आँखा चिम्ली सपना देख्नु छैन
म त आकाश नियाल्न चाहन्छु
आँखा चिम्लेर सपना देख्नु छैन मलाई
मेटाएर आफैँलाई आफ्नो अस्तित्व खोज्दै छु
आँखा चिम्लेर सपना देख्नु छैन मलाई
प्रयासका पहाडहरू चढिरहेछु
एकदिन आकाश छुने छु
बिर्सेर आफूलाई आफैँ बन्दै छु
एकदिन आफ्नै नाम राख्नलाई
उधारा खुसीहरू आफ्नै हुने छन्
खुसीले आँखा रुने छन्
म यही सम्झिँदै, कल्पिँदै पीडाहरूमा रमाउन खोज्छु
सधैँ पीडा चुम्ने हातहरूले खुसी समाउन खोज्छु
एकदिन मेरै हुने छ भन्दै
हरेक दिन नयाँ स्वरूप बन्दै
साँच्चै आँखा चिम्लेर सपना देख्नु छैन मलाई
सङ्घर्षबिनाको जीवन साँच्चै लेख्नु छैन मलाई
सङ्घर्षबिनाको मेरो जीवन कस्तो कस्तो देख्छु
साँच्चै मन दुख्छ केही नगरी केही नहुनुमा
साँच्चै गर्व लाग्छ धेरै गरी केही हुनुमा
म त विस्फोट हुँदा पनि सुवास छर्न सकूँ
सपनाका आकाशमा रङ भर्न सकूँ
आमा तिमी मेरो जिम्मेवारी हौ, सम्झिरहन्छु
तिमी धन्दा नमान
मलाई आँखा चिम्लेर सपना देख्न मन लाग्दैन
तिमीलाई रुवाएर आफू हाँस्ने हिम्मत जाग्दैन
मेरा प्रयासहरू तिम्रा खुसीका वरिपरि घुम्ने छन्
दुःखहरू लखेटेर खुसीको उत्सव मनाउनुछ
‘पागल झैँ सपना देख्छेस् !’ भनौली आमा
आमा ! साँच्चै मलाई आँखा चिम्लेर सपना देख्नु छैन ||
लेखकको सम्वन्धमा