म जाँदै छु आमा !

यही सुवासिलो माटोलाई
यिनै दश नङ्ग्राले कोरेर
गरिरहन मन थियो परिश्रम
बगाइरहन मन थियो पसिना
आफ्नै नङ्ग्रा खियाएर
आफैँ पसिना बगाएर
यही सुगन्धरुपी माटोसँग
रमाउन मन थियो
खुब खेल्न मन थियो
माटाको अँगालामै लेटिन मन थियो
मेरो सबै यौवन यतै साट्न मन थियो
यस्तो चाहाना हुँदाहुँदै पनि
म जाँदै छु आमा ! यही माटो छोडेर ।
आमा !
हजुरको न्यानो काख छोड्न मनै छैन
यो समय
यो मौसम छ नै यस्तै
एक मजदुर
कृषि क्रान्तिकै खातिर
आफू विचौलिया र भ्रष्टहरूबाट
लुटिएको आवज उठाउँदै
आफ्नै शरीरमा पेट्रोल छर्किएर
आगो झोसेर
अनाहकमा देह त्याग्छ
सरकार चुपचाप रहन्छ
जनता मूकदर्शक बन्छन्
यही देशको एक नागरिक
एकै पलमा अनागरिक घोषित हुन्छ
जनताकै त्याग तपस्या र बलिदानले
एउटा राजा फालेर
धेरै महाराजा जन्मिएको
यस गणतन्त्रात्मक थलोमा
महामहिम भनाउँदा उपनामेहरू रोडमा निस्किदा
विचारा मजदुर आफ्नो काममा जान पाउँदैन
बिरामी त्यही बाटो भएर अस्पताल पुग्न पाउँदैन
ड्युटीमा खटिएको डाक्टर अनाहकमा कुटिन्छ
मजा लुट्ने अर्कै
रोडमा बाधा गर्ने अर्कै
आदेश दिने अर्कै हुन्छ
तर,
माथिबाट दिएको आदेश मान्ने व्यक्ति निलम्बन हुन्छ
त्यसैले म जाँदै छु आमा ! यही माटो छोडेर ।
काम बिगार्नेहरू
सोझासाझा जनतालाई भड्काउनेहरू
आफ्नो स्वार्थका लागि भ्रमको खेती गर्नेहरू
ठुला महलबाट निहाल्छन् गम्किन्छन्
सडकमा उही गरिब निमुखा र मजदुरहरू
आन्दोलन गर्छन् र अशान्तिको खेलमा लीन हुन्छन्
सडक युद्ध गर्छ, भावविह्वल हुन्छ,
मुर्छित हुन्छ र मर्छ
कहिले सडक आवेगमा बोल्छ
कहिले सडक आफैँलाई भतभती पोल्छ
आजभोलि हरेक काम सडमै हुन्छन्
हरेक कामको फाइदा महलले लुट्छ
त्यसैले,
म मेरो यौवन यही सडकमा पोख्दिनँ आमा !
जसबाट म गाँस, बास, कपास पाउँदिनँ
मलाई थाहा छ
आमा ! हजुरलाई रुपैयाँ होइन छोरो चाहिएको हो
यो माटो छोड्न
हजुरको न्यानो कोख छोड्न
हजुरको ममताबाट विमुख बन्न
म विवश छु ।
लेखकको सम्वन्धमा