सोनाम ल्होसार
सोनाम ल्होसार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, हयाल्मो तथा बौद्धधर्म मान्ने अन्य अन्य जातिहरूको साझा पर्व हो । यो चाड किसानहरूले बालिनाली भित्र्याएपछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ हो । त्यसैले तामाङहरू ‘सोनाम ल्होसार’ लाई नयाँ वर्षको आरम्भका रूपमा मनाउने गर्छन् । उनीहरू ‘ल्हो’ अर्थात् वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । ती बाह्र वर्षका नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएका हुन्छन् । ती हुन- मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर वर्ष । यी बाह्र वर्षलाई बाह्र राशिको रूपमा लिने गरेको पनि पाइन्छ । बाह्र वर्ष सकिएपछि वर्षका नाम दोहोरिन थाल्छन् ।
ल्होसार सुरु हुनुभन्दा केही अघिदेखि नै घरमा रङ लगाउने, नयाँ लुगाफाटा सिलाउने, किनमेल गर्ने गरिन्छ । यसै गरी खाप्से (मैदाबाट बनाइने एक प्रकारको रोटी) बनाइन्छ । लोफुत (अन्न रोपेर उमारेको जमरा) लाई नयाँ वर्षको बालीका रूपमा पूजा गरिन्छ । ल्होसार सुरु हुनुभन्दा दुई दिनअगाडि नै गुम्बाहरूमा पुरानो वर्षका ग्रहदशाहरूले नयाँ वर्षमा निरन्तरता नपाउन् भनेर ग्रहदशा शान्त पार्न र पुरानो वर्षलाई बिर्सन पूजा गरिन्छ । यो पूजा सक्नासाथ अधिकांश गुम्बाहरूमा पर्वको विदा हुन्छ र लामाहरू ल्होसार मनाउन आआफ्ना घर जान्छन् । अचेल नेपाल सरकारले पनि यस दिन सार्वजनिक बिदा दिई ल्होसारप्रति न्याय गर्ने प्रयास गरेको देखिन्छ ।
ल्होसारमा घरका भित्री भाग पूरै सफा गरिन्छ । यसरी घर सफा गर्दा निस्केको फोहोरलाई ग्रह दशाको प्रतीक ठानिन्छ । सो फोहोर दोबाटो वा चौबाटोमा फालेर परिवारको ग्रहदशा शान्त पार्ने विश्वास गरिन्छ । यस पर्वमा ‘गुथुक’ खाइन्छ । गुथुक आँटाको डल्लाभित्र सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू, र नुन आदिका ससाना टुक्रा राखेर पकाइन्छ । सबैका भागमा एक एक डल्ला गुथुक राखिन्छ । खानुभन्दा अगाडि कसका भागमा के परेछ भनी गुथुकको डल्लो खोलेर हेरिन्छ । त्यसभित्र राखिएका विभिन्न कुराका छुट्टाछुट्टै अर्थ हुन्छन् । जस्तै : सेतो कपडाको अर्थ कामना पूरा हुनु हो । गहुँको अर्थ सम्पति बढ्ने, कागजको अर्थ विद्वान् हुने, खुर्सानीको अर्थ खरो बोल्ने, कोइलाको अर्थ कपट मन हुने, घ्यूको अर्थ चिप्लो बोली बोल्ने र नुनको अर्थ योजना सफल हुने भनेर लगाइन्छ ।
ल्होसार सुरु हुनुभन्दा एकदिनअगाडि विभिन्न सामग्रीले घर सजाइन्छ । सम्बोटा (तिब्बती) लिपिमा टासी देलेक लेखिएका वाक्यांश र अष्ट मङ्गलका चिह्नहरू घरको खम्बा, भित्ता, दलिनहरूमा लगाई घर सजाइन्छ । यही दिन पूजाकोठालाई विशेष गरी सिँगारेर भगवान्को मूर्ति वा फोटाअगाडि ससाना सात वटा भाँडामा क्रमश: मुख धुने जल (अर्घ्यम), गोडा घुने जल (पद्य), फूल (पुष्प), धुप, छयोमी (आलोक), केशरको जल (गन्धम) र भोजन प्रतीक (नैवेद्य) सजाएर राखिन्छ । विधिपूर्वक पूजा सकिन्छ र नयाँ लुगा लगाइन्छ । धर्म गुरु र मान्यजनसँग आर्शीवाद लिइन्छ । मिठा परिकार खइन्छन् । रमाइलो गरेर ल्होसार पर्व मनाइन्छ । यसैदिन तिथि राम्रो भएमा घरअगाडि राखिएको पुरानो ध्वजा झिकी नयाँ ध्वजा राखिन्छ । त्यो दिन शुभ नभए अन्य शुभ दिनमा ध्वजा फेरिन्छ ।
सोनाम ल्होसार बुद्धधर्म मान्ने तामाङ र हयाल्मो समुदायको मात्र चाड नभएर सम्पूर्ण नेपालीमा सद्भाव अभिवृद्धि गर्ने चाड बन्न सक्ने विश्वास गर्दै सोनाम ल्होसार २०७९ को मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
लेखकको सम्वन्धमा