आऊ एक पटक रानीवन जाऊँ
एक्लेै गएको थेँ रानीवन
भन्दै थियो त्यो तिम्रो जोडाको
बग्रेल्ती लागेको छ माया
ए ! राजा खै त तिम्री रानी ?
मेरा आँखा थिएनन् ओभाना
बस म त केवल पागल मात्र
आँसु पुछ्दै भनेँ,
म अर्कैको भएँ
ऊ अर्कैकि बनी
अब हामी पहिले जस्तै कहिल्यै एक हुँदैनौँ
ऊ मेरी रानी रहिन
न त म उसको राजा
ए रानीवन नरिसाऊ ल !
एक्लै आएको छु आज तिम्रो न्यानो अँगालोमा
बस्न देऊ मलाई एक्लै
रुन देऊ धित मरुन्जेल उसैको यादमा
सायद !
मेरो पनि अन्तिम हुन सक्छ तिमीसँगको भेट
थियौ कुनै दिन हाम्रो प्रेम चौतारी
तिमी उराठ हुँदा पनि
कोइलीले छाडेर जाँदा पनि
तिम्रो शीतल छहारीमा आउँथ्यौँ उनी र म
शीतल ताप्न
मायाका बातमा भुल्न
तिमी काफलले रातै हुँदा
तिमीलाई रित्याउन
तिमीलाई नङ्ग्याउन
तिमीलाई चोट पुर्याउन
ए ! रानीवन हामीलाई स्वार्थी नसम्झ है
तिम्रो बिछट्टै मायाले
उनैको सम्झनाले मलाई डोर्यायो यहाँसम्म
र त,
मनलाई शान्तिले सेकाउन आएँ तिम्रै छेउ
तिम्रो गुनासो सुनाइदिन्छु
र, भन्ने छु-
जसरी पनि आऊ एक पटक
तिमी र म रानीवन जाऊँ
पहिले जस्तै
काफल खान
बाख्रा चराउन
मायाका मिठा बात गर्न
खासमा तिमी र म रानीवनसँग रमाउन
आऊ एक पटक रानी वनलाई सान्त्वना दिन ।
लेखकको सम्वन्धमा