मृत्यु कोरल्दै छु म
मृत्यु मेरो साथी
मसँगै आएको आएै छ
१९९९ चैत्र पच्चिसमा
जसै आएँ धरती माताको काखमा
सँगै आयो पछ्याउँदै आयो
र जिन्दगीभर पछ्याउँदै रह्यो ।
दुई हजार दश सालमा
उसले मलाई
एक मुक्का ठोक्यो
लहरे खोकी बनेर
माफी मागें गल्ती भयो भनेर
पचास–साठी भेटी चडाएँ
छोडी दियो
म रमाएँ खुव रमाएँ
सम्झें साथी हो माया मार्यो ।
राम्रै थियो मिलेकै थियौं
फेरि बिस वर्षपछि
के लाग्यो कुन्नि के भयो
अर्को मुडकी छातीमा बजार्यो
म बर्सौँ ध्याकर–ध्याकर भएँ
ऊ रमिता हेरिरह्यो ।
पन्ध्र बर्षपछि
बल्ल तल्ल ऊसँग सम्झौता भयो
पच्चिस हजार भेटी चढाएँ छोडिदियो
मिलेकै थियौ रमेकै थियौं
आठ बर्षपछि फेरि ऊ रिसायो र
मेरा दुवै घुँडामा मुडकी बजार्यो
बर्सौँसम्म हल न चल भएँ
ऊ मस्त हेरिरह्यो मलाई ।
त्यस्तै खै के रिस उठ्यो कुन्नि
फेरि के लहड चल्यो उसलाई
मेरो मुटुमै अक्रमण गर्यो
हृदय गति पच्चिस–तिसमा पुर्याएछ
यस पटक गरी
मलाई पाँचौ पटक पछार्यो
तर अइज भन्ने आँट गरेन
मेरो होस खाइदिएछ
देब्रे अङ्ग लुलो बनाएछ
विचरा ! मेरा जहान, छोरा–छोरीहरूले
लम्पसार परेर हात जोडेछन्
उसलाई पनि काठमाडौँ घुमाएछन्
दुई–चार लाख दान भेटी चढाएछन्
उसको चित्त यतिमै बुझेनछ
मेरै रगत पनि अलिकति चढाएछन्
हुँदै गरोस् न त
पछि आउँला भन्दै बिदा भएछ ।
कहिले आएर के–के माग्ने हो
कति पटक बजार्ने हो मुड्की
कुनचाँहि अङ्ग
बाँकी होला र छुन उसले
के–के बाँकी होला र
सँगै आएथ्यो छायाँ झैं बनेर
पर्खिबसेछ लिई जान्छु भनेर
दुःख साध्य दिईकन कष्ट कति हो
कहिले सँगै लाने हो पत्तै नहुने भो ।
लेखकको सम्वन्धमा