नेतापालको नेतापालक हुँ म

२०८०/७/१५ जिते गडा नामको मात्रै छ अहिले । पोहोर सालको वर्षाका कारण कर्नाली र तिला नदीले बगर बनाइसके । माथि भिरमा रोडमै छ रोडपार्क । बसपार्क भनौँ भने त्यस्तो छैन । केही पसल छन् । त्यससँगै टिनका पाताले बनाएको टिकट काउन्टर । निमाविको लाइसेन्सको परीक्षा दिने र दसैँ सकेर सुर्खेत झर्ने यात्रुहरूले हाइस निकै खचाखच छ ।

म पछाडिको ए साइडको झ्यालको सिटमा बसेको थिएँ, सानो छोरालाई समातेर । जेठोलाई रास्कोटको प्रकाश भाइको जिम्मा दिएँ सुर्खेतसम्म समात्नलाई । मलाई केही राहत भएको आभास भयो । हाइस अघि बढ्यो जितेलाई छोडेर । एस मोडमा आएर हाइस जाममा पर्‍यो । कारण राराछायानाथ नगरपालिकाले नगरबस सञ्चालनका लागि ल्याएको रहेछ । त्यही बसले मोडमा मोडिँदा जाम परेको रहेछ । मभन्दा अगाडिका केटाहरू त्यो बस देखेर दङ्ग भए । ‘लौ मुगुमा नगरबस चल्ने भएछ, अर्को पटक रारा जादाँ चढ्न पाइने’ भयो मैले मनन गरेँ । जगत्राथ गाउँपालिकालाई सम्झेँ । हाम्राहरूको कहिले दिमाग आउला र हामीले पालिका सब चढ्न पाउँला । उसो त अहिलेसम्म एम्बुलेन्स हालेको छैन, के कल्पना गर्नु पालिका बसको, त्यो पनि बाजुराको जगत्राथ गाउँपालिकामा ।

कर्नाली राजमार्गको पिच गएको रोडमा हाइस हल्लिनु हामी यात्री पछारिनु र थचारिनु सामान्य कुरा हो । टाउको कुच्चिसक्यो ठोकिएर । कठै ! कहिले ढुक्कले यात्रा गर्न पाइएला ? कर्नाली राजमार्गमा ।

“ड्याडी उल्टी आयो ।”

बाबुको मुखमा खच्चडलाई दाना खुवाउन झोला लगाए जस्तै गरी कालो प्लास्टिकको थैलो लगाएँ । बाबुले ह्वाल्ल गर्‍यो बिहान खाएको भात । मेरो सिटअगाडिका केटाहरूको एक समूह थियो । तिनीहरूको ‘आइसो’, ‘गैसो’को बोलीभाषाले ठकुरीका सन्तान हुन् भत्रेमा दुइमत थिएन । केटाहरू रमाइला रहेछन् । गीत बज्यो सबैले गाए । खचाखच खलासी (सहचालक) भाइले यात्रु कोच्दै गयो । खिड्की जिउलामा अठार उत्राइस कि राम्री चसमिस चढिन् । ती चढ्दा केटाहरू उत्ताउलिए । विचरा तिनको अनुहार कसैले देख्न पाएनन् । किनकि मुखमा कालो मास्क थियो ।

कतै कतै पिचको टाटे रोड, कतै कतै हिलो र धेरै कच्ची रोड । धुलो आफ्नै ताल र सुरमा छैन, जता हावा तान्छ उतै उडेर रोडको छेउछाउ पूरै धुलाम्मे छ । होटल र पसलका धुरी धुलाले छाएको जस्तो, रुखमा धुलै फुलै जस्तो, धुलै फले जस्तो, घाँस पनि धुलै उम्रिए जस्तो । गुडिरहेका सबै सवारीहरू धुलोले नै रङ्गाए जस्तो । फाट्टफुट्ट कुदिरहेका बाइकमा चढेकाहरू पनि बुख्याचा जस्तै देखिन्छन्, धुलाम्य भएर ।

“यस मार्गको नाम कर्नाली राजमार्ग होइन, मान्छे मार्ने मार्ग भन्छन् अरू ठाउँका मान्छेहरू” एक जना बोल्यो । अरूले ‘हो’ मा ‘हो’ थपे ।

“अब नेताहरूलाई आफैँ बन्न र आफ्नाहरू बनाउनै ठिक्क छ, कसले हेर्छ यो रोड ? ठेकेदारले रोड मर्मत गर्ने ठेका पाइहाले पनि काम गरे जस्तो गर्छन्, बिल मिलाउँछन्, स्यामट्याम होइजान्छ । अनि त बाटाको हालत यी यस्तै हो” चस्मा लगाएको अर्को युवक बोल्यो ।

“अब हाम्रो देश नेपाल रहेन ‘नेतापाल’ भयो ।” एउटाले भन्यो । ‘हो हो’ भन्दै सबै गललल बुको हाँसो हाँसे ।

ती केटाहरूका कुरा सुन्दै थिएँ, आँखा बन्द गरेर, मनमा अनेक कुरा खेलाएर । “नेतापाल” शब्दले मेरा आँखा खुले । सायद यो शब्द मुटुमा भन्दा पहिला मेरा आँखामा बिज्यो र मुटुमा घत लाग्यो । हाइस दैलेखको पाल्तडा बजारमा होटलको अगाडि रोकियो खाना खुवाउन ।

