November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

आदित्य कुमारी

कुरो छसात वर्ष पहिलेको हो । यात्रा लामो थियो । भर्खरै सदरमुकाममा गाडीहरू पुगेका छन् । सदरमुकामले अलिकति भए पनि मुहार फेरेको छ । विद्युत्, केही वर्ष पहिलेदेखि सञ्‍चारले मारेको फड्को र जेनतेन बन्दै गएको यातायातको सुविधा । समग्रमा जिल्लाले विकासमा गति लिएको छ । कतै खाल्टाखुल्टी, कतै भल्ट्याङ्गभुल्टिङ्ग ढुङ्गा त कतै साँघुरो र फराकिलो डरलाग्दो कच्ची रोड । बर्खा लाग्यो कि पहिरोले रोडलाई चकनाचुर बनाइदिन्छ, जताततै भताभङ्ग पारिदिन्छ । अनि यात्रीहरूको मन पनि खिन्न भइदिन्छ । डरैडरमा गर्नुपर्ने यात्रा पनि । गुरुको सानो गल्तीले या त आफसेआफ ब्रेक फेल भयो भने बसभरि भएका यात्रीहरूको ज्यान बुढीगङ्गाको पानीमा मिसिन सक्छ र माछीको चारो हामीहरू ।

अनेक घुम्ती मोडहरूलाई पार गरेर बल्ल कालोपत्रे रोड भेटिन्छ, आछामको साँफेबगर पुगेपछि । त्यो पनि गुणस्तरहीन पातलो लेपोमात्र लाएको रोड । विकासको नाउँमा आएको सबै रकम ठेकेदारको खातामा र ठेकेदारनीको खातामा जम्मा गरेर थोरै रकम लगानीमा कुखुरालाई चारो जस्तै छर्छन् र काम चलाउ भैहाल्छ । हाकिमहरूलाई यस्सो चियापानी खर्च मिलायो भने मुखै बन्द अनि विकास त उही हो । विकासको नाउँमा झोली भर्नेको जमात मात्रै यहाँ ।

अँ प्रसङ्ग त अन्तै मोडिएछ छोडिदिऊँ यी कुरा । म कता जाँदै थिएँ भने बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट काठमाडौँ । साँफेसम्म मसँग चिनेकै साथी थिए । उनको बयालपाटा अस्पतालमा उपचार गर्नुपर्ने भएकाले यतै झरिहाले । अब मसँगैको सिट खाली भयो । मेरो मनमा अनेक कुरा खेल्न थाले लामो दूरीको यात्रामा मसँगै बस्ने मान्छे कस्तो आउँछ भनेर । युवा आउँछ कि वृद्ध, युवती आउँछ कि वृद्धा, काखमा बच्चा बोकेकी पो आउँछ कि मेरै उमेरकै जवान । जो आए नि मलाई बालमतलब ! यौवनले भरिएको मेरो मनले भन्दै थियो भर्खरै बिसबाइसको उमेरकी यौवन सुन्दरी आएर यो सिटमा बसोस् । जोसँग मेरो काठमाडौँको यात्रा तय गरूँ, राति निन्द्राको नाटक गरी उसैको छातीलाई न्यानो सिरानी बानाएर । अनि, चिनजानपश्चात् मिठाई जस्तै कुरा गर्दै र रमाउँदै यो यात्रालाई सफल गरूँ र अविस्मरणीय योग्य पनि । अहिलेसम्म जति यात्रा गरेँ मेरो सिटमा पुरुषमात्रै जहिले पनि । मनले सोचेजस्तो कहिल्यै भएन । तर, यात्रामा दु:ख भने भोगेको छैन आजसम्म कस्सम।

साँफेबगरको बसपार्कमा दुईचार जना चढे । अझै मसँगको सिटमा कोही आएर बसेन । बस हर्न बजाउउँदै रोडमा मिसियो र अघि बढ्यो बिस्तारै । मेरो मन भने निकै खुल्दुलीमा थियो । मसँग बस्‍ने मान्छे कस्तो पर्छ भन्ने पिरलोमा परेर । जस्तो मान्छे भए नि के हुन्थ्यो र मसँगैको सिटमा । एक रातको यात्रामा पनि के चाहिएको हो कुन्नि यो मनलाई, खुलेरै भनौँ मलाई । जो आएर बसे पनि भोलि ऊ आफ्नै बाटो म आफ्नै बाटो तैपनि यो मनको भाव भने बुझ्‍नै गाह्रो ।

