मान्छे !
मान्छे औकात बाँचिरहेछ
नापिरहेछ चन्द्रमा छोएर
ग्रह, उपग्रह, अन्तरिक्षको
अनुसन्धाता बनेर ।
मान्छे औकात छामिरहेछ
कहिले स्म्याग, हेरोइन ओरेर
विवेक शून्य बनेर
सडक पेटी गल्लीमा लडेर ।
मान्छे औकात छोपिरहेछ
बलत्कारी, भ्रष्टचारी
अधर्मी, दुराचारी
चेतनाशून्य बनेर ।
मान्छे भारी बिसाइरहेछ
औकात धान्न नसकेर
क्रूर पशुत्व सिंहारेर
प्राकृतिक नाङ्गो बनेर ।
मान्छे औकात बाँचिरहेछ
बुद्ध, क्राइस्ट, गान्धी बनेर
मान्छे औकात बाँचिरहेछ
सुकरात, मार्टिन, लुथर बनेर ।
मान्छे औकात बाँचिरहेछ
स्वेच्छाचारी, परपीडक भएर
तिम्रो औकात नाप मान्छे
आफ्नो हैसियत नाप मान्छे ।
बाँच मान्छे बुद्ध भएर, राम भएर
क्राइस्ट र कार्लमाक्स भएर
आऊ मान्छे दया–प्रेम, सद्भाव लिएर
बाँच मान्छे औकात आफ्नो भएर ।
खोइ मान्छे आफ्नो औकात बाँचेको ?
खोइ अलिकति आफ्नो ज्ञान बँचाको ?
खोइ के हो मान्छे मानवता बाँचेको ?
खोइ मान्छे आफ्नो औकात बाँचेको ?
बाँच मान्छे आफ्नो औकात बाँच
नाप मान्छे आफ्नो औकात नाप
मान्छे हुनुको आफ्नो औकात नाप
मान्छे भएसि आफ्नो हैसियत नाप ।
लेखकको सम्वन्धमा