May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार

एक प्रार्थना !

यो कस्तो जिन्दगी हो मेरो
मोडमा आएर अड्किएको छ
न सुखलाई अँगाल्न सकिरहेको छु
न दुःखलाई भुल्न सकिरहेको छु
आजसम्म कसैको झुटो आशामा
बाटो हेरिरहेको छु
ऊ आउने आशालाई
हृदयमा सजाइरहेको छु

झुुटा थिएनन्
यो हृदयले गरेका बाचाहरू
झुटा होइनन् आँखाका आँसु
अनि झुटो होइन
लाखौं पीडा भुलेर निस्किएको मुस्कान

भन्नेहरू भन्छन्-
जस्तो कर्म त्यस्तै फल
कुनै नराम्रो कर्म गरे जस्तो त लाग्दैन
अनि सम्झन्छु-
कि झुटो हुनुपर्छ यो भनाइ !
कि भाग्य र परिस्थितिलाई दोष दिएर बस्‍नुपर्छ
कि आफैँलाई जिउँदो लास ठान्नुपर्छ 

भुलेर यी सारा कुराहरू
भुलेर यी सारा पीडाहरू
एक मन्दिर धाइरहेछु
एक प्रार्थना गरिरहेछु
एक बिन्ती गरिरहेछु
एक मिलनको आशामा
आफ्नै मनलाई सम्झाइरहेछु ।