अलि रप्तारमा गुढ्यो बस । पुल तरेर प्रहरी चेकपोस्टमा रोकियो । त्यस्तै बिस कटेर एक्काइस चढ्दै गरेको कपालको लट्टा पालेको पातलो र अग्लो कदको गहुँगोरो खलासी भाइले बस नम्बर र यात्रीसङ्ख्या टिपायो पुलिस मामालाई । झ्यालबाट बाहिर हेरिरहेको थिएँ एक्कसी मेरो कानमा ‘एस्क्युज मी सर !’ भनेको भाले स्वर गुन्जियो । मैले उसैलाई हेर्न मुन्टो बटारेर बोलेँ, “हजुर ! भन्नुहोस् ।” “सर माइन्ड गर्नुहुन्न भने म झ्यालमा बस्छु है ।” मुस्कानमा बोल्यो त्यो मान्छे । “सरी ! म झ्यालमै ठिक छु ।” यति भनेर फेरि झ्यालबाहिर हेरें । सोचेजस्तो यात्री भेटिनँ सायद त्यसैले होला उसलाई झ्यालमा बस्न स्वीकृति नदिएको मैले । ऊ बिस्तारै फत्फताउँदै बस्यो । त्यही मुस्कानमा त्यस्तै गरी बोलेर एउटी सुन्दर युवतीले भनेको भए त खुसी भएर झ्यालमा बस्न अनुमति दिने थिएँ होला । अघिसम्मको खुल्दुलीले भरिएको मेरो मनमा एक्कसि कालो बादलले राज गर्‍यो जसरी निलगगनमा चम्किएर यो पृथ्वीलाई तातो किरण छरिरहेको सूर्यलाई कालो बादलले छोपिदिन्छ । आफ्नो मनलाई आफैँले मनमनै “इस ल खा !” भन्दै धेरै लोप्पा ख्वाइरहेँ ।

बस उकालोका घुम्तीहरू मोड्दै अघि बढ्यो सल्लेरीमा । म भने आँखाले भ्याएसम्मको दृश्यलाई निहाल्दै हेरिरहेँ परपरसम्म । हरियाली वनपखा, सुन्दर सानाठुला थुम्काहरू, सेतासेता बादलका धब्बा जस्तै ससाना घरहरू, सल्लेरीका हरेक मोडहरूबाट देखिने साँफेबगरको सुन्दर बजार । यो दृश्य देखेर आहा ! नभन्ने प्राय: कमै होलान् । जोकोही प्रकृतिलाई नजिकबाट निहाल्न सक्छ यहाँ आएर । समग्रमा सुदूरपश्चिमलाई स्वर्गको सुन्दर एक टुक्रा भन्दा पनि फरक नपर्ला । यसमा दुई मतै छैन ।

यात्रा निकैलामो अब त्यो मान्छेसँग जसरी पनि बोल्नु छ । बाटोमा चुप रहेर पनि त म बस्‍न सक्दिनँ । फेरि केही मिनेट म बोलिनँ भने खै के हुन्छ गीत गुनगुनाउँछु । त्योभन्दा अब यो यात्राको साथी यसैलाई नबनाई भएन । तर, बोल्ने पो कसरी ? अघि झ्यालतिरको सिटमा बस्न दिनँ क्यारे, रिसाको होला मसँग । बस त चौखुट्टे भन्ने ठाँउमा पो आइपुगेछ । म त कतिखेर निदाए छु पत्तो पाइनँ । म ब्युझिएँ सबै बाहिर भित्र गरिरहेको देखेर म पनि उठेँ । बाहिर गएर चर्पी गएर आएँ र उही झ्यालतिरकै सिटमा बसेँ ।

“मैले तपाईँलाई चिनेजस्तो लाग्यो ?” मलाई हेर्दै त्यो मान्छे बोल्यो । म कसरी बोलूँ भनेर सोचिरहेका बेला उही केटो बोलेपछि मलाई त ढुक्क भयो । “हजुर ! कतै देख्नुभयो होला ।” छोटो जवाफ फर्काउँदै  झ्यालबाट बाहिर हेरेर बोलेँ म ।

“तपाईं सुरेन्द्र सर होइन ?”

