February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

निबन्धलेखनसम्बन्धी प्रशिक्षण र कार्यशाला सम्पन्न

ज्येष्ठ २८, झरना सञ्‍चार ।

राष्ट्रिय जनसाहित्यिक सङ्‍घ, नेपाल र मनोहर माध्यमिक विद्यालयको सहआयोजनामा ज्येष्ठ २८ गते मनोहर माध्यमिक विद्यालयमा निबन्धलेखनसम्बन्धी प्रशिक्षण र कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यक्रममा आठ, नौ र दश कक्षाका बत्तिस जना विद्यार्थी सहभागी भएका थिए । 

राष्ट्रिय जनसाहित्यिक सङ्‍घ, नेपालका उपाध्यक्ष तथा निबन्ध विभागका संयोजक नर्मदेश्वरी सत्यालले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम प्रशिक्षक सोमनाथ दाहाल र गीता सापकोटाले सैद्धान्तिक, व्यावहारिक र कार्यमूलक रूपमा सञ्चालन गर्नुभएको थियो । सो कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्‍घका अध्यक्ष प्रेमनाथ अधिकारी प्रमुख अतिथि, प्राज्ञपरिषद्का पूर्व सदस्य सचिव जीवेन्द्रदेव गिरी, पूर्वमन्त्री शान्ता मानवी, अनेमसङ्‌घ कला, साहित्य विभागका संयोजक रञ्जु पोखरेल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । मनोहर माध्यमिक विद्यालयका नि. प्रधानाध्यापक कमला पौडेल, सोही विद्यालयका नेपाली विषय शिक्षक शान्ता अधिकारी र राष्ट्रिय जनसाहित्यिक सङ्‍घ, निबन्ध विभागका सदस्य अच्युत घिमिरेको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्षले विद्यार्थीलाई निबन्धलेखन प्रशिक्षण र कार्यशालाको औचित्य प्रष्ट पार्नुभयो भने प्रमुख अतिथिले सहभागी विद्यार्थी तथा सहआयोजक विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय जनसांस्कृतिक महासङ्‍घअन्तर्गतका विभिन्न घटक विद्यार्थीको प्रतिभा प्रस्फुटका लागि आगामी दिनमा अन्य विभिन्न कार्यक्रम आयोजना गर्न तत्पर रहेको विचार व्यक्त गर्नुभयो । विद्यालयका तर्फबाट नि. प्रधानाध्यापक कमला पौडेलले शिक्षा घोकन्ते नभई व्यावहारिक हुनुपर्छ भन्दै आजका कार्यक्रमले सैद्धान्तिक र व्यावहारिक दुवै पक्ष समेटेकामा खुसी प्रकट गर्नुभयो । 

सहभागी विद्यार्थीका तर्फबाट बोल्दै लक्ष्मी कटुवालले प्रविधिको प्रयोग गर्दै सिकाउँदा सजिलैसँग निबन्ध लेख्‍न सक्ने भए जस्तो लाग्यो भन्ने विचार व्यक्त गर्नुभयो । सहभागी विद्यार्थीकै तर्फबाट बोल्ने सुजिता गुरुङ, क्षितिज शिवाकोटी र दीपा पन्थीले कार्यक्रमबाट निबन्धसम्बन्धी धेरै कुरा सजिलैसँग जानेको विचार व्यक्त गर्नुभयो ।

करिब साढे दुई घण्टा सञ्‍चालन भएको उक्त कार्यक्रम अध्यक्षको आज्ञामा सोमनाथ दाहालबाट समापन गरियो ।