मरुभूमि
म आज आकाश बन्द
खोलेर ग्यान चक्षु
आफ्नै मौनता सुन्दै छु
तर
मेरो वक्षस्थलको बलेसी
खसेर जम्दा
त्यो कपुरको बोट
शीतका थोपा तप्प
बास्ना उड्न हतारिँदै छ
म आज तुलसी बोट
गोबर, बिस्कुन पखाली
रश्मिको चिसो सेक्दै छु
तर
मेरो गोठ खाली बथान
सुतेर बकुल्ला, कोइली र काग
बन्द मेरो घ्यम्पो खाग
त्यसै चिसो अगेनो ताप्दै छ
किनकि
मेरो सूर्य पश्चिमबाट उदाउँछ
बाफिलो पसिना र अध्यात्म
हराएर मेरो न्यातपोल
खोज्दै छु रामनामी म
मैनबत्तीको पग्लाई
आगो जमेर टक्क
गिज्याउदै छ आज, हिजो र भोलि
किनकि
बिबस मेरा बगेका केशहरू
बौद्धिकता बन्दकी राखेर
मरुभूमि मृगस्थली रोप्दै छु
बालुवा बगोस् वा काँडा फुलोस्
आँसु हाँसोस वा खुसी रोओस्
फरक नपर्ला
किनकि
गलैँचा हो कि छ्याप्दै छु
म मरुभूमि मृगस्थली जोत्दै छु ।
लेखकको सम्वन्धमा