“हो ।” उसैलाई हेर्दै बोलेँ म ।

“सर, नमस्ते ! म आदित्यकुमारी क्षेत्री ।” दायाँ हात अगाडी बढाउँदै बोली आदित्य ।

“आ…दित्य…. कु..कुमारी ?”  मैले पनि हातमिलाउदै उसैलाई निकै शङ्‌कालु नजरले हेर्दै बोलेँ ।

“हो सर ! अनौठो मान्नुपर्दैन । छोडिदिऊँ यी कुरा । मैले त हजुरलाई लेखक भनेर चिनेको छु । आइमिन चिनेकी छु । हजुरको अर्को सङ्ग्रह कहिले आउँदै छ बजारमा ? अधुरो प्रेम उपन्यासको पर्खाइमा छु ल ।”

म त एकोहोरो हेरेको हेर्यै भएँ । कपाल केटीको जस्तो लामो-लामो, स्वर केटाको जस्तो, नाम पनि केटा कै बिचमा फेरि कुमारी मैले केही बुज्‍नै सकिनँ । यसमा कुनै न कुनै रहस्य अवस्य लुकेको छ । यसको रहस्य खोतलेर उजागर गर्नैपर्छ मैले । फकाएर हुन्छ यात कुनै नयाँ आइडिया लगाएर मैले मनमनै अठोट गरें ।

“अँ…., अबको केही महिनामा आउँछ ।”

“अधुरो प्रेम नामचाँहि गज्जब छान्नुभएको छ । मेरो कुरो मान्नुहुन्छ भने अतीत राख्नुहोस् है उपन्यासको नाम । कतै मेरो जीवनमा मेलखान्छ कि के थाहा ! अँ साच्चिकै हजुरको त्यो गजल सङ्ग्रहका हरेक गजल मेरै निम्ति लेखिदिए जस्तै सबै गजलले मेल खान्छ सर ! मसँग । त्यसको नाम पनि बब्बाल छ कुल्चिएको गुलाब ।”

“हो, यति धेरै तारिफका लागि धन्यवाद ! तपाईँलाई । खासै लेखक त होइन यस्सो मन बुझाउन कापीकलम पाएँ भने लेख्छु अलिअलि । साँच्चै तपाईंको घर….”

“सर पनि….! घर यही हो पृथ्वी अनि छानो माथिको आकाश ।” यति बोलेर आदित्य मौन रह्यो ।

म पनि केही बोलिनँ । आदित्यको कुरो हावाजस्तो लाग्यो मलाई । हुन त उसको नाम पनि हावाजस्तै छ । पत्याउनै गाह्रो । कुरा गर्दागर्दै बस दिपायल पुगेको पत्तो नै भएन ।  अँध्याराले बिस्तारै आफ्नो गतिलाई तीव्र पार्दै थियो । उज्यालो दिन रातमा परिवर्तन हुँदै थियो ।

“ल है खाजा खाने भए खानुहोस् सबैले । अब खाना त राति दशबजे हुन्छ ।” ढोकामा उभिएर भित्र यात्रुलाई हेर्दै खलासी भाइ बोल्यो । गुरु बस रोकेर झरिहाल्यो ।

हामी सबै बसबाट ओर्लिएर खाजाका लागि होटेलमा छिर्‍यौँ ।

दुध चियासँग कोकोनट बिस्कु खाएँ मैले । आ-आफ्नो रोजाइको खाजा खाए सबैले । आदित्यले भने एक प्याक लोकल माल मागेर खायो । एक पिलेट ब्वायलर कुखुराको मासुसँग । मैले चान्स मार्ने मौका आयो । यसको सत्यतथ्य कुरो बुझ्नलाई । यसको नामको रहस्य र घरको बारेमा समग्रमा आदित्यको बारेमा ।

“एक प्याक मेरो तर्फबाट है आदित्यजी !”

“जी’ हैन सर ! आदित्य मिस भन्नुहोस् आदित्य मिस ।”

“ओके ! मिस आदित्य ।”

“सरले भन्नुहुन्छ भने त एक होइन दुई प्याक नै स्वाट्टै पार्छु ।” लर्बराउदै बोल्यो आदित्य ।

“अहिलेलाई दुई प्याक नै काफी छ नि । फेरि काठमाडौँसम्मको यात्रा छ भइहाल्छ नि ! किन पिर…..,”

“होइन सर ! म त कैलाली अतरियासम्म मात्र हो ।” मेरो कुरो काट्दै आदित्य रक्सीको ह्वास्स गनाउने सासले बोल्यो ।

“ए ! हो र ? अब बस जान लाग्यो । बाँकी खानाखाने ठाउँमा । अहिले जाऊँ ।”

