पीडा
मेरो स्कुलको एक युवक कृषि स्नातक उत्तीर्ण भयो
‘लर्न एन्ड अर्न’ कहलिएको कार्यक्रमअन्तर्गत सात समुद्रपारि गयो
इजराइल पुगेको एक महिना नबित्दै
हमासको आक्रमणमा परी असामयिक निधन भयो
ऊ एक रात चन्द्रग्रहणका बेला तर्सिएको थियो
आत्तिएको थियो
राति उदाउने आकासे दश तारामाझ ऊ बिहानै बिलायो
नेपाली कृषि विद्यार्थीहरूको कालो दिन ठहरियो
जेरुसेलम बास गर्ने जुडेइस्म् यहविन, क्रिस्चियनका क्राइस्ट
इस्लामिक अल्लाहसमेत स्तव्ध भाई हेरिरहे
अतीत सम्झन्छु, मेरो स्कुलकै एक बालकको मगज
आर्मीको गोलीले छियाछिया पारेको दिन थियो
‘०७२ को असोज ३, कतै दिवाली कतै कालो दिन थियो
बन्दुकको आवाजले मेरो कान बर्सौँ गुन्जिरहन्थ्यो
नजिकैको जानकी मन्दिरकी देवी स्तव्ध थिइन्
म त्यस बालकको घर गएको थिएँ आमाको घुम्टोसँगै
आँसुको लर्को तल तल सरेको देखेको थिएँ
मौनताको क्रन्दन मैले त्यो दिन सुनेको थिएँ
शून्यातासँगै साइकलमा आफ्नो घर फर्केको थिएँ
समयचक्रले फेरि एउटा मृत छोराको खबर बोकी
उसकी आमाका सामु उभिन मलाई विवश बनाएको छ
म अचेल बन्दुक समाउने विद्रोही
युद्धमा होमिएका आर्मी
राष्ट्रवादमा अन्धो मानवता हराएको नागरिक
र, हाम्रा कमरेड, नेता कहलिनेहरूबिच
फरक छुट्याउन असमर्थ छु ।
लेखकको सम्वन्धमा