January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

विचार वृक्ष

मेरो अञ्जुलीभरको मस्तिष्क
उर्वर, पोषक अनि स्वसेचित !
जसको गर्भाशयमा रोपिन्छ एक भ्रूण विचार
मेरो या कसैको !
र सुरु हुन्छ मेरो गर्वाधारण क्रिया
अनि हुर्कन्छ बिस्तारै बिस्तारै
कुनै नरभक्षी मानिसझैँ
विचार खाएरै हुर्कन्छ मेरो विचार
म अनिश्चितातामै हुर्काउँछु उसलाई
किनकि
उसको विकासको कुनै सीमा छैन
न त आकारको टुङ्गो नै
म त केवल हुर्काउँछु, स्याहार्छु
किनकि
सायद मभित्र ‘म’ भन्ने कुनै पात्र छैन
छ त मात्र एक अंश, केवल विचारको
मलाई थाहा छ-
एक मुठी मस्तिष्कको सीमाभित्र बसेर
म अनन्त र असीमित संसारको

वर्णन गर्न खोज्दै छु, पूर्वाग्रहको व्याख्या होइन
मलाई लाग्छ-
मस्तिष्कको उर्वर भूमिमा हुर्कँदै गरेको
एक पोथ्राको आडमा
म बौद्धिकताको जाल बुन्दै छु
सूचनाको घुम्टो होइन

कुनै माझीले पोखरीमा
माछालाई जाल हाने जस्तो
म बौद्धिकताको जाल फैलाउँछु
निरपेक्ष सत्यको सिकारमा 
सायद झिनो अन्तर
माझी भोक मेट्न चाहन्छ
म स्वाद फेर्न चाहन्छु 

हरेक पटक फर्किएको
अर्ध सफल जालसँगै
म पुन: मेरो विचारको सिँचाइ गर्छु
अनि खोज्छु, कवितामा तथ्य, तथ्यमा छन्द
गोडमेल, मलजल
अनि
विरलै गरिने काटछाँटसँगै
मस्तिष्कको गहिराइसम्म
जरा गाड्छ मेरा विचारले

अब बोटको माली मात्र होइन
बोट मेरो मालिक पो भइसकेझैँ लाग्छ मलाई
तर अहँ
म त माली नै हुँ
नाटक गर्दै छु
बौद्धिकताको झुठो रङ्गमञ्‍चमा
जब नाटकका दुईचार अङ्‍क सकिए
बल्ल चाल पाएँ-
बिज त वृक्ष भैसकेको रहेछ

जब म ब्युँझिएँ
म कुनै वृक्षको छहारीमा सुस्ताएको यात्री होइन
वृक्षको सेपमा अन्तिम सास लिँदै गरेको
अङ्कुर पो भएछु !
हो त्यही विशाल वृक्ष
जसलाई मैले नै उब्जाएको थिएँ
त्यही वृक्ष, विचार वृक्ष ।