यो ।
एकदिन भाउजूले भनेको म गाढा गरी सम्झिन्छु – उद्धव तिमी घरदेखि १५ मिनेटमा पुगिने कालिका मावि जिरिखिम्तीमा किन नपढेको ? मैले भनेको थिएँ – भाउजू त्यहाँको पढाइ सन्तोषजनक छैन । टिफिनपछि विद्यार्थीहरू आफूखुसी भाग्छन् । भागेकाहरू माथि बजार गएर कि त काफ्लेको पसलमा, कि त खनाल गुरुको पसलमा, कि त ढकाल कान्छाको पसलमा क्यारामबोर्ड खेल्छन् । कि त बाटातिरै अल्मलिएर बेलुका मात्र घर पुग्छन् । शिक्षकहरू कुशल हुँदाहुँदै पनि प्रशासन कमजोर छ । त्यहाँ पढे मलाई एसएलसी पास गर्न हम्मेहम्मे पर्छ । कान्छी भाउजू मेरो कुरा सुनेर त्यो दिनदेखि सिंहबाहिनी मावि पढ्नुको कारण बारे प्रष्ट भइन् ।
तीन वर्षको अन्तरालमा मसँग टुक्रे बजारका मानबहादुर खजुम र देउमान राई, पिप्लेका हरिबहादुर नेपाली, जीवन श्रेष्ठ र खगेन्द्र खत्री बाटाका साथी थिए । तर तिनीहरू नियमित भएनन् । मानबहादुर सारै ढिला घरबाट निस्कन्थे र बाटामा बैकुण्ठ मानन्धरजस्तो दौडिन्थे । देउमानका बुबा तेह्रथुम काराघारमा हवल्दार थिए कहिले उनी उतै बस्थे । हरिबहादुर र जीवनको पढाइ नियमित भएन । खगेन्द्रले पनि बिचमै पढाइ छोडे । यति लामो बाटामा भरपर्दो साथी नहुनु मेरा निम्ति दुर्भाग्य थियो । कान्छी भाउजू मेरो यो दुर्भाग्यप्रति नजिकबाट परिचित थिइन् । मैले हिम्मत गरेरै सिंहबाहिनी मावि पढ्ने निर्णय गरेको थिएँ । त्यसैले मेरा निम्ति नियमित आइजाई गर्ने साथीको विषय विस्तारै गौण बन्दै गयो ।
विद्यालय छुट्टी भएपछि म कान्छी भाउजूको होटलमा एकैछिन बस्थेँ र जङ्गलको बाटो पार गर्न कोही बजारबाट फर्किएकाहरू भेटिन्छन् कि भनेर भाउजूलाई सोध्ने गर्थें । पुस माघका बेला साढे ४ बज्दा झमक्क साँझ पर्दथ्यो । कान्छी भाउजूले मलाई सूचना दिन्थिन् । सुर्केका पशुपति भट्टराई, हुलाकी भट्टराई, हुलाकी बुढाथोकी, पिप्लेका पदम श्रेष्ठ आदि अफिसबाट फर्किएको नफर्किएको सूचना म कान्छी भाउजूबाट लिन्थेँ । तिनीहरूका पछाडि लुखुरलुखुर हिँड्न पाए मेरो डर कता हराउँथ्यो कुन्नि । नभेटिएका दिन मनमुटु दह्रो बनाएर फर्किनुको बिकल्प थिएन । कहिलेकाहीँ ट्रक वा ट्याक्सी चढेर फर्किन पाउँदा रामराज्य जितेको अनुभूति हुन्थ्यो ।