खाना खाएर सबै हाइसमा चढ्यौँ । हाइस अघि बढ्यो । गीत बज्यो । भरिएको पेटमा केटाहरू गीतसँगै गुनगुनाउन थाले । बढी उपद्रो नगर, यात्रामा ज्यादा गर्नुहुँदैन । चालिस पुग्न आँटेकी दिदी बोल्नुभयो । वहाँलाई धेरै होहल्ला गरेको मन नपर्नेरहेछ भत्रे लख काटेँ मैले । हाइस पाल्तडा बजारबाट त्यस्तै पाँच छ मिटर गुडेपछि अगाडिको हाइसले गर्दा धुलो उडेर रोडै देखिएन । गुरुले गति कम गरे । “आहा ! नेपाली पाउडर ! झ्यालढोका बन्द गर्नुहोस् है सबैले” मेरो नगिचका युवक बोले । झ्याल त बन्द गरियो तर, खलासी भाइले ढोका बन्द गरेनन् । कारण ढोकामा दुई जना यात्रु पनि उभिएका थिए । एक जना पाल ओच्छ्याएर बसेका थिए । हाइस भित्र धुलो भरियो । यती बेलासम्म मैले मनमा ‘नेतापालको नेतापालक हुँ म’ (नेपालको नागरिक हुँ म) भत्रे शीर्षक बनाएँ । तर, कविता, कथा या लघु कथा केको शीर्षक बनाएर लेखूँ भनेर अलमलमा परेँ । हाइसमै दिमागले नियात्रा लेख्ने सुर गर्‍यो । मनले पनि भन्यो शीर्षक गजब पाइहालिस् लेख् केटा । 

सोचेँ नेपाल अब पाचौँ युगमा प्रवेश भयो र यसको नाम नेतापाल रह्यो । सत्ययुगमा सत्यवती, द्वापरयुगमा मुक्तिसोपान, त्रेतायुगमा तपोवन र कलियुगमा नेपाल छ । अब पाचौँ युग छलीयुगमा प्रवेश भयो । जुन युग अहिले एकले अर्कालाई ढाँटेर, छलेर आफैँ अरूभन्दा हावी हुन चाहन्छ, मै लाऊँ मै खाऊँ अरू मरे मरुन् भन्ने चाहन्छ । अहिलेको परिप्रेक्ष्यमा जताततै नेता नै नेता भेटिन्छन्, सहकारीका सेयर सदस्य जस्तै । पढे लेखेका विदेश छन्, गएगुज्रेका थोत्रामोत्रा नेता कहलिएका छन् गाउँदेखि सहरसम्म । उहिले एक राजा थिए, अहिले टोलैपिच्छे छोटे राजादेखि ठुला राजाहरू छन् । तर, यिनलाई राजा भनेको पटक्कै सुहाउँदैन । नेता भने खुसी हुन्छन् । अहिले त यहाँ कोरोनाभन्दा भाइल बनेको छ नेता भत्रे शब्द । हरेक क्षेत्रबाट उठाएको कर, विदेशको रेमिटेन्स, दातृनिकायले दिएको सहयोग हरेक जनताको पसिनाबाट उठेको कर सबै नेता पाल्न ठिक्क छ । त्यसैले देशको नाम नेतापाल र हामी नेतापालक  !

बड्डीचौरमा इन्ट्री गरेर हाइस ओरालो झर्‍यो । सुर्खेततिर आँखा कुदे मेरा । सुन्दर हरियालीको काखमा रेडियो नेपालको क्षेत्र देखियो । मोबाइलमा हेरेँ तीन बजेको थियो । अब एक घण्टामा हामी भ्यालीमा पुग्छौँ । मेरो मनमा कविता फुर्‍यो –

यो नेतापाललाई
टिक्न दिनुहुँदैन धेरै समय
हामी भइरहनु पर्दैन नेतापालक
देशको नाम नेपाल नै रहोस्
हामी जनता, जनार्दन, प्रजा नै कहलाउन्
र यो छलीयुग पनि शिशुमा निमोठिनुपर्छ
नत्र देश देश रहन्न
जनताले अझै दुःख भोक्नुपर्छ
यो युग भनेको
एकले अर्कालाई सहयोग गरेर
हातेमालो गरेर अघि बढ्ने युग हो
कसैले कसैलाई विभेद गरेर
थिचोमिचोमा पारेर
निर्धालाई भर्‍याङ बनाएर
बलियाले माथि उक्लिने
टाकुरे बनेर हर्षोल्लास मनाउने होइन
आओ हामी सबै मिलेर
यो देशलाई उही पुरानै
बुद्घको देश,
सगरमाथाको देश,
गोर्खालीको देश
समग्रमा
नेपाल नामले चिनाउनतिर लागौँ ।
जय नेपाल !

बाङ्गेसिमलको चकपोष्टमा हाइस इन्ट्री गरेर अघि बढ्यो यात्रुलाई झार्दै ।
हाइसमा भएका यात्रुलाई शुभयात्रा भनेर म एरीचोकमा झरेँ । हाइस अघि बढ्यो बसपार्कतिर ।