कोजाग्रत पूर्णिमा

साँझको लालित्य क्षितिजले अँगालोमा समाउँदा 
मेरी जून मलाई पर्खिरहेकी थिइन् आकाशझैँ विशाल मुटु लिएर 
मेरैनिम्ति सिँगार गरेझैँ लाग्छ तर न बुलाकी न झुम्का 
बस, गाजल ! त्यो पनि हतारमा आधि माथिल्लो परेलीमा
 
चञ्‍चल नयनले यताउता हेर्छिन्, प्रकृतिले उनैलाई नियालेको आभास हुँदा 
आफ्नो यौवन, आफ्नो आकृति, मनको उन्माद आफूभित्रै समेट्छिन्
विशाल तालजस्तो मनको भावना, गहिराइ उनलाई मात्र थाहा छ 

मलाई टोलाएको देख्दा उनी मन्द मुस्कुराइन्, समय अडयो  
दिनको कामबाट थकित म, आकाशमा जूनलाई नियाल्दा नजर थाकेन 
म आफ्नै कल्पनामा डुबिरहँदा आकाशमा पूर्णिमा उदाइसकिछन्

अलिक घमन्ड गरे नि हुने पूर्णिमाको दाग देखेर 
उनी बेदाग जो छिन् मानौ, पवित्रताको मानक उनी नै हुन् 
बाह्र मासको बरदान ! पीडा सहेर कठोर बन्दिनन् अपवाद जो ठहरिन्

झन् कोमल बन्दछिन् स्वरमा माधुर्य, मुहारमा चमक 
अधारमा लालित्य, गुलाबी यौवन, गाला पुक्क पर्दछन् 
नयनको निश्छलता, बादलु रेसमी केश, उनको आकृतिमा टल्कन्छ 

पूर्णिमामा उनलाई प्रतिबिम्बित देख्छु 
आफ्नो शीतल ज्योतिले मलाई छोइन् 
मध्य रात, मेरो मन तृप्त, लाजले भुतुक्क उनी 
झुकेको नजर, मेरो आधार उनको निधार चुम्‍न खोज्दै 
औँला आकाशतिर, बादलु केश कानतिर मोडिदिएझैँ गरेँ  
उनको मन प्रेमले भरिँदा आफू रित्तिए पनि अघाएझैँ भएँ 
हामी निदाएनौँ, नजर एकअर्काको मुटु पसिरहँदा पुलकित भइरह्यो!

उनको कोजाग्रत व्रत, हाम्रो प्रेम भावले पूर्णता पायो यो पूर्णिमाको रात 
समय गएको पतै भएन, आकाशको अर्को कुना जून पुगेकी थिइन्  
पूर्वको लालित्य, चरीको उडान, गुनगुन गुन्जिँदा, सुनौलो बिहानीले डाक्यो
हामीले आआफ्ना सपना साटी दिनचर्या सुरु गर्यौँ  !