आँसुको सागर
विराटचोकको घरको दक्षिणपूर्वको कोठाको भुईँमा पिताम्बरले छोपेर राखेको आमाको प्राणविहीन शरीर वरिपरि बसेर हामीले जसोतसो त्यो रात बितायौं । बुबा घरी घरी आफ्नो कोठामा जाने आउने गर्दै हुनुहुन्थ्यो । बाउन्न बर्से दाम्पत्य जीवनको विघटनले बुबाको मन छियाछिया थियो । आमाको आग्रहमा बनाएको त्यो घर आमाले नै संसार छोडेपछि ओढार जस्तै लाग्यो । आमाले पहाडबाट यो घरमा सारेपछि “मेरा दुःखका दिन गए” भन्नुभएको थियो । आमाको सुखको स्रोत त्यो घर आमाको प्राणवीहिन शरीरजस्तै निरर्थक लाग्यो । नौ महिना पेटमा राखेर जन्माउने, दशधारा दुध खुवाएर भोक प्यास मेटाउने र बिनाचोटपटक छोराछोरी हुर्काउने मेरी आमा अब टाउकै फुटाए पनि कहिल्यै नफर्किने गरी दिव्ययात्रामा निस्किसक्नुभएको थियो ।
आफ्नै घरभित्र एकोहोरो शङ्ख बज्ला भनेर मैले कहिल्यै पनि सोचेको थिइनँ । त्यसको आवाज कति निर्दयी, अत्यास लाग्दो र मुटु फुट्ने निस्किदो रहेछ । अरूका घरमा, बाटोमा र आर्यघाटमा बजेको शङ्खको एकोहोरो आवाज र आफ्नै घरभित्र बजेको शङ्खको एकोहोरो आवाजमा आकाश र पातालको फरक हुँदोरहेछ । बुबाले हरेकबिहान पूजाकोठामा दोहोरो बजाउने शङ्ख आज एकोहोरो बजेर मेरी आमाले संसार छोड्नुभएको खबर दिइरहेको थियो । साथै हामी पाँच सन्तानलाई एकैपटक टुहुरो बनाएको उद्घोष गरिरहेको थियो । कति निर्दयी, अत्यासलाग्दो र उजाड हुँदो रहेछ आफ्नै घरकम्पाउन्डभित्र बज्ने शङ्खको एकोहोरो आवाज । शङ्खको एकोहोरो आवाजले छियाछिया भएको मनमुटु बोकेर दुवै आँखाबाट बलिन्द्र अश्रुधारा बगाउँदै म विवश भएर उभिएको थिएँ । अम्बिका दिदी, बालिका दिदी, सावित्रा बहिनी र अर्जुन दाजुका आँखाले पनि आमाको वियोगमा आँसुका बलिन्द्र धारा बगाइरहे । यशोदा भाउजू र कविताका आँखा पनि आँसुका गंगामा डुबेका थिए । यशोदा भान्जी र सिर्जना भान्जी डाको छोडेर रोए । घर वरिपरि भेला भएका सयौँ मानिसहरू एकैपटक रोएको आवाजले मुटु फुट्लाजस्तो भयो । बुबा घरी बाहिर घरी भित्र गर्दै, घरी आमाका जाँदै गर्नुहुन्थ्यो । मैले ओभाना आँखा कसैका पनि देखिनँ ।
