खै तिमीले बुझेको !
तिमी भन्छौ उडेर आकाश छोऊ
तर खै तिमीले बुझेको,
त्यो आकाश छुने परेवा बाँधिएका छन्
ती गगन चुम्ने रहर कुल्चिएका छन् ।
तिमी भन्छौ धर्ती छोड
आकाशमा उडेका
ती स्वतन्त्र चरा बन
तर खै तिमीले बुझेको,
धर्तीबिना आकाश पनि त अर्थहीन छ
ती स्वतन्त्र चराहरू पनि घर्तीबिना अपूर्ण छन् ।
जीवन आकाशको चरा होइन
धर्तीको धुलो हो
जीवन आकाश छुन होइन
धर्ती चुम्न बनेको हो
त्यसैले तिमीले भनेका कुरा र जीवन अलग छ ।
तिमी भन्छौ-
आइन्स्टाइन, सेक्सपियर र लक्ष्मीप्रसाद
तर ती सब धर्तीमै बिलाए
तिनीहरूको अस्तित्व अझै
धर्तीले इज्जतसाथ गाउने गर्छ ।
तिमी भन्छौ- फूल बन
किन, काँडामा जीवन छैन र !
एक पटक काँडैकाँडाबिच फुलेका फूल
र, फलेका फललाई सोध
काँडाको अस्तित्व र महत्त्व ।
तिमी फूलमा जीवन देख्छौ
तर काँडा पनि अस्तित्वविहीन छैन भन्ने
खै तिमीले बुझेको ?
जीवन मात्र हेराइ होइन
यो भोगाइ पनि हो
जीवंन आकाश छुन मात्र होइन
धर्ती चुम्न पनि हो
जीवन आइन्स्टाइन र सेक्सपियर मात्र होइन
देवकोटाको ‘पागल’ भित्रको पागल पनि हो ।
तिमी जिउनुमा जीवन देख्छौ
मृत्यु पनि त जीवन हो
तिमी ‘मित्र’ भन्छौ
‘शत्रु’ पनि जीवंत नै हो
तिमी स्वतन्त्रतामा जीवन देख्छौ
बन्धनमा बाँधिनु पनि त जीवन हो।
तिमी प्रितमा जीवन देख्छौ
भावनामा बाच्नु पनि त जीवन हो
हो,
जीवन सारा संसार हो
खै त्यो तिमीले बुझेको ?
त्यसैले
तिमी मलाई
आकाश छुन
स्वतन्र हुन
फूल बन्न
र, जीवनको परिभाषा गर्न
आग्रह नगर
जीवन त जिउने एउटा कला हो
जो जसरी पनि जिउन सक्छ ।
लेखकको सम्वन्धमा