January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

गरिन्छ मतदान किन ?

नेपालीहरूको पवित्र मन छ उच्चा छ शिरै पनि
विश्वमा चिनिने मानवमा गनिने हुन् गोर्खाली भनी
हाम्रा मान्य ठुला जनताले चुनेका के भाका हुन् दिनदिन
जानेको छ सधैँ गरेका कामकुरा गरिन्छ मतदान किन ?

युवा बाध्य भए विदेश जानलाई न उद्योगधन्दा नयाँ
प्राकृतिक रूपमा यो सुन्दर नेपाल खै देशको इज्जत यहाँ
आफ्नो स्वार्थ सबै आफन्त बनिए घर साहु फाइदा लिन
जानेकै छ सधैँ गरेका कामकुरा गरिन्छ मतदान किन?

पाँचै वर्षपछि आउँदछ चुनाव दोहोरिन्छ उही कुरा
सोझा छन् जनता जान्छन् भोट दिनलाई राखेर आशा पूरा
बिर्सिन्छन् तिनले बोलेको सबथोक कुर्सी छोएकै दिन
जानेकै छ सधैँ गरेको कामकुरा गरिन्छ मतदान किन ?

दक्षिणतिरबाट ल्याएको महिष यमको वहान अरे
थाहै छैन यहाँ के फाइदा भयो ती भैँसीले के गरे ?
खाना नानाखातिर विदेश नै युवा पुग्यौ नि प्राणै लिन
जानेको छ सधैँ गरेका कामकुरा गरिन्छ मतदान किन ?

जाग हे अब यहाँ नयाँ प्रतिनिधि रक्षा धराको गर
सहिदको सपना पूरा पनि गर नरोउन् आमा तर
जनताको मतलाई इज्जत गर नखोज फाइदा लिन
जानेको छ सधैँ गरेका कामकुरा गरिन्छ मतदान किन ?