आसाममा आमाका माइतीदेखि झापा, मोरङ, सुनसरी, तेह्रथुम र काठमाडौँका सबै आफन्तहरूलाई मध्यरातसम्ममा खबर गरिसकेका थियौँ । बिहान झिसमिसेदेखि नै आफन्त र छरछिमकीहरूले घरकम्पाउन्ड भरिभराउ हुँदै गयो । मलामीहरूको उपस्थिति बाक्लिँदै गयो । आमाको दाहसंस्कार गर्ने स्थानका तीनवटा विकल्पहरू थिए । चतराको कोसी नदी, इटहरीको वृद्ध गंगा र बेलबारीको लोहन्द्रा खोला । मध्यराति मैले बुबालाई यस बारेमा सोधेको थिएँ । बुबाले २०१९ सालमा आफ्नी आमाको पनि लोहन्द्रामै दाहसंस्कार गरेकाले आमालाई पनि त्यहीँ लगे उत्तम हुने सल्लाह दिनुभएको थियो । अम्बिका दिदी, बालिका दिदी र अर्जुन दाजुको पनि लोहन्द्रामै दाहसंस्कार गर्ने सुझाव थियो । चौवन्न वर्षअघि मलेरियाले जीवन गुमाउनुभएकी हजुरआमाको दाहसंस्कार गरेकै लोहन्द्रामा आमाको अन्तिम संस्कार गर्ने पारिवारिक सल्लाह भयो । घरभित्रको यस्तो गम्भीर विषयमा ठिक समयभित्र परिवारिक सल्लाह र निर्णयको ठुलो भूमिका हुने रहेछ ।
आमाको शवयात्राका निम्ति तयारी तीव्र हुँदै गयो । हरियो बाँस ल्याउने, सेतो कपडा ल्याउने, दाउराहरू जम्मा गर्ने आदि काम छरछिमकी र आफन्तहरूले गर्नुभयो । केशव काका र काकीले आमालाई अस्पतालबाट घर ल्याएदेखि नै थुप्रै कामहरू मन, वचन र कर्मले सहयोग गर्नुभयो । बिहान शवयात्राको तयारीमा पनि उहाँहरूको भूमिका उल्लेख्य थियो । खेम काका, रामजी काका, कृष्ण दाइ र राजु भाइको खटाइ गहिरो थियो । छिमेकी कृष्ण फुयेलको सल्लाह र सहयोगले हामीलाई त्यसबेला गर्नुपर्ने कर्तव्य र हाम्रो संस्कारका प्रक्रियाहरूमा धेरै हदसम्म सहज बनायो ।
मैले कृष्ण दाइलाई मलामीलाई खाजाको पूर्ण व्यवस्था गर्ने जिम्मा दिएको थिएँ । मलामी कति हुन्छन् ? अनुमानित गणना गर्न र सोभन्दा बढी सङ्ख्यामा पुग्नेगरी खाजाको प्रबन्ध गर्नु भनेको थिएँ । एकजना मलामी पनि खाजा नखाई फर्किए भन्ने मैले सुन्नु नपरोस् – कृष्ण दाइलाई अनुरोध गरें । कृष्ण दाइ र म बाल्यकालीन साथी पनि, नातामा दाजुभाइका नाति नाति । त्योभन्दा धेरै कृष्ण दाइसँग सामाजिक घुलमिल र मान्छेसँग सहज कुराकानी गर्न सक्ने क्षमता थियो । व्यासमा पुराण भन्ने पण्डित भएकाले मानिससँग बोल्ने कला पनि परिपक्व थियो । निकैपटक आफैँसँग मन्थन गरेर अर्जुन दाजुको पनि सल्लाहमा कृष्ण दाइलाई खाजाको पूरै जिम्मेवारी दिइएको थियो ।
घरदेखि पश्चिमको खाली जग्गामा लगेर खेम काकाले खरखरी कपाल खौरिदिँदा म भावविह्वल भएँ । आमाको दाहसंस्कारका निम्ति, आमाको स्वर्गलोकसम्मको यात्रा सहज बनाउनका निम्ति, पुर्खाले मान्दै आएको धर्मसंस्कारलाई निरन्तरता दिनका निम्ति मेरो कपाल सानो टुपीमात्र राखेर खेम काकाले खौरिदिनुभयो । म एघार वर्षको हुँदा मेरो व्रतबन्ध भएको थियो । त्यसबेला यसरी कपाल खौरिएको सम्झना छ । आमाका निम्ति मेरो कपाल खौरिँदा म घोप्टो परेर आँसु बगाइरहेको थिएँ । आत्तिएको र हडबडाएको मेरो मनलाई शान्त पार्न धैर्यबाहेक कुनै औषधी थिएन त्यसबेला । अर्जुन दाजुको कपाल पनि खेम काकाले नै काटिदिनुभयो ।
