April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार

ख्वामित, अचेल यस्तै छ !

वर्षा लागेको छ, सुन्दैन (२)
कतै तिमीले पनि हाम्रा जुजुमानहरूझैँ सुन्ने
बानी त गुमाएनौ ?
छैन रे
अनि किन त
पुल बाँध भत्काएकै छ,
वारि खेत, टारी खेत र
पारी खेत बगाएकै छ । (२)
साथीहरू !
खै जोगाउला त तटबन्धनले (२)

सिँधुर र मङ्गलसूत्रको सम्मानका लागि बबिता
अन्सनमा छिन्
आफ्नो परिचय प्रमाणित गर्न
आफ्नै अस्तित्व प्रमाणित गर्न
निरजले आफ्नू तन बाले (२)

त्यै पनि जुजुमान र भगवान्‌हरू
संविधानले अधिकार दिएकै छ भन्छन्,
होला त ?
यस्तै हो भने त शङ्का लाग्यो हजुर
के संविधान जोगाउला त गठबन्धनले (२)

विडम्बना, अचेल यस्तै छ ।
ख्वामित, अचेल यस्तै छ ।

अच्चम छ,
मख्ख परेर पढ्छन् १२ वर्ष रामायण (२)
लाज लाग्दैन
अनि सोध्छन् सीता कस्की जोई ?
तर साध्दैनन् सीता छोरी कस्की ?
छोरी कस्की ?

बन्यो चलचित्र,
बताइयो सीतालाई हिन्दुस्तानकी चेली भनेर
धन्न दारी मुसार्दै, मेयर साबले लौरो चलाए
अनि बल्ल होस् खुल्यो
सांस्कृतिक अतिक्रमण भएको आदिपुरुष
पूरै बन्द भो
तर फेरि सोचेँ
हामीले ब्याट हातले समातेर बल हान्दा छक्का लागेपछि
हुर्रा छाउने भो
स्वागत गरौँ जनता हो
माला उनीयो त
राष्ट्रियता बेची पि.एम सवारी भई
नस्ल बिस्तारका लागि १५ ओटा मुरर्रा आउने भो 

विडम्बना, अचेल यस्तै छ
ख्वामित, अचेल यस्तै छ

मोर्चा बनेकै छ, मर्चा बिकेकै छ
कोही गजुर बनाउने, गजुर बा
कोही हजुर रुचाउने, हजुर बा
कोही बोल्दै र्‍याल काढ्ने र्‍याले बा
कोही घन्टी बजाउँदै नागरिकता बनाउँदै हिड्ने,
झ्याले बा !!

सबै आफ्नो क्षेत्रमा बा,
बा र जुजुमान भएकै छन्
भाग्यमानी नेपाली
भुटानी शरणार्थी भएर नि अमेरिका गएकै छन्
उहिले हाम्रा बाजेका पालामा (२)
उहिले त बाजेको पालामा !
सिन्दुर र पोते पतिले लगाइदिएपछि
पत्नीको नाम पछाडि, पतिको थर लेख्थे रे !

अहिलेका बाहरूको राज्यमा !
पशुपतिको शिवलिङ्गमाथि
आफ्नै नाम लेख्ने चलन आएछ
तर जे होस्
नेताले ढुङ्गा र पाइप बोकेको देख्दा
फोहोर सोहोर्दै सहरमा मोहोरको खेती हुन लागेको देख्दा
झिनो आशा पलाएको छ
यद्यपि निर्माला र ललिताले
न्याय नपाउने घरमा
माकुराको जस्तै शङ्काको जालो लागेकै छ ।

ख्वामित ! अचेल यस्तै छ
ख्वामित ! अचेल यस्तै छ ।