चिया, बिस्कुट र एक बोतल लोकलको रुपियाँ तिरेर बसमा चढेँ म । सबै यात्री पनि चढे । बसले हर्न बजायो । खलासी भाइले यात्री गन्यो र “जाऊँ गुरु सबै चढिसके” भन्यो । बस बिस्तारै अघि बढ्यो ।

“सर ! म अब झ्यालतिर बसुँ कि ? खाएको सबै आउला जस्तो भएको छ ।” जिङ्ग्रिङ भएको कपाल, रक्सीले गर्दा उसाएका परेलीका डिल, लोलाएका आँखाले मलाई हेर्दै गन्हाउने स्वरमा बोल्यो आदित्य ।

“हस् ! हुन्छ । बस्नुहोस् तर, बाहिरै फाल्नुहोस है माल ।”

“ड..न्ट वरी सरकार, झाल बा…हिरै फाल्ने छु ।”

केही नबोलेरै एक अर्काको सिटमा बदलियौँ हामीले । बाहिर अँध्यारो भइसकेको थियो । बसभित्र भने बल्बको उज्यालो चकमन्नै । कालो मान्छेको अनुहार पनि टिलिक्क टल्किएर उज्यालो देखिने खालको । खलासीले ढोका बन्द गरेर क्याबिनमा बस्यो । कति यात्रीहरू त सुतिसके भने कोही खासखुस कुरा गर्दै थिए । मलाई पटक्कै निन्द्रा लागेन । आदित्यको कुराले पिरोल्नसम्म पिरिल्यो मेरो मन । सायद यो मेरो पहिलो छटपटी हो कसैको बारेमा बुझ्न खोज्दाको । मेरो सिट माथिबाट उज्यालो दिइरहेको  बल्बलाई हेरेर निकैबेर मनमा धेरै कुरा खेलाएँ । दशपन्ध्र मिनेटपछि मनमा हिम्मत जुटाएर बोल्ने मकोसिस गरेँ । अरू कुरा भए भइहाल्थ्यो तर, आदित्यको जीवनको बारेमा अझ यसो भनौँ निजी मामलामा जान्न र बुझ्न खोज्दै छु त्यसैले न हो मलाई सोध्न अप्ठ्यारो लागेको ।

“आदित्यजी ! आदित्य मिस !” हातले कोट्याउँदै झालबाहिर टाउको राखेर बमन गरिरहेको आदित्यलाई बोलाएँ मैले ।

“भ…न्नु…होस्” जिब्रो लर्बराउदै बोल्यो आदित्य ।

“मेरा बारेमा तपाईँलाई सबै थाहा छ । तैपनि, तपाईंका बारेमा मलाई केही थाहा छैन । मिल्छ भने बताउनु न आफ्ना बारेमा ।”

“ओके सर, ओके ! म भन्छु । के थाहा अलिकति ममाथि दया र माया जाग्यो भने मेरैबारे उपन्यास लेख्नुहुन्छ कि । मेरो यो यथार्थ कथाले मन छोयो भने लेख्नचाहिँ नबिर्सिनु नि सर ! म  पाठक भएर आफ्नै जीवन कहानीको बारे हजुरले लेखेको उपन्यास कुनै दिन पढ्न पाइहल्छु कि । तर सर ! नामचाहिँ च्यान्ज गरेर है ? आदित्य पात्र बनाएर होइन ।”

“ओके, हस ! त्यसका लागि पिर गर्नुपर्दैन मिस आदित्य ।”

“हजुर त पत्रकार पनि, लौ कहाँबाट सुरु गरूँ म ? आदिबाट, मध्यबाट या त अन्त्यबाट ? प्रश्न गर्नुहोस् मलाई । फेरि छोटो प्रश्नको लामो उत्तर आउने छ दिक्क नमान्नुहोला ।”

फेरि ह्वाल्ल उल्टी गर्‍यो उसले । त्यही मौका छोपेर मोबाइलमा रेकर्ड सुरु गरेँ मैले ।

“सरी सर, अब सुरु गर्नुहोस् प्रश्न ।”

“खासमा तपाईंको घर कुन ठाउँ हो ?”