दक्षिणपूर्वको कोठाको भुइँमा पहेँलो पीताम्बर ओढाएर सुताएको आमाको शरीर पटकपटक हेर्दै बाहिर निस्किँदै गरेँ । शरीर उति धेरै सुकेको थिएन । गाला मात्र भित्र पसेका थिए । अम्बिका दिदीले एक महिना अगाडि कपालमा लगाइदिनु भएको रातो मेहन्दीले आमाको कपाल झ्यालबाट छिरेको सूर्यको प्रकाशले टल्किरहेको थियो । सबै तयारी पूरा भएपछि आमाको शरीरलाई हामीले बोकेर घरको बाहिर ल्यायौँ र तुलसाको मोठ छेउमा राख्यौँ । आमाले हामी सबैलाई राति नै विदा गरिसक्नुभएको थियो । बाँकी कर्तव्य हामी परिवारका काँधमा थियो । भट्टराई गुरुले सबै विधिविधान पूरा गरेपछि आमाको शरीर हरियो बाँस माथि राखियो । हामीले तीन फन्का घुमेर आमाका मुखमा गंगाजल, अनुहारमा अबिर र शरीरमा फूल चढायौँ । एक मानो चामल छातीमा राखिदिएको थियो । आमाको निष्प्रण शरीर सेतो कपडाले बेरेर बाँधियो र हामी दाजुभाइलाई एकएकतिर बोक्न लगाइयो । अम्बिका दिदी, बालिका दिदी र सीता दिदी (फुपू) ले बाँसलाई छुँनुभयो । त्यसपछि मेरा कानले मानिस रोएको र राम राम सत्ये हो भनेको मिश्रित आवाजशिवाय केही सुनेनन् । कान्छी बहिनी सुत्केरी भएकाले खोलामा जान दिएनौँ । यशोदा भाउजू र कविता पनि सँगै हुनुहुन्थ्यो । खाली खुट्टा आमाको लास बोकेर हामी खोलातिर लाग्यौँ ।
मैले त्यसबेला संसार अन्धकार देखेँ । आमाको अन्तिम बिदाइ मेरो कल्पनाबाहिरको कुरा थियो । आमाको सुखको स्रोत मानिएको विराटचोकको त्यो घर आमाले नै संसार छोडेपछि निर्थक, उजाड र सौन्दर्यबिहिन लाग्यो । आमाका दुवै हात रित्ता थिए । मानिसको हृदयमा लोभ, द्वैष, पाप, अपराध आदि मनोविकारहरू हुन्छन् । ती मनोविकारहरू ज्ञानको जलले सफा गर्न नसक्दा अपराधमा परिवर्तन हुँदा रहेछन् । धनका निम्ति मानिसहरूले हद पार गरेका उदाहरणहरू समाजमा थुप्रै छन् । मरेर जाने यो पाञ्चभौतिक शरीर खाली हात जाने रहेछ । आमाका नाममा रहेको त्यो घर आमासँगै नजाने रहेछ । सम्पत्ति साधन हो साध्य होइन । तर हामी सम्पत्तिलाई साध्य मानेर त्यसका पछि दौडिरहेका छौँ । आमाको मृत शरीर काँधमा बोकेका बेला यस्तै विषय सोचिरहेँ मैले ।
