December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

हातको कथा

केशव कक्षाका असल छात्रमाध्ये एक हो । ऊ गुरुले पढाएको ध्यान दिएर  सुन्छ । परीक्षामा पनि राम्रो गर्छ तर कक्षा सकेर बाहिर निस्कनेबित्तिकै उसलाई आफना दुई हातले के गरौँ के गरौँ  जस्तो लाग्छ । ऊ ढुङ्गाका टुक्रा टिपेर हुत्याउन थाल्छ । आकाशतिर हुत्याएका बेला खसेर उसलाई लग्छ । ऊ त्यसको मतलब राख्दैन । कहिले लठ्ठीका टुक्रा बटुलेर  हावामा हाने जस्तो गर्छ  किनभने उसलाई हात नचलाईकन बस्न मन लाग्दैन । 

स्कुलबाट घर आएपछि पनि उसलाई हात चलाएर के गरौँ के गरौँ जस्तो लागिरहन्छ । अगाडि जे देख्छ त्यही टिपेर हात चलाउँछ । उसकी दिदी किरण अगाडि पर्नेबित्तिकै जे देख्यो त्यही टिपेर हान्छ । कहिले भुत्ल्याउँने, कहिले चिमोट्ने पनि गर्छ । कहिले त दुख्‍ने गरी नै हान्छ । सानो भाइ भनेर दिदी सहेर बस्छे तर एक पटक त ठुलो किताब हुर्याएर हान्यो । दिदीलाई दुख्यो । ऊ रुन लागी । हजुरआमाले त्यो देखिरहनुभएको थियो । केशवको त्यस्तो असाधारण बानी कसरी हटाउने होला जस्तो लागेको थियो उहाँलाई । त्यही मौका पारेर उहाँले “दिदीलाई त्यसरी हान्न हुन्न । त्यसरी हातले कसैलाई पनि दुःख दिनु हुन्न । दिदीसंँग माफ माग” भन्नुभयो । 

उसले “नाइँ, माग्दिनँ । मलाई मेरा हातले के गरौँ जस्तो लागिरहन्छ । अनि म यसरी हात चलाइरहन्छु” भन्यो ।

हजुरआमाले “भरे सुत्ने बेलामा आज म तिमीहरूलाई हातबारेका सबै कुरा भन्छु है” भन्नुभयो । उनीहरू दुवै जना नौलो कथा सुन्न पाइने भयो भनेर खुसी भए । उनीहरूले बेलैमा आफ्नो गृहकार्य सके । उनीहरू हजुरआमाको प्रतीक्षा गरेर ओछ्यानमा बसे । छोराछोरी ज्ञानी भएर बसेको देख्दा उनीहरूका बाबाआमा पनि ताजुब भए ।

उनीहरू हजुरआमाका कुरा तन्मय भएर सुन्न थाले । नातिनातिना आफूसँग टाँसिएर बसेको देख्दा खुसी हुँदै हजुरआमाले कुरा सुरु गर्नुभयो, “हातहरू धेरै प्रकारका हुन्छन् । ठुला मान्छेका हात ठुलै र साना मान्छेका सानै हुन्छन् । फेरि सेता, काला, गहुँगोरा मान्छेहरूका हात पनि त्यस्तै रङका हुन्छन् । हातका कामहरू धेरै हुन्छन् । कसैलाई भेट्नेबित्तिकै हामी दुवै हात जोरेर नमस्ते भन्दछौँ । कुनै ठाउँमा हात उठाएर, कुनै ठाउँमा दाहिने हात एक आफसमा मिलाएर अभिवादन गरिन्छ । देश र ठाउँअनुशार विभिन्न सङ्‍केतद्वारा अभिवादन गरिन्छ । कसैसँग बिदा हुने बेलामा पनि हातै उठाएर  ‘बाई बाई..’ भन्ने चलन छ ।”

“म पनि स्कुल जाने बेला हजुरहरू सबैलाई त्यसै भन्छु नि हगि हजुरआमा”  किरणले भनी । किरणले भन्नेबित्तिकै केशवले पनि त्यही कुरा दोहोर्‍यायो ।

“हो नि ! तिमीहरू स्कुल वा अन्त कतै जाने बेला मलाई त्यसै भनेर जान्छौ ।  कक्षामा तिमीहरू हातले कलम समाएर लेख्छौ । हातले नै किताब पल्टाएर पढ्छौ । हातले नै कलम समाएर चित्र कोर्छौ । हैन त ?” हजुरआमाले भन्नुभयो ।

केशवले उत्साहित हुँदै  “हो नि ! त्यसैले त मलाई हात चलाइरहन मन लाग्छ” भन्यो । 

“तर हातले गर्न नहुने कामहरू पनि छन् । ती काम के हुन् ? केशव तिमीलाई थहा छ ?”

“सजिलो छ तर म भन्दिनँ । यसको उत्तर केशवले दिन्छ।” भन्दै किरणले केशवतिर हेरी ।

केशवले फुर्ती साथ “हातले कसैलाई पिट्न हुन्न । ढुङ्गाले हान्न हुन्न । चिमोट्न हुन्न” भन्यो ।

“यस्तो कुरा मेरा नातिलाई थहा रहेछ तर पनि तिमी किन हात चलाएर दिदीलाई पिट्ने, चिथोर्ने, भुत्ल्याउने गर्दछौ त ?”

“सरी.. ! माफ गर है दिदी । अब म मेरा हातले त्यस्ता खराब काम गर्दिनँ ।  तिमीलाई पनि पिट्दिनँ” केशवले भन्यो ।

दिदीले पनि खुसी भएर भाइलाई माया गर्दै बुझाई “भाइ ! तिमी घरमा मात्र नभई स्कुल वा अन्त कहीँ पनि यति राम्रा हातले कुनै खाराब काम नगर है । खेल्दा कसैले झेल गरे भने पनि पिटिहाल्न हुन्न । त्यसो गर्यो भने झगडा हुन्छ । बरु झेल गर्नेलाई बिस्तारै सम्झाउनुपर्छ ।” 

केशवले पनि “हुन्छ दिदी” भन्यो ।

हजुरआमाले “लुगा सिउने, कम्प्युटर चलाउने, हवाईजहाज तथा अन्तरिक्षयान उडाउने, खाना खाने, बाजा बजाउने, नुहाउने आदि समस्त काम नियमित रूपले गर्नका लागि भगवान्‌ले एक जोडी हात दिएका हुन् । त्यसैले हातलाई राम्रा काममा मात्र चलाउनुपर्छ । हातबाट धेरै नराम्रा र खराब काम पनि हुन सक्छन् । त्यस्ता खराब कामका बारेमा म अर्को कथामा भन्छु है । हाम्रा हातले त्यस्ता नराम्रा काम कहिल्यै पनि गर्न हुन्न” हजुरआमाले भन्नुभयो । 

केशवले “यस्तो कुरा मेरा किताबमा पनि लेखेको छ । किताब ल्याएर देखाऊँ ?” भन्दा हजुरमाले “आज मेरा कुरा सुन्यौ । सुत्ने बेला पनि भयो । भोलि तिम्रो किताब हेरौँला है ।” भन्नुभयो ।

“हस् हजुरआमा” केशवले भन्यो ।

“एउटा कुराचहिँ सधैँ सम्झिरहनुपर्छ । त्यो के भने- ठुलो भए पछि पनि असल कार्य गर्न बुद्धिका साथै हातले पनि मद्धत गर्छ । त्यसैले हातलाई सधैँ असल कार्यका लागि प्रयोग गर्नुपर्छ” हजुरआमाले भन्नुभयो ।

“हस् हजुरमा । अब म कसैलाई पनि हात चलाउदिनँ । दिदीलाई पिट्न मन लाग्यो भने कलम समाएर चित्र  कोर्न थाल्छु ।” 

“अबदेखि म पनि गृहकार्य सकिएअछि बाँसुरी बजाएर रियाज गर्छु” किरणले पनि भनी।

हजुरआमाका कुरा सुनेर केटाकेटी रमाए । हजुरमा खुसी हुनभयो ।