कान्छी भाउजूको देहान्तले मन कुँडिएको थियो । चार महिना अघि जापान आएकी भाउजूकी कान्छी छोरी एलिसा श्रेष्ठलाई फेसबुकबाट खोजेर केही हप्ताअघि सम्पर्क गरेको थिएँ । मैले २०५७ सालमा म्याङ्लुङ क्याम्पस तेह्रथुमबाट १२ कक्षा पास गरेपछि २०७१ सम्म लगभग वर्षमा एक पटक पुगेँ । मैले तेह्रथुमको पढाइ सक्दा भाउजूका छोराछोरीहरू सानै थिए । एलिसा त २०५७ सालमा जन्मिएकी रहिछिन् । भाउजूको निधनलगत्तै घरतिरका सबैले एलिसाको पीरचिन्ता धेरै गरेछन् । हजुरबाका समयदेखि नै तल्लोघर माथिल्लो घर छिमेकी भएर बसेका कारण आपतविपतमा उनकी साथी निर्मला खड्का र एमराज भाइले मलाई सम्झिएको बुझ्न गाह्रो थिएन । एलिसालाई म भतिजी भन्छु । उनका बुबा रामकुमार श्रेष्ठलाई म सानैदेखि दाजु भन्थे । पुरानो छिमेकी हुनुका नाताले मैले सकेको सहयोग गर्ने कुरामा आनाकानी गरिनँ ।
म आफैँ एलिसालाई भेट्न जान्छु, यताको पीर नगर्नु- मैले माल्दाजु डेडराज श्रेष्ठलाई तुरुन्तै फोन गरेर भनें । डेडराज एलिसाका ठुलोबुबा हुन् । पिप्लेमा हामी एउटै धाराको पानी खाएर हुर्केका, एउटै जङ्गलको घाँस दाउरा गरेका, एकआपसमा अर्मपर्म गरेका, सँगसँगै बस्तुबाख्रा चराएका आदि पुरानो भावनात्मक सम्बन्धले हामी एकआपसमा जोडिएका थियौँ । डेडराज दाइ हाम्रा गाउँका बाहुबली हुन् । यसमा कसैको विमति छैन । उनै डेडराजका कान्छा भाइ रामकुमारको घरमा यति ठुलो बज्रपात पर्दा मैले खबर सुनेर मात्र बस्नु उचित हुँदैन थियो ।
चिरपरिचित भाइ धनबहादुर थापालाई लिएर म ताचिकावाबाट एलिसा भतिजीको डेरा गएँ । रेलले ३५ मिनेटजति लगायो । म पुग्नुअघि नै कसैले सुनाइदिएछ आमा खसेको खबर । भक्कानिरहेकी एलिसा मलाई देखेर डाको छोडेर रोइन् । आमा संसारकै सर्वप्रिय व्यक्ति, जसको दशधारा दुध पिएर हामी संसार चाहार्ने हुन्छौँ । दुःखका बेला सम्झिने नै आमालाई हो । आमाजति निःस्वार्थ व्यक्ति संसारमा कोही पनि हुँदैन । यति सर्वप्रिय व्यक्ति गुमाउँदा एलिसाको हृदय कति घुजाघुजा भएको छ मैले राम्ररी अनुभूति गरेको थिएँ । परिस्थितिले मानिसलाई कति धेरै ठक्कर दिन्छ । तैपनि हामी लडेपछि उठेर हिँड्न सक्नुपर्छ । मानव जीवन भनेकै चुनौतीको थुप्रो हो ।
एलिसा भतिजीलाई मैले शब्दमार्फत सम्झाउने कोसिस गरेँ । परिस्थितिको गाम्भीर्यतालाई सकेसम्म बुझाउने प्रयत्न गरेँ । हुन त मेरो सम्झाइ पानी भरिएको ट्याङ्कीलाई बाहिरबाट टालेजस्तै थियो । उनको हृदयबाट उर्लिएर आएको मातृवियोगको बाढीलाई मेरा सहानुभूतिका शब्दले कसरी रोक्छन् र ! उनका मनका किनारामा मभन्दा अग्ला उठेका ज्वारभाटाहरूलाई मैले कसरी रोक्न सक्छु र ! हृदयको सागरभित्रै सबैभन्दा बढी म्याग्निच्युडको भूकम्प गएपछि त्यसले दसौं मिटर अग्ला छालहरू उठाउँछ । ती छालहरू आँसु र रोदनसँगै बाहिर निस्किन्छन् र समयसँगै कमजोर हुँदै जान्छन् । म पनि सात वर्षअघि मातृवियोगको भुंङ्ग्रामा परेर निस्किएको मान्छे हुँ ।