आमाको पार्थिव शरीर आफन्त र छिमेकीहरूले पालैपालो बोक्नुभयो । विराटचोकको महेन्द्र राजमार्गको छेवैछेउ हरैँचामोड, खोर्साने, दीपेन्द्रचोक हुँदै लालभित्ती पुग्यौँ । भदौका घाममा तातेको पिच टेकेर खाली खुट्टा हिँड्नु पर्दा हामीलाई असह्य पीडा भएको थियो । मलामीको लर्को निकै लामो थियो । पैदल हिँड्ने, मोटरसाइकल र कारमा आउनेहरूले राजमार्ग पूरै ढाकेको थियो ।
आमाले पहाडमा हुँदा भोगेका दुःख, अभाव र वेदनाहरू मैले बाटाभरि झल्झली सम्झिएँ । सासु नभएको घरमा बुहार्तन नभए पनि दैनिक गर्नुपर्ने कामहरू अनगिन्ती थिए । पहाडमा हुँदा उकालो ओरालो, घाँसपात, बस्तुभाउ, खेतबारी आदिमै जीवनको अधिकांश समय खर्चिनु पर्ने । चैत अन्तिमतिर बारीमा मकै छर्ने चलन थियो । बैशाख लागेदेखि खेतमा धानको ब्याड राख्ने, बाँझो जोत्ने र आली काट्ने काम गर्नु पर्ने । फेरि बारीका मकै गोड्नु पर्यो । जेठ लागेपछि खेत रोप्नु पर्ने, खेत रोपिसकेपछि बारीका मकै दोहोरा गोड्नु पर्ने । लगत्तै धान गोड्ने बेला आइहाल्ने । फेरि बारीका मकै भाँच्नु पर्ने । त्यसपछि बारीमा कोदो रोप्नु पर्ने । पारिबारी र ठुलोखन्नो खेतको धान चाँडै पाक्ने हुनाले दसैँको हाराहारीमा धान काट्ने र थन्क्याउने चटारो हुन्थ्यो । बारीको कोदो पाक्छ त्यो पनि थन्क्याउनै पर्यो । तल्लोखन्नो, सिरिङखन्नो र फोक्टी खेतको धान काट्ने, घरमा बिटा बोकेर ल्याउने, दाईँ गर्ने आदि काम गर्नै पर्यो । फेरि गहुँ छर्ने बेला आउँछ । खेत जोत्ने, बाँझो खन्ने, गहुँ छर्ने आदि काम नगरी नहुने । वर्षभरिलाई पुग्ने दाउरा काटेर थन्क्याउनु पर्ने । कामका पत्रैपत्रले पहाडको दैनिक जीवन अति व्यस्त हुन्थ्यो । आमाले यीमध्ये खेतबारी जोत्ने र दाईं गर्नेबाहेक सबै काम गर्नुभयो ।
२०७० को हिउँदतिर आमा र म मोटरसाइकलमा तेह्रथुम गयौं । आमाले “तँ पहाड जाँदा मलाई पनि लानु ल कान्छा” भन्नु भएको थियो । मोटरसाइकलमा त चिसो हुन्छ, तपाईं सारी लगाउनु हुन्छ, बस्न अफ्ठ्यारो हुन्छ, पाँच घण्टा जान मात्र लाग्छ । सक्नु हुन्छ त ? प्रेसरको औषधी पनि खाइरहनुभएको छ- मैले सोधेको थिएँ । बसमा बस्दा गुम्म लाग्छ, मोटरसाइकलमा म विराटचोक आएदेखि बानी भएको छु । तँ पीर नगर् । म जान सक्छु- आमाले प्रत्युत्तरमा भन्नुभएको थियो । कविता र मैले रहरले २०६८ सालमा दोलखा चरिकोटका अक्कलमान कपालीको सो रुमबाट किनेको २२० सीसीको पल्सर मोटरसाइकलमा आमालाई एकपटक पनि चढाउन पाएको थिइनँ । आमाको रहर मैले पूरा नगर्ने प्रश्नै थिएन । सुरूमा बुबा असहमत भए पनि मेरो आग्रहपछि सहमत हुनु भएको थियो ।
