आँखाका अघिल्तिर आमाका अन्तिम दिनहरू
भाइ आमा अब नबाँच्ने हुनुभयो, डाक्टरले घर लैजानु भनेको छ- बालिका दिदीले फोनमा भन्नुभएथ्यो ।
दिदीको फोन राखेर म टोकियोको फुस्सा स्टेसनबाट पूर्वतिरको उकालोमा हिँडिरहेका बेला खुला सडकमै डाको छोडेर रोएँ । मलाई त्यो बेला सूर्यको प्रकाश मधुरो लाग्यो, धर्ती फाटेजस्तै भयो । सडकका गाडीहरूको आवतजावत र मानिसहरूको चहलपहल सबै शून्य लागे । मेरा निम्ति दुनियाँका सबै कुराहरू निरर्थक लागे । बाह्र वर्षदेखि उच्च रक्तचापसँग लडिरहनुभएकी मेरी आमा अब यो संसारमा नरहने त्यो अप्रत्याशित खबरले म अक्कनबक्क भएँ । क्युपिल, एक्वाजाइड र एटोनल फिप्टी गरी तीनथरी औषधी दैनिक तीन पटक खाइरहेको आमाको जीर्ण शरीर छइन्जेल हामी पाँच सन्तानले कहिल्यै एक्लो महसुस गर्नु परेको थिएन ।
बेलुका टोकियो हाइजिमाको कोठामा फर्किएपछि घरमा फोन गरें । अम्बिका दिदी र बालिका दिदीलाई निरन्तर सम्पर्क गरें । बुबालाई आमाको बाँकी जीवन कष्टकर हुन नदिन सबै किसिमका सुविधाहरू उपलब्ध गराउन अनुरोध गरें । कान्छी बहिनी एकहप्ता अघि सुत्केरी भएकाले उनलाई खबर सुनाउँदा सचेतता अपनाउन सबैलाई खबर गरें । एक महिनाअघि आमाको स्वास्थ्य गडबड भएपछि दाजु पनि विदेशबाट यात्रा छोट्याएर घर फर्किनुभएको थियो । परिवारका सबै सदस्यहरू वरिपरि देखेपछि आमालाई अन्तिम क्षण मानसिक शान्ति हुने अपेक्षा मैले गरेको थिएँ ।
आमा हलुका बोल्नुहुन्छ । खानेकुरा पनि विस्तारै खानुहुन्छ । घरपरिवारका बारेमा सोधेका प्रश्नहरूको जवाफ दिनुहुन्छ – मलाई अम्बिका दिदीले भन्नु भएको थियो । म तुरुन्तै हवाइजहाजको टिकट व्यवस्था गर्छु र घर आउँछु । कम्तीमा हप्ता दस दिन आमालाई अक्सिजनमा राखिदिनु, आइसियुबाट ननिकालिदिनु भन्नु । म आमाको अन्तिम अनुहार हेर्न आइपुग्छु । घरपरिवारसँग मैले यति आग्रह गरें ।
विराटनगरको नोबेल मेडिकल कलेज (नोबेल अस्पताल) को आइसियुमा जीवनका अन्तिम दिनहरू बिताइरहनुभएकी मेरी आमाको अनुहार हेर्न पाउँछु कि पाउँदिनँ भन्ने चिन्ता थियो मनमा । चार सन्तानहरू वरिपरि भए पनि म भौतिक रूपमा समुद्रपारि थिएँ । मेरा एमए पढ्दाका प्रिय मित्र बुद्धिराज ढकाललाई सम्पर्क गरें र उनको न्यूरोडमा रहेको लुम्बिनी पिस, ट्राभल्स एन्ड टुर्स प्रा. लि. बाट हवाइजहाजको एकथान टिकटको व्यवस्था गर्न लगाएँ ।
टोकियो हाइजिमाको कोठामा सल्यानका अनुपम समीर र म सँगै बस्थ्यौं । त्यो कोठा मेरो जापान आएदेखिको सहयात्री थियो । त्यो कोठामा लगभग आमाको त्यो खबरपछि म सुत्न सकिनँ । निद्रा मेरा लागि गौण बन्यो । आमाको याद, आमासँग बिताएका झणहरू, आमाका सङ्घर्षका ती दिनहरू मात्रै दिमाखमा आउन थाले । तेह्रथुम पिप्लेमा बाह्र वर्षकी हुँदा विवाह गरेर भित्रिनुभएकी मेरी आमा एक प्रकारले आफ्ना बुबाआमासँग टाढिनुभएको थियो । आसामको नर्थ लख्खिम्पुर जिल्लाको सालदुवाघाटमा बाल्यकाल बिताउनुभएकी मेरी आमाको विवाह भएको लगभग २० वर्षपछि मात्र वेहुली पुर्याउन लगेको कुराले म तीनछक्क परेको थिएँ ।