“अब, घर त अघि भनेँ नि त्यही हो । खासमा म जन्मेको आजभन्दा बाइस वर्षपहिले धनगढी बजारको रातोपुल नजिकै सडक पेटीमा हो अरे । खै मेरो बाको हुन् पत्तो छैन, आमाले मलाई सडकमा जन्म दिँदा प्राणै त्यागेर माथि भगवान्‌कोमा गइहालिछन् । मलाई आमाकै समूहका एक जना अङ्कलले स्याहारसुसार गरेर हुर्काएछन् । सडकपेटीको बास, नाङ्गो शरीर, खाली पेट, हिँउदको चिसो, बर्खाको गर्मी र बर्से पानी, धुलोमाटोको लडीबुडी, लामखुट्टे र उडुसको टोकाइ त्यो भन्दा पनि बिनाबाउको छोरो, जन्मदिने आफ्नी आमाको हत्यारो म । यति भने बुझिहाल्नु हुन्छ सरले ।” आँखामा आँसु पुछ्दै बोल्यो आदित्य ।

मैले पहिलेको भन्दा अलि ठुलो सास फेरेर भनेँ, अनि पढाइ ?

“मलाई स्कुल कसले पठाइदेओस् ? मेरा लागि “कालो अक्षर भैंसी जस्तै” अङ्कल जता जान्थे उतै लान्थे काममा होस् चाहे बटुको बोकेर माग्न । जब म पाँचको भएँ बजारमा डुलेर माग्न थालेँ दिनभरिको कमाइ कहिले पचास हुन्थ्यो त हकिले सय । सातआठको हुँदा माग्न छोडेर अङ्कलसँगै मिस्त्रीको काम सिकेँ । मेरा लागि बाआमा जे भने पनि अङ्कल नै हो । बिस्तारै घरमा रङ लगाउने काम पनि सिकियो । अब, यो प्याक त उहिल्यैदेखि हो खान सुरु गरेको । चिसोतातो, लामखुट्टे, उडुस र मनमा उब्जिएको पिरर ब्यथाको अचुक औषधीको काम गर्ने एकै गिलास भए पनि….”

फेरि ह्वालै गर्‍यो झ्यालबाहिर टाउको हालेर अनि लामो सास फेर्‍यो आदित्यले ।

“अनि त्यसपछि…?” म बोलेँ ।

“अङ्कल र मैले सनोतिनो कामलाई जिम्मा लिँदै अरूलाई पनि हामीसँग काममा लगाउँदै अलिअलि जम्मा गर्दैगयौँ र हसुलियामा सानो जग्गा किनेर त्यसैमा काठले बारेर फुसले छाएको छाप्रो हाल्यौँ बस्नका लागि । म र अङ्कल सडकपेटी छोडेर आफ्नै छाप्रोमा बस्दाको त्यो खुसीको दिन कसरी व्यक्त गरूँ म हुजुरलाई ।”

आदित्य बोल्न छोड्यो ।

मैले लामोसास फेरेर भनेँ, “अनि तपाईँको नाममा कुमारी किन ?”

“धनीगरिब, लुलोलङ्गडा, लाटोबहिरो, अन्धासबैलाई जवानीले एकनएक दिन छुँदोरै’छ ।  त्यसैको सिकार म पनि बनेँ सोह्रसत्रको उमेरमा । त्यसैको परिणाम हो यो मेरो उपमा । हाम्रो छाप्रो नजिकैको गाउँको थारू जमदारकी छोरीसँग मेरो हिमचिम बढ्यो । ऊ आठ कक्षामा पढ्दै थिई । बिस्तारै एकर्कालाई माया गर्नथाल्यौँ । जे जे हुनुपर्ने हो सबै काम हुँदै गयो हामीमाझ । ऊ दश कक्षा जाँदासम्म हामी जोईपोइजस्तै भइसकेका थियौं । बिहे गर्ने सोच बनाइसकेको थिएँ मैले । उसले पनि बिहे गर्नुपर्छ भन्दै थिई । एसएलसी परीक्षा सकेर बिहे गर्ने कुरो  पक्कापक्की भइसकेको थियो । मलाई अलिअलि पढ्न पनि सिकाएकी थिई थरुनीले । यो कुरो मेरा अङ्कललाई मात्र थाहा थियो, त्यो पनि मैले भनेर । बिस्तारै हाम्रो मायाको कुरो बाहिरियो..” फेरि लामो सास फेर्‍यो र कपालमा हात राखेर उज्यालो दिरहेको बत्तीमा हेर्यो आदित्यले ।

रक्सीको गन्धले मलाई सास फेर्न गाह्रो बनायो मुखलाई हातले छोपेँ र बोलें । “अँ त्यसपछि….”