धनकुटा मुलघाटको तमोर नदी माथिको पुल तरेपछि आमाले मसँग जीवनमा भोगेका अनगिन्ती दुःखका घटनाहरू सुनाउनुभयो । बाह्र वर्षमा विहे भएको, आमाकी जुम्ल्याहा बहिनीले डेड वर्षकी छोरी छोडेर अर्कै युवकसँग विहे गरेको, तल चौताराको धाराबाट डोका र गाग्रीमा पानी बोकेर गाईबस्तु र घरपरिवारलाई खुवाएको, काका ससुराहरूको खेतबारीमा पर्मपात गर्नु परेको, मन रोएको बेला सुनिदिने कोही नभएको बारे आमाले भोगेका यथार्थ घटनाहरू सुनाउनुभयो । वर्षभरि दुःख गर्दा पनि दुई छाक राम्ररी खान नपाउने र एकसरो राम्रा कपडा लगाउन नपाउने उतिबेला आमाले भोगेका घटनाहरू सुन्दा म नाजवाफ भएँ । तेह्रथुममा कान्छा सानाबा (घारीघर बा) खसेपछि आमाले आफ्नी कान्छी सानिमालाई भेटेर आउने अभिलाषाले पिप्ले आएको कारण पनि बाटामा खुलाउनुभयो ।
लालभित्तिको लोहन्द्रा पुलको पश्चिमबाट आमाको मृत शरीरक पछिपछि खोला किनारतिर हिँडिरहेको बेला मैले आमासँग बिताएका पलहरू शृङ्खलाबद्ध रूपमा सम्झिएँ । आमाको प्राण जानु केही घण्टाअघि बुबाले दराजमा छ हजार रुपैया राखेकी रहिछिन् भन्नुभएको थियो । मातातीर्थ औँसीमा दिएको पच्चिस हजारमध्ये खर्च गरेर उब्रिएको छ हजार आमाले दराजमा सारीको पत्रभित्र लुकाएर राख्नुभएको रहेछ । मैले खोला पुग्नुअघि त्यो घटना पनि सम्झिएँ । संसार नै माया मारेर स्वर्गलोकको यात्रा तय गर्नुभएकी मेरी आमालाई त्यो छ हजारको के काम ? सायद बाँच्नेलाई काम लाग्छ भनेर होला दराजमा छोडिदिनुभएछ ।
लोहन्द्रा खोलाको किनारमा आमाको दाहसंस्कारका निम्ति चिता बनाइयो । चिता मनुष्य जीवनको अन्तिम विन्दु हो- कतै पुराणमा सुनेको वाक्यको अर्थ गहिरो गरी महसुस गरेँ । चिताकै छेउमा आमाका खुट्टा पानीमा डुब्ने गरेर खोलामा राखिएको थियो । भट्टराई गुरुको निर्देशनबमोजिम हामीले आमाको शरीर बोकेर चिताका वरिपरि तीन फन्का घुमायौँ र चिता माथि चढायौँ । ब्रम्हाण्ड फुट्लाजस्तो भयो । नौ महिना पेटमा बोक्ने र दशधारा दुध खुवाउने आमालाई खरानी बनाउन हामी यो सबै काम गरिरहेका थियौँ । आमाको मुखमा अन्जुलीले पानी खुवाइयो । त्यो गालाबाट बगेर बाहिर गयो । अबिरको रातोले आमाको अनुहार ढाकिएको थियो । गलामा तुलसीको माला जस्ताको तस्तै थियो ।