तेह्रथुम उतिबेला दुर्गम थियो, जतिबेला मेरी आमाको विवाह भयो । २०२२ सालदेखि २०६६ सालसम्मका करिब ४४ वर्षहरू आमाले पिप्लेमा नै बिताउनुभयो । यसबिचमा हामी पाँच सन्तानहरू जन्माउने, हुर्काउने, लालनपालन, शिक्षादीक्षा र विवाह गरिदिनेसम्मका जीवन र जिम्मेबारीले आमालाई बुबासँगै एकोहोरो बनायो । आमाका जीवनका उतारचढावहरू बुबासँगका सहकार्यका आधा हिस्सा थिए । बुबाका सङ्घर्षका कठोरतम दिनहरूमा आमा हरपल खम्बा बनेर उभिनुभयो । आमाका निम्ति माइत एकादेशको कथा थियो । छोरी मान्छेलाई घरपरिवारका चुनौतीपूर्ण परिस्थितिहरूको भारी हलुका बनाउन माइतीको साथ चाहिन्छ । आमाका निम्ति त्यो ढोका भौगोलिक विकटता र भौतिक दूरीका कारण अघोषित रूपमा बन्दजस्तै थियो ।
पहाडको दैनिक जीवन भनेकै गाईबाख्रा पाल्नु, खेतबारी कमाउनु र पाखापखेरामा घाँसपात गर्नुमै बित्ने गर्दथ्यो । उकाली ओराली गर्नु, खुकिलोमुकिलो भएर बस्न नपाउनु, पितृसत्ताका कठोरत्तम नियमहरूको हुबहु परिपालना गर्नु, सुसेधन्दामा आफूलाई अब्बल गरेर राख्नुमै पहाडमा नारी जीवनको सार ठानिन्थ्यो । आमाका हरेक दिनहरू आम ग्रामीण नारीहरूका जसरी बित्छन् त्यसरी नै बिते । आराम भनेको कस्तो हुन्छ त्यो आमाले सायद देख्न पाउनु भएन । भोग्नु त धेरै परको कुरा थियो । पारिबारी, ठुलोखन्नो, तल्लोखन्नो, सिरिङखन्नो र फोक्टी खेतमा आमाले सयौं लिटर पसिना बगाउनुभयो । ती खेतहरू हाम्रा अन्नदाता थिए, पेट पाल्ने आधार थिए । आमाले कुनैबेला भन्नुहुन्थ्यो- कान्छा मैले अभाव र दबाव के हो गहिरिएर बुझेकी छु ।
तोरीको तेल पेल्न अम्फुवामा रेग्मीको पानीमिलसम्म एक बोरा तोरी बोकेर आमा जानुहुन्थ्यो । छोराछोरीलाई चिउरा खुबाउन डेढ घण्टा तल खोरुङ्गा खोलाको चिउरा मिलमा धान बोकेर पुग्नुहुन्थ्यो । पिप्ले गडीगाउँ तलको ज्ञानबहादुर खत्रीको मिलमा एक बोरा धान बोकेर जानुहुन्थ्यो र चामल लिएर आउनुहुन्थ्यो । नागदहको उराठेँको रातो माटो एक डोको बोकेर ल्याउनुहुन्थ्यो र घर टिलिक्क टल्काउनुहुन्थ्यो । तल ढाडे लिम्बूको घर पर्तिरबाट पानी तरतरी चुहाउँदै एक डोको कमेरो बोकेर ल्याउनुहुन्थ्यो । जिरिखिम्तीमा कुलबहादुर आचार्यको मिलमा धान र गहुँ लिएर पटकपटक जानुहुन्थ्यो । आमाका ती दिनहरू मैले हाइजिमाको कोठामा बसेर झल्झली सम्झिएँ ।