“हाम्रो छाप्रोमा बसिरहेका थियौँ अङ्कल, म र त्यो मेरी हुनेवाली थरुनी । चारपाँच महिनापछि फर्किने गरेर भोलि हामी तिनै जना भागेर इन्डिया जाने सल्लाह हुदैँ थियो । हामी इन्डियामै  बिहे गर्नेवाला थियौँ । एक्कसी हाम्रो छाप्रोमा थारूहरूको गाउँ नै उप्किएर आयो । हामीलाई आफ्नै भाषामा गाली गर्दै कुट्न थाले । त्यो थरुनीलाई पनि कुटेर लिए ।

‘टैले ठारुनीसँग बिहे गर्ने ? के छ टेरो टागट ? पढेलेखेकी ठरुनीलाई डु: डिने ? टो अब बाँछे ट बिहे गर्लास् ।’ यस्तै यस्तै भन्दै कुटीरहे हामीलाई । म बेहोस भएँ ।

जब बिहान होसमा आएँ रगतमा लतपतिएको पाएँ आफैँलाई । छाप्रो पनि भत्काएर तहसनहस पारेको देखें । अब हाम्रो छाप्रो पनि रहेन । थारूको कुटाइले सास नै उडिसके छ अङ्कलको । मलाई कर्म दिने अङ्कल पनि मसँग रहनु भएन । मेरो लिङ्गबाट रगत बगिरहेको देखेँ । त्यहाँ हातले छामेँ  मेरो त लिङ्ग नै छैन । काटेर फालेछान् । म विछिप्त भएँ । म रुँदै फेरि बेहोस । दिउँसो पुलिस आएछन् । मलाई सेती अञ्चल अस्पतालमा ल्याएछन् । अङ्कललाई उतै जङ्गलमा गाडेछन् । जब म होसमा आएँ अस्पतालको बेडमा पाएँ । मलाई कर्म दिने बाले पनि मेरै कारण अकालमा परान त्याग्नु पर्‍यो । मेरा यी हातले दागबत्ती दिन पाइनँ ।” रुदैं बोल्यो आदित्य ।

मैले न मन नत आँखा नै थाम्न सकेँ । मुटु भक्कानिएर आयो । आँखाबाट आँसु झरे । दुवै हातले आँसु पुछेँ मैले ।

“मर्न धेरै कोसिस गरेँ, सकिनँ । काल नआई जे गरे नि मर्न गाह्रो हुँदोरहेछ सर ! अब म केटा रहिनँ सर ! म गेय भएँ, छक्का भएँ, छोरा भएर पनि नपुंसक भएँ । त्यसैले मेरो नामको पछाडि कुमारी म आफैँले थपेँ र म आदित्य कुमारी क्षेत्री……”

“हे भगवान् यत्रो खेल खेलिस यो अनाथ माथि ? जो बल्ल त सडकको बास छोडेर  सानो कटेरोमा रमाउँदै थियो । यसको खुसी देख्न नसकेर फेरि गेय बानाएर सडकमै डोर्याइस् । कस्तो हो यो तेरो लीला पनि ?” मनमनै भगवान्‌लाई सम्झिँदै लामो सास फेरेँ र आँसु पुछेँ फेरि ।

“अनि त्यो जग्गा ?”

“लथालिङ्ग सर ! फेरि फर्केर कहिल्यै गएको छैन त्यो ठाँउमा ।”

“त्यो केटीसँग फेरि भेट भएन ?”

“भएन । भएर पनि के गर्नु ? जसले मेरो यो गति बनाइदिई ।”

रातिको खाना खान बिर्सियौँ हामी दुवै जनाले  । बिहानीको झिसमिसे उज्यालोसँगै बस अत्तरिया पुग्यो । आदित्य अत्तरियामा झर्‍यो । मैले फोन नम्बर दिएँ “काठमाडौँ आयौ भने भेट्नु” भनेर ।

“सर ! उपन्यास प्रकाशित भयो भने नबिर्सिनु है मलाई ।” बसबाट झर्दा हात मिलाउँदै बोल्यो आदित्य । “हस्” भने मैले ।

बस अत्तरियाबाट अघि बढ्यो । आफ्नो गन्तव्यका लागि । सुखडबाट मसँगैको सिटमा मैले सोचेजस्तै गुलाबी उमेरकी युवती आएर बसी । मैले कुनै चासो नै दिइनँ किनकि मेरो मनमा आदित्यले डेरा जमाइसक्यो । मैले आदित्यकै बारेमा सोचिरहेँ, बाटोभरि सम्झिरहेँ बेलाबेलामा ।