December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

चिर शान्तिको कामना !

त्रिलोक यादव
प्रसादी एकेडेमी
कक्षा : १२

मामाको माया संसारकै प्यारो 
आफूले दुःख सहे पनि 
भान्जालाई दुःखको अनुभूति हुनै नदिने ।

हात समाई समाई हिँड्न सिकाउने
आँखामा आँसु पर्नै नदिने
‘भान्जा ! तिमीलाई दुःखको छायासम्म पनि पर्न दिन्नँ
तिम्रा आँखामा आँसु हेर्नै सक्दिनँ’
भन्ने मेरा प्यारा मामा !
आज मलाई चटक्क छाडेर धेरै टाढा जानुभयो
त्यति टाढा कि
म तपाईँको मयासम्म पनि देख्‍न नसकूँ
तर, किन मामा,
मलाई एक्लो बनाएर जानुभयो ?

हो, तपाईँ छइन्जेल सुखमै हासेँ म
रमाएर नाचेँ म
जब तपाईँको साथ छुट्यो
हात छुट्यो
थाहा छ मामा ? 
मेरा आँखा ओभाएकै छैनन्
मेरो मन सम्हालिएकै छैन
रोई रोई बितिरहेछन्
मेरा क्षणहरू
दिनहरू
सपना र विपनाहरू !
मामा तपाईँले मेरो मन जित्‍नुभयो
मेरो माया जित्‍नुभयो
हाम्रो समाज जित्‍नुभयो 
र, यो सिङ्‍गो संसार जित्‍नुभयो
त्यसैले त हामीभन्दा धेरै टाढा पुग्‍नुभयो
तर, मैले सब हारेँ
सबैभन्दा ठुलो हार
मामासँग टाढिनु नै हो ।

तर, जे होस् मामा
म मेरो मन दह्रो बनाउँछु
आफैँलाईँ सम्हाल्छु
तपाईँको आशीर्वाद शिरमा राखेर
प्रगतिका पाइला अघि बढाउछु
तपाईँको सपना पूरा गर्नुछ मैले
सबैलाई खुसी र सुखी देख्नुछ मैले
त्यसैले मेरा कर्ममा जुट्नुछ मैले
तपाईँ जहाँ रहे पनि
खुसी रहनुस्
शान्त रहनुस्
चिर शान्तिको कामना मामा !
चिर शान्तिको कामना !