दृश्य – अदृश्य : मेरा आँखाहरू

मैले मेरो संसारलाई
मैले मेरै आँखालाई
म मैले ‘म’ स्वयंलाई
देख्‍न सकेको छुइनँ
अचम्म लाग्छ ।

म कति दूरसम्म देख्‍न सक्छु
उ…पर…पर…परसम्म
अचम्म !
म किन ‘म’ नै देख्न सक्तिनँ ?
म ‘म’सँग गाँसिएकोलाई ?

मैले मैभित्र पहाड सम्याएको छु
नदीको बाँध बाँधेको छु
मरुभूमिलाई हरियाली बनाएको छु
आगो र पानी मन्थन गरेको छु
गरेकै छु, केही त गरेकै छु
तै ,
मभित्रकोे वस्तुलाई किन देख्‍न सक्तिनँ ?
सारै अचम्म लाग्छ
छक्क लाग्छ
के भयो, किन कुन्नि ?
के भयो भयो ?
छक्क लाग्छ !
सम्झँदा पनि विरत्ति
कल्पँदा पनि दिक्दारी
अचम्मै लाग्छ !
कुन्नि म स्वयं ‘म’ लाई देख्तिनँ ।
कहिलेसम्म हो मेरो यस्तो दृष्टि
अचम्मैै लाग्छ !
किन आजकाल म ‘म’लाई देख्तिनँ ।
देखिहाल्दा पनि—
मैले ‘म’ लाई
आजकाल—
खोलाहरूमा देख्छु
सपनामा देख्छु
सपनीमा ,
बगेका रगतहरू…
उडेका पहाडहरू…
पोखिएका चोटहरू…
सुसाएका आँसुहरू…
देख्छु ।

आजभोलि त
सपनामा पनि डर लाग्छ
दिनहरू भूतले गाँजे जस्तो लाग्छ
खै ! किन आजभोलि
केही केही पनि देख्‍न सक्तिनँ
अहिले डर लाग्छ
धेरै डर लाग्छ
हो म ‘म’ लाई देख्तिनँ
भ्रम होइन
साँच्चै
म ‘मलाई’ देख्तिनँ
आमालाई पनि सपनी जस्तो लाग्छ
बुबालाई बिर्सिसकेँ
अरूको सझना छैन
पटक्कै आफन्तहरूलाई देख्तिनँ
म अरूलाई पनि अन्धो देख्छु
निस्पट्ट अँध्यारो
छाम्‍नै सक्तिनँ
केही देख्तिनँ
मेरा आँखाहरू खुल्ला छन्
तर बहिरा छन्
केही पनि सुन्दैनन्
देख्छन् मेरा कानहरूले मात्रै
सुन्दैसुन्दैनन्
देख्दैदेँख्देनन्
मेरा आँखाहरू
पटक्क !
किन?
मेरा किरिया परेका आँखाहरू ।