गजल

बेथानचोक,काभ्रेपलान्चोक
पद्मकन्या बहुमुखी क्याम्पस,
बागबजार, बि.ए.दोस्रो वर्ष
जिन्दगीको गोरेटोमा एउटा सत्य देखे मैले
त्यहीँ सत्य कायम नहोस्, त्यसैले त लेखेँ मैले ।
निराशा र पीडा, दु:ख ,अशान्तिका कुराहरू
ती त सबै सत्य थिए, त्यसैले त लेखेँ मैले ।
भ्रष्टाचारको दलदल, अनि तहसनहस यत्रतत्र
चस्स दुख्यो मुटु मेरो त्यसैले त लेखेँ मैले।
युवाहरू बेरोजगारी, किसानलाई मल छैन
समृद्धिको कुरा मात्रै, त्यसैले त लेखे मैले ।
महङ्गी र बेथिति छ, कहीँ राम्रो सुन्नु छैन
त्यही थिति सधैं नहोस्, त्यसैले त लेखेँ मैले ।
कतै सुन्न पाए हुन्थ्यो, सरकारको राम्रो कुरा
सुधार्नु छ हाम्रो थिति, त्यसैले त लेखेँ मैले ।
गालीगलौज, हानथाप, आन्दोलनