मङ्सिर

धानको बाला सुनकै सरी खेतमा झुल्थ्याे नि
त्याे सयपत्री छँदामा छँदै लालपाते फुल्थ्याे नि
अर्म र पर्म धान काट्थ्यौं हामी आलीमा निउन लाई
भगवान्‌ले पनि उत्तम मान्ने याे मार्ग महिनालाई ।

दुईचार दिन सुकाई निहिन फेर बिटा लगाई
तेही खेतमा गाेरु जुधाउँथे काेही गाईबस्तु चराई
खलामा लगी लगाउँथे कुन्यु फेरा नै मिलाई
टुप्पामा पुर्याई फूल लगाइदिन्थे ढाेग्दथे देवीलाई ।

लिपेर खलाे चिटिक्क पारी मिहे नै गाडेर
दाइँ गर्न सुरु गर्दथे लाठे झाँट्थे धान झारेर
निकाल्थे काेही त्याे मुठे पराल काेही गाेरु घुमाउँथे
‘हाे बरदाे हाे हाे’ भन्दै गाउँदै सारै नि रमाउँथे ।

सम्झना आउँछ न हिँड्ने गाेरुलाई लट्ठीले ठेलेकाे
परालमा उफ्री लुका र मारी घुगुत्ती खेलेको
रात र भरि गरेर दाइँ बिहान रास नै ठड्याउँथे
धानकाे चुली पारेर किन हाे ! हसिया नै अड्याउँथे ।

धुप लाउँथे फेरि अगुल्टो ल्याई देउदेउता पुकारी
अड्कलबाजी गर्दथे अनि धानको रास थुपारी
खले जाँताे खान्थ्यौँ हामी साग, दाल, भात, घिउ हाली
केटाकेटी रामउथ्यौँ हामी बस्ने ठाउँ तेही आली ।

मिहेमा दाँदे बाँदेर चड्थे धान धार लाई बताउँथे
धान हुन्थ्यो फेदमा रास लाग्दै जान्थ्याे भुस डाँडा कटाउँथे
धान भर्दा पहिले त्याे भुमेपाथी छुट्याउँथे चेलीलाई
दुई पाथी धान याे तिम्राे भाग हाे भन्दथे बाेलाई ।

काहाँ गयाे यस्तो जमना अहिले सम्झना मात्रै छ
गाउँका घर खेती र पाती सब अलपत्रै छ
पुराना कुरा चिजबिजकाे नाम थाह छैन कत्तिलाई
मनमा झल्झल समझना आउला थाहा हुने जत्तिलाई ।