December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

कुलत

हिँड्छन् आजका युवा
ओठमा चुरोट च्यापेर
गछर्न् मिहेनत उनीहरुका बाआमा
सबै दुःख पीडा खेपेर ।

जमानाअनुसार चल्न पर्ने रे
खाजाघर नि भट्टी भैदियो
जातले पाको हुँ; खान्छु म त
भन्दै एउटा केटो गैदियो ।

दिनरात खोकेरै बित्दै छ
बिँडी र हुक्का खानाले
निर्दोष श्रीमती मौन भएकी छिन्
लोग्‍ने सुधार केन्द्र जानाले ।

सुँगुरको मासुका लागि
व्रतबन्धको जनाई फुकाल्यो
जुठो लाएपछि खादैनन् कसैले
भनेर बिस्टले घ्याम्पोमा मुख हाल्यो ।

आमा रुदैछिन् बिचरी
छोरो बिरामी भाकाले
कलेजो बिग्रिएछ छोरोको
रक्सी बढी खाकाले ।

पढाउनलाई सहर पठाए उनले
तर चरेससहित छोरो पक्डियो
रिक्सा चलाएर देखेको सपना
आधा बाटो नपुग्दै अड्कियो ।

अन्धकार बन्दै छ जीवन
चुरोट र गाँजाको धुवाँले
तर उज्जवल पार्नु जिन्दगी
भनेका थिए नि बुवाले।

माइत बस्‍नलाई समाजले दिँदैन
घरमा बसूँ बुढो जँड्याहा छ
लागुपदार्थ र कुलतले
महिला हिंसा झन् बढ्या छ ।

भविष्यका कर्णधारहरू
कुलतमा धेरै फस्दै छन्
कलम समात्‍ने हातले
मदिरा समातेपछि
बा-आमा रुदै बस्दैछन्।

आजकाल सङ्ख फुक्छन् गुरुङ दाइ
व्रत बस्छिन् लिम्बुनी
पनण्डितले गीता पढ्न बिर्सिए
लौ हेर रिषिमुनि भए सिसिमुनि ।

लागुपदार्थको धन्दा यहाँ
मौलाउँदै गएको देखिन्छ
कडा सजाय तस्करलाई भनेर त केवल
कानुनमा मात्र लेखिन्छ ।

मन्दिरमा बिहानको घण्टी बज्‍नुअघि
जँड्याहाको मुख बज्‍न थाल्दछ
स्वस्थ र सफा अध्याय सुरु गर
जीवनमा यसले विकार फाल्दछ ।