२०६६ सालमा आमालाई कुन्नि के विचार आयो । एकदिन मलाई बोलाएर भन्नुभयो – कान्छा म २०६२ को जेठमा मरेर बाँचें । प्रेसरले मलाई त्यो हालतमा पुर्यायो । बुबा र तँ भएर मलाई तुरुन्तै विराटनगर नलगेको भए म उतिबेलै मरिसक्थें । मलाई पहाड बस्ने रहर छैन । यो ठाउँमा कति दुःख गर्नु । अब त काम गर्न पनि सक्दिनँ । प्रेसरले बेलाबेला दुःख दिइरहन्छ । पाँचजना छोराछोरी पाएको शरीर अब कति गर्नु विराटचोकको घडेरीमा एउटा घर बनाएर मलाई पनि मधेस लैजाओ । बेलाबेला विराटनगर जँचाउन जान पनि पाइने । पहाडमा केही गर्दिनँ भने पनि अलिकति बारी कमाउनै पर्यो, दुध खान एउटा गाई पाल्नै पर्यो । साबित्रा पनि स्कुल गइहाल्छिन् । म काम गर्न सक्दिनँ ।
आमाका ती प्रत्येक वाक्यहरूले मलाई भित्रभित्रै बिछिप्त बनायो । आमाले कहिल्यै आफ्नो जीवन बाँच्न पाउनुभएन । आफ्नो निजी जीवनका लागि अलिकति पनि समय छुट्याउन पाउनु भएन । छोराछोरी भन्दाभन्दै आमाका चार दशकभन्दा बढी समय नै बिते । म पहिला बुबा र दाजुसँग सल्लाह गर्छु त्यसपछि तपाईँको इच्छा पूरा गरौँला – मैले आमालाई भनेको थिएँ । केही दिनपछि मैले बुबा र दाजुसँग यो विषयमा सल्लाह गरें । आमाका इच्छा र चाहनाहरू पूरा गर्ने विषयमा घरपरिवार पूरै एकढिक्का भयौँ ।
विराटचोक, मोरङमा किनेको घडेरीमा घर बनाएर करिब एक वर्षभित्रै आमालाई पहाडबाट मधेस लगियो । आमालाई बेलाबेला म सोध्ने गर्थे- पहाडभन्दा यहाँको बसाइ आराम छ कि उस्तै छ ? आमाले प्रसन्न मुद्रामा भन्नुभाथ्यो- मेरा दुःखका दिन सकिए । बस्न आराम छ । यो गर्मी पचाउने बानी पनि बिस्तारै बढिहाल्छ । तर खर्चबर्च निकै हुने रहेछ । मैले पुनः सोधेँ- घर खर्च बुबाले गरिहाल्नुहुन्छ । तपाईँको निजी खर्च त होला नि ? आमाले भन्नुभयो- खर्च त मेरा लागि हो । बजारमा केके देखिन्छ, हामी छोरी मान्छेलाई देखेपछि चाहिने रहेछ । पहिलापहिलाका चाहनाहरू धीत नमरेर होला । अचेल धेरैथोक लाऊँलाऊँ र खाऊँखाऊँ लाग्छ ।
त्यो दिन मैले आमालाई एउटा गोप्य वचन दिएको थिएँ – तपाईले मलाई यहाँसम्म पुर्याउनुभयो । मेरो जीवनको जगमा तपाईको सङ्घर्ष र दुःखको तलाउ छ । म सोही तलाउबाट उम्रिएको फूल हुँ । अब मेरो पालो आमा । म अहिले क्याम्पस र हाइस्कुल दुवै पढाउँछु । कमाई पनि राम्रै छ । प्रत्येक महिना म पाँच हजारमा नघटाई पैसा पठाइदिन्छु । आमा त्यो दिन हर्षविभोर हुनुभयो । त्यसपछि मैले त्यो वचन निरन्तर पूरा गरेँ । जापान आएपछि त्यो रकम बढाएर दोब्बर पुर्याएँ । यो कुरा अम्बिका दिदी, साबित्रा बहिनी, आमा र मबाहेक अरू कसैलाई पनि थाहा थिएन ।
२०७३ को मातातीर्थ औँसीको केही हप्ताअघि अम्बिका दिदी र माधव भान्जासँगै आमा हलेसी महादेवको दर्शन गर्न जानुभयो । त्यसपछि मैले काकरभिट्टामा अम्बिका दिदीलाई पच्चिस हजार पठाएर आमा मातातीर्थ औंसीमा आएको बेला त्यो रकम दिनु भनेको थिएँ । आमाले हातमा समाएर भन्नु भएको थियो रे- पच्चिस हजार रुपियाँ मलाई खर्च गर्न आजसम्म कसैले पनि जीवनभर दिएको थिएन । त्यो सबै रकम लिएर आमा विराटचोक फर्किनुभएछ । त्यसको केही दिनपछि आमालाई प्रेसरले थला पार्यो । नोबेल अस्पतालले बिदा दिएपछि हामी टुहुरा हुने सङ्घारमा पुग्यौं ।
म थाई एयरलाइन्सको जहाजबाट बैंकक हुँदै काठमाडौं ओर्लिएँ । एकरात काठमाडौँ बसेर भोलिपल्टको पहिलो उडानमा विराटनगर गएँ । विराटनगर विमानस्थलमा मलाई लिन कविता र सानी छोरी इरानी आएका थिए । हामी तीनैजना विराटचोक नगई नोबेल मेडिकल कलेज गयौँ । दाजु र अम्बिका दिदी हुनुहुन्थ्यो । दाजुले मलाई आइसियु कक्षमा पठाउन सल्लाह गर्नुभयो । म त्यो बेला आमाको अनुहार दर्शन गर्न आतुर थिएँ । मेरी जन्मदाता, जसको दशधारा दुध पिएर म बढेँ पढेँ उहाँलाई मृत्युशैय्यामा हेर्न जाँदै थिएँ । जो मलाई पर्खेर भौतिक स्वास फेरिरहनुभएको थियो ।
आमा मलाई चिन्नुभयो ? – अक्सिजनको माक्स लगाइरहनु भएकी आमाका नजिकै गएर सोधेंँ । चिनेँ कान्छो होइन तँ – आमाले मलिन मुद्रामा जवाफ दिनुभयो । म कहाँबाट आएको थाहा छ ? – दोस्रो प्रश्न गरेँ । काठमाडौँबाट- आमाले उसरी नै जवाफ दिनुभयो । आमाको होस् केही कम हुँदै गएको महसुस भयो । अब औषधी खानुपर्छ निको हुन्छ । घर जान मन लागेको छ कि छैन ? – तेस्रो प्रश्न गरेँ । को नि त डाक्टरले के भन्छन्, घर गए त सजिलो हुने थियो – आमाको मलिन स्वर कानमा ठोक्कियो । म भोलि डाक्टरसँग सल्लाह गर्छु है त, विदा दिए भने घरै गएर औषधी खानुपर्छ, घरको खाना खाए शरीर पनि तगडा हुन्छ । पहिला पनि औषधी घरै बसेर खाएको हो । यो पटक पनि त्यसै गर्नुपर्छ- म पुनः बोलें । हुन्छ- आमाको प्रत्युत्तर थियो ।
म त्यहाँबाट रन्थनिँदै उठेँ । आँखाबाट आँसुका बलिन्द्र धारा बगे । मृत्युशैय्यामा जीवनका अन्तिम दिनहरू बिताइरहनुभएकी आमाको अनुहार देखेर मुटु फुट्ला जस्तै भयो । ढोकासम्म आएर एकपटक फर्किएर आमालाई फेरि हेरेँ । शान्त मुद्रामा आमा सुतिरहनुभएको थियो । आमालाई डाक्टरले बिदा दिएको कुरा हामीले जानकारी गराएनौँ । केवल उहाँलाई सान्त्वना मात्र दिइरह्यौँ । अम्बिका दिदी, दाजु र कविताका आँखा पनि आँसुले भिजे ।
लामो यात्राको थकान थियो । आमाको त्यो अवस्था देखेपछि मन अशान्त थियो । बाहिर आएर दिदी र दाजुसँग सल्लाह गरेँ र भोलि डिस्चार्ज गर्ने सल्लाह गरेर म, कविता र इरानीसँगै विराटचोक घर गएँ । बुबा बाहिरभित्र गर्दै छटपटाइरहनु भएको थियो । हामीलाई देखेपछि बुबा पनि रुनुभयो । त्यो रातभरि निद्रा लागेन, आमाको यादले । घरभित्र पस्न लागेको दुःखान्त दृश्यले अनि बुबाको आगामी दिनको एक्लो र उराठ लाग्दो जीवनको परिकल्पनाले । कविता पनि रातभरि मौन बसिन् । उनका आँखाबाट पनि निद्रा टाढा भाग्यो ।
भोलिपल्ट म इटहरी नबिल बैंकबाट आवश्यक रकम निकालेर नोबेल अस्पताल विराटनगर गएँ । केही घण्टाको प्रक्रियापछि हामीले आमालाई घरै गएर आराम गर्ने र औषधी खाने झुटो कुरामा भुलाएर घर ल्यायौँ । मैले कवितासँग आमालाई सुताउने कोठाका सबै सामानहरू फेर्नू र पूर्ण सरसफाई गर्नू भनेको थिएँ । उनले सोचेभन्दा व्यवस्थित बनाइछिन् । आमालाई ल्याएर हामीले दक्षिणपूर्वको कोठामा सुतायौँ । हेर्न आउने मानिसहरूको भिड थेगिनसक्नु भयो । माइती, मामली र घरतिरका प्रायः सबै आफन्तहरू आउनुभयो । यो आफन्त चिन्ने बेला पनि रहेछ । जीवनका अन्तिम दिनहरूमा एक पटक अनुहारसम्म हेर्ने चाहना आफन्त र चिनेजानेका सबैमा आउने रहेछ । वर्षौँअघिदेखि बोलचाल बन्द भएकाहरू पनि एकैछिन अनुहार हेरेर गए । सबैले आमाको पछिल्लो अवस्था थाहा पाउनुभएछ । चम्चाले अलिकति दुध, जाउलो र पानी सिवाय आमाले केही पनि निल्नुभएन । आएका मानिसहरू लगभग सबै चिन्नुहुन्थ्यो ।
क्रमशः आमाको हलचल दैनिक कम हुँदै गयो । यताउता फर्किन खोज्नु हुन्थ्यो तर तागत पुग्दैनथ्यो । बाहिर प्रचण्ड गर्मी भए पनि हामीले कोठालाई वातानुकूलित बनाएर राखेका थियौँ । बेलाबेला आँखा हेर्नुहुन्थ्यो । नत्र अधिकांश समय आँखा खुल्दैन थिए । मुस्किलले पानी निल्नुहुन्थ्यो । बोलाउँदा हँ हँ भन्ने आवाज मात्र निस्किन्थ्यो । घर ल्याएको चौथो दिनदेखि आमाको जिउ काँप्दै गयो । त्यो दिनदेखि पानी पनि निल्नुभएन । हामी घरका सबैजना पालैपालो आमाका छेउमा बस्थ्यौँ । खुट्टा सुम्सुम्याइदिन्थ्यौँ । हात मालिस गरिदिन्थ्यौँ । मुख र अनुहार पूरै सफा गरिदिन्थ्यौँ ।
छैटौँ दिन बिहानैबाट आमाको स्वासको गति घटबढ हुँदै गयो । बेलाबेला मुख आँ गर्नुहुन्थ्यो । सम्भवतः नाकबाट मात्र स्वास फेर्न गाह्रो हुँदो हो । छातीको भाग गाँठो परेजस्तो देखिन्थ्यो । हलुका हातखुट्टा चलाउनुहुन्थ्यो । सिरानेमा कोमलगीता र भागवतका दुई थान पुस्तक राखिएका थिए । बुबाले काँसको बटुकोमा तुलसी पानी र सानो चम्चा राखिदिनु भएको थियो । हामी त्यो दिन अरू दिनभन्दा ज्यादै नै आत्तिएका थियौँ । एकले अर्कालाई पुलक्क हेराहेर गर्दथ्यौँ । दिनभर मानिसहरूको आइजाई बाक्लै थियो ।
बेलुका ८ः४५ बजे आमाले अन्तिम सास फेर्नुभयो । सबैजना वरिपरि थियौँ । हामी सबै डाँको छोडेर रोयौँ । अब आमा हामीबिच हुनुहुन्नथ्यो । हामीले आमालाई जीवनबाट सदाका लागि गुमाएका थियौँ । कान्छा भनेर बोलाउने मेरी आमा अब अर्कै बाटाको यात्रामा निस्किनुभयो । त्यो आवाज अब मेरा कानले कहिल्यै सुन्न पाउने छैनन् । भुइँमा पिताम्बरले छोपेर सुताएको आमाको आत्माबिहिन शरीरको टाउकातिर अर्जुन दाजु र खुट्टातिर म बस्यौँ । चेलीबेटी र बुबा पनि छेउमा बस्नुभयो । छेउमा अगरबत्ती बालियो । त्यसको धुँवा कोठाभरि फैलियो र ढोकाबाट बाहिर निस्किएर आकाशतिर गयो । त्यो निर्दयी रातमा आमाको वियोगमा हामीले एकैसाथ आँसुको गङ्गा बगायौँ । अस्तिजस्तो लाग्छ । गएको भाद्र ७ गते त्यो निर्दयी रात बिताएको पनि छ वर्ष पुगेर सात वर्ष लागेछ ।
लेखकको सम्वन्धमा