एलिसाका दुईजना साथी थिएँ त्यहाँ । दार्चुलाकी गरिमा लोथ्याल र धादिङकी दीपा सुनुवार । दुवैजनाले एलिसालाई सम्झाए । तीमध्ये दीपाका शब्दहरू निकै व्यावहारिक लागे । सँगै नेपालबाट आएका र एउटै कक्षाका साथीहरू पनि थिए । दोलखा एकजना भाइ थिए । तिनीहरू थिए उनका सहारा । युवा उमेरका तिनीहरूमध्ये कतिपय यो अचानक आइलागेको परिस्थितिले अक्कनबक्क थिए । यसपछि के गर्ने भन्ने अनिर्णयको बन्दी थिए अधिकांशहरू । तैपनि सहयोगका निम्ति एलिसाका अघि खडा थिए ती सबैजना । साथीत्वको परिभाषा मैले आफ्नै आँखाले देखें त्यहाँ ।
रामकुमार दाइले मलाई फोनमा कुरा हुँदा भनेका थिए- तेह्रथुम अस्पतालदेखि विराटनगर, काठमाडौं र इटहरीसम्म उपचार गरियो । वैशाखमा शनिबारको दिन पूजा गर्न लाग्दा घण्टी समाएको देब्रे हात अचानक चलेन । त्यसपछि तेह्रथुम अस्पताल लगियो । त्यहाँका डाक्टरले यो नसाको समस्या भएकाले विराटनगर लाने सल्लाह दिए । त्यसबिचमा दुवै हात खुट्टा चल्न छाडे । विराटनगरले बाँसबारी न्युरो अस्पताल काठमाडौँ पठायो । आंशिक सुधार पनि भयो । पुनः शरीरका अधिकांश भागहरू चलेनन् । इटहरी ल्याइयो, त्यहाँ पनि सन्तोषजनक प्रगति भएन । त्यसपछि धनकुटा माइत लगेर राखियो । त्यहाँ नै जीवनको बत्ती निभ्यो । दाइका कुरा सुनेर मेरा आँसु अडिएनन् ।
सन्तानको पढाइ पूरा गरेर विवाह गरिदिने हरेक बुबाआमाको इच्छा हुन्छ । विवाहपछि नातिनातिना हेर्ने रहर पलाउँछ । दुई छोरी र एकजना छोराकी आमा भएर पनि कान्छी भाउजूलाई समयले त्यो दिनसम्म रोकेर राखेन । बिच बाटोबाटै जीवनको गन्तव्य बदल्नेसँग हाम्रो केही चलेन । भाउजूको देहान्त हुनुभन्दा लगभग तीन हप्ताअघि भिडियो कल गरेर कुरा गरेको थिएँ । धनकुटा माइतीमा राखिएको थियो उनलाई । जेठी भतिजी थिइन् छेउमा । भाउजूको शरीर घाँटीभन्दा तल चल्दैनथ्यो । हलुका मधुरो स्वरमा कुरा भयो । मैले नास्ता बनाएर खुवाएको, पढाइ सानैदेखि राम्रो थियो उद्धवको, एलिसा पनि त्यतै आएकी छे, एलिसालाई नजानेको कुरा सिकाइदिनु- भाउजूका मुखबाट मेरा कानले सुनेका वाक्य हुन् यी । यी वाक्य नै मेरा कानले प्रत्यक्ष सुनेका भाउजूका अन्तिम वाक्य भए । ईश्वरको रहस्यमय लीला मानिसले टुलुटुलु हेर्नुको विकल्प नहुँदो रहेछ । स्वर्गीय मेरी आमासँग भाउजूको स्वर्गलोकमा भेट हुनुपर्ने हो । धर्तीमा एकआपसमा चिनेजानेका हुनाले स्वर्गमा भेट कसो नहोला ।
लेखकको सम्वन्धमा