अर्जुन दाजु र मैले घिउमा डुबाएका बात्ती बालेर आमाका मुखमा दागबत्ती दियौँ । जुन मुखले हामीलाई राम्रा कुराहरू सिकाउनुभयो, गालामा म्वाइ खाएर हुर्काउनुभयो, कसैले केही भन्यो भने अगाडि सरेर प्रतिवाद र बहस गर्नुभयो । त्यहीं मुखमा हामीले आगो लगायौँ । केशव काकाले चिताका विभिन्न भागबाट आगो बाल्न लगाउनुभयो । हामी दाजुभाइले काकाले सिकाएअनुसार गर्यौँ । सनातन परम्परा र संस्कृतिको अनुसरण गर्यौं । हेर्दाहेर्दै आगाको ज्वालो माथि आकाश छुने गरी दन्कियो । बगरभरि आफन्त र छिमेकीहरू रोएको आवाज कानले निरन्तर सुनिरहे । त्यही आगाको लप्कामा मेरी आमा आँखाअगाडि सदाका निम्ति विलीन हुनुभयो । यसपछि हामीसँग आमा सम्झनामा मात्र सीमित हुनुहुन्छ । हामी सन्तानले आमाको शरीर डडेको खरानीलाई अन्जुलीले पानी खन्याएर खोलाको निर्दयी पानीसँगै गंगातिर बगायौँ ।
विधिअनुसार हामीले कछाड फेर्यौँ र खाली खुट्टा पैदलै विराटचोक घर फर्कियौँ । छिमेकी कृष्ण फुयेलले मोटरसाइकलमा गएर दुइटा रेडीका खास्टा अर्जुन दाजु र मलाई बाटासम्म ल्याइदिनुभयो । प्रचण्ड गर्मीमा चर्मरोगबाट बच्न हामीले रेडीको खास्टो ओढ्यौँ । कृष्ण लुइटेल दाइले सबै मलामीले खाजा खाएरै फर्केको जानकारी गराउनुभयो । चार सय छपन्नजना मलामी खोलासम्म गएको खबर पाइयो । केही वर्षअघि मात्र विराटचोक आउनुभएकी आमाले यति धेरै मलामी बनाउनुभएको रहेछ । यति धेरै मलामी हुनुको कारण आमाको मृदुभाषा, विनम्र स्वभाव र परिपक्व व्यवहार प्रमुख हो भन्ने लाग्यो ।
आमाको दाहसंस्कार सकेर आएपछि मलाई विराटचोकको घर देउताबिनाको मन्दिरजस्तो अर्थहीन, उदास र शून्य लाग्यो । आमा कतैबाट कान्छा भन्दै आइहाल्नुहुन्छ कि जस्तो लाग्ने । पछाडिको कलमा पो हुनुहुन्छ कि । बजारबाट एक झोला सब्जी बोकेर आउनुहुन्छ कि । घरको छतमा लुगा उठाउँदै पो हुनुहुन्छ कि । झझल्को आइरहने । सपना जस्तो पनि लाग्ने । भ्रम हो जस्तो पनि लाग्ने । आमा जीवितै हुनुहुन्छ जस्तो पनि लाग्ने । हिजोसम्म ओछ्यानमा निदाइरहनुभएकी आमा जुरुक्क उठेर अगाडि आउनुहुन्छ जस्तो पनि लाग्यो । आमालाई आँखैअगाडि खरानी बनाएको दृश्य विश्वासै लागेन । तर आमा स्वर्गलोकको यात्रामा निकै पर पुगिसक्नुभएको थियो । अब यो जुनीमा उहाँसँगको भेट सम्भव नै थिएन । हामी पाँच सन्तान एकैपटक टुहुरा भएका थियौँ । आमा ! हजुरको बैकुण्ठबास मृत्युलोकजस्तो दुःखले नभरियोस् । त्यहाँ तेह्रथुम पिप्लेको जस्तो उकालोओरालो गर्नु नपरोस् । पिठ्यूमा धान, चामल, गहुँ, तोरी र घाँसपातका भारी बोक्नु नपरोस् । बैकुण्ठधाममा दुःख हुँदैन भन्नेसम्म सुनेको छु । यो पनि सुनेको छु- भगवान्को धाममा पुगेपछि कुनै चिन्ता पनि त हुँदैन अरे ।
लेखकको सम्वन्धमा