असारको सम्झना
असार मास राेपिन्थ्याे धान घुम नै ओढेर
हरियो पारी त्याे खेत टारी भदौमा गाेडेर
भित्तामा हुने भटमास फेरि आलिमा कालाे मास
रमाइलो थियोे ऊ बेला सारै गरिन्थ्यो दाउराघाँस।
जुवामा सैला लगाई पैला जाेतारा लगाई
मेलामा छिट्टै निस्कन्थे दाजु हलगाेरु अघाई
हल्लुँड हरिस करुवा फाली हलामा राखेर
त्याे खलेगरा जोती नै सक्थे बहुतै हाँकेर ।
वारि र पारि देखिन्थ्यो राम्रो हल गाेरु नारेकाे
काेदाली बाेकी लगाई आलि चिटिक्क पारेकाे
‘ब्याड्यानी’ भन्थे बिउ काढ्नेलाई राेप्नेलाई ‘रोपाहार’
फ्याउरी लगाई मिलाउँथे माटो बाउसेले बारम्बार ।
तारे र माले गाेरुलाई नारी राम्ररी साउनु है
अग्लो र होचो बिचार गरी त्याे दाँदे लाउनु है
भनेर बुढापाकाले भन्थे धेरै धान फलाउन
काेदाली बाेकी सँगसँगै हिँड्थे त्याे हिलाे चलउन ।
राेपाहार आउँथे हाँस्दैमा हाँस्दै बिउ दिन्थे बाउसे
उमेरले हाे कि समय त्यस्तो सारै नि रउसे
राेपन राेप राेपारे रानी म पज्याइदिउँला बिउ
बाउसेलाई दिने एकराते दही राेपारलाई दिने घिउ ।
दही र चिउरा दिउँसोको खाजा बेलुका खाना खाई
हाँसीमा हाँसी गरिन्थ्यो बिदा धान राेप्ने रोपारलाई
खेत राेपिसकी मैझाराे मान्थ्यौँ परिवार भेला भई
खेती र पाती रमाइलो थियो ती कुरा अहिले खै ?
लेखकको सम्वन्धमा