जिन्दगानी !
माथि गुराँसे डाँडाबाट तलतिर हेर्छु
हरिया पहाड पारिला फाँटहरू
सललल बगेको नागबेली तमोर नदी
लहरै उभिएका पङ्क्तिबद्ध सल्ला र धुपीहरू
सुसाएको शीतल पवनले
आँत पल्लवित हुन्छ
कुहुकुहु कोइलीको मधुर गान
कर्णपासमा गुन्जिन्छ,
रमाइलो घमाइलो छ देश गाउँघर
आहा ! मख्ख पर्छु
प्रकृतिको आनन्दमा रमाउँछु
तर मेरो प्रफुल्लित मन बिस्तारै
बादल लागेको आकाशझैँ धमिलो हुन थाल्छ
अनि एकैछिनमा नजरमा
एक दृश्य पर्छ
रमितेबाट उकालो लाग्दै गरेका भरिया
तोक्मामा भारी अड्याएर शिरको टोपीले
पसिना रूपी पिरको धारो पुछ्दै गरेको देख्छु
खुइ काढ्दै केही क्षण सुस्ताएर
फेरि उही उकालामा
सुस्त सुस्त पाइलाहरू उचालिँदै छन्
नाङ्गा पैतालाहरूले आजसम्म
जुत्ता चप्पल देखेका छैनन्
खै नियती हो या अभाग
ललाटमा सुख सायद लेखेको छैन
मुरी हो या कुइन्टल
जिउभन्दा तेब्बर अजङ्गको भारी
पिठ्युँ बाङ्गो पारी
दुईचार थान अधबैंसेहरू
भोकको जिलो जोहो गर्न
न्वारानदेखिको बल लगाएर
उकालो छिचोच्दै छन् …
यतिकैमा एक भाइको बरियाले
भारीको भार भोग्न नसकी
डङ्गरङ्ग लड्छ र ओरालो लाग्छ
ए ! ए ! ए ! भन्दाभन्दै
गुरुत्वले भारीलाई
सयौं योजन तल
भिरमुनि पुर्याइदिन्छ
घन्टौँको यात्रा, दिनभरको मेहनत
अनि पसिनाको मूल्य असुल्ने बेला
भारी भिरमा अल्झिन्छ
न जान सकिन्छ न निकाल्न सकिन्छ
विचरो भरिया
टाउकामा हात राखी रुन खोज्छ
अरू साथी कसो कसो भारी अड्याएर
थुमथुम्याउन खोज्दछन् उसलाई
म मूकदर्शक छु डाँडामा
बसी जो रमिता हेरिरहन्छु
के होला यो ज़िन्दगी गमिरहन्छु ?
अनि सम्झें आखिर जिन्दगी के होला ?
त्यही बगेको तमोरको पानी होला
ऊ कहिले सिधा बाटो सलल बग्दछ
कहिले पहाड, ढुङ्गामुढामा बज्रिँदै
पहरा, पर्वतमा गड्गडाएर बग्छ
कहिले छहरामा छाँगो भएर झर्छ
खोल्सातिर सुसाएर बग्छ
जसै समथर मैदानमा पुग्छ
शान्त र स्थिर गतिमा
सुस्तरी सुस्तरी बग्दछ
लाग्छ थकानले पीडित छ पानी
यस्तै छ हाम्रो पनि जिन्दगानी ।
अप्ठ्यारो बाटोमा लड्दैपड्दै
कतै अल्झिँदै दुख–कष्ट सहँदै
पिर व्यथा र बेदना खपेर
सजिलोमा सहजै चल्छ जिन्दगी
अप्ठ्यारोमा अल्झिन्छ जिन्दगी
घाउको खाटोझैं बल्झिन्छ जिन्दगी
कहिले भारीझैँ गह्रुङ्गो भएर
कहिले हावाझैं हलुको भएर
कहिले घाम त कहिले पानी
यस्तै छ हाम्रो जिन्दगानी ।
लेखकको सम्वन्धमा