March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

एक हुल सपना

ज्ञानेन्द्र रसाइली
इलाम 

बाटेडाँडामा अधिकांश गाउँलेहरू भेला भइसकेका छन् ।

“गाडी हिलामा गाडियो, घुँडासम्म हिलाम्मे छ सडक ! तर पनि चोरबाटो धाइफल हानेर आको !” रमिते ठुल्दाइले पेन्टको बाहुला टक्टक्याउँदै फलाके ।

पारीका दिलबिर काका टुकटुके मोबाइल देखाउँदै भन्नुहुन्छ, “पानी परेर हिजोदेखि बिजुली छैन, घरमुनिको पोल भाँचिएछ, काठको न परो कति थामोस् त ! मोबाइलमा चार्ज नभएर खबर सुन्न ढिलो भो र पनि आइयो ।”

“बर्खाले गर्दा गाडी चल्दैन । सिकुवाभरि बग्रेल्ती सब्जी बजार पुर्‍याउन नपाएर कुहिने भो !” तातो चियाको चुस्कीसँगै गुनासो पोख्छन् भीम दाइ, “खोला–खोल्सी बढेर नानीहरू स्कुल पठाउन पनि बगाउला भन्ने डर छ । न स्कुल नजिक छ ! न त पुल नै !”

पुछारघरकी माहिली दिदी पनि दुःखी मुद्रामा हुनुहुन्छ । “समयमा अस्पताल पुर्‍याउन नसक्दा बच्चा जन्माउन नसकेर कान्छी काकीले दम तोड्नुपर्‍यो । उता खानेपानीको हालत उस्तै छ । घर–घरमा बाँडेको धारोमा पानीको साटो हावाले मिटर घुमाउँछ ।”

दिनभर ताता घाममा पसिना बगाएका कान्छा बाका साहिँला छोरा प्रवीन दाइले खाडीबाट भिडियो कलमा भन्दैछन्, “यसपालिको भोटमा चाहिँ हाम्रै नेतालाई जिताउनुपर्छ है बा ! हाम्रो नेताले साह्रै राम्रो काम गर्छन् ।”

गला नै पुरिने गरी माला, खादा अनि सिंदुरे जात्राले रङ्‌गिएर खुसी मुद्रामा कार्यकर्ताहरूका बिचमा नेताज्यू धेरै वर्षपछि चिल्लो गाडी चढेर आफ्नो जिल्ला र गाउँ आएका छन् अनि मञ्चबाट भाषण दिँदैछन्, “यसपालिको चुनावमा मैले जितेँ भने हाम्रो गाउँमा विकासको मुहान फुटाउने छु । गाउँ–गाउँका बाटाहरू कालोपत्रे गर्ने छु । सुविधासम्पन्न अस्पताल अनि विद्यालयहरू खोलिने छन् । अकालमा ज्यान गुमाउनु पर्ने छैन । देशकै नमुना जिल्लाको सूचीमा हाम्रो जिल्ला एक नम्बरमा पर्ने छ । रोजगारीका लागि विदेश जानुपर्ने छैन ।” साथै अर्को दललाई धित मरुन्जेल गाली गर्नसमेत भ्याउँछन् ।

उपस्थित सबैले साइ साइ र सुइ सुइ पार्दै गड्गडाहटरूपमा ताली बजाउँछन् । खुसीले नाच्छन्, उफ्रन्छन् । योभन्दा पहिलेको चुनावमा पनि यस्तै मिठो सपना बाँडेर जितेको कुरा सबैले बिर्सिए ।

भाषण सकेर नेता लागे अर्को गाउँतिर सपना बाड्न चिल्लो गाडीमा हुईँकिदै अनि गाउँलेहरू पनि लागे आआफ्ना घरतिर पाँच वर्षका लागि एक हुल सपनाहरू लिएर चिप्लो बाटोमा चिप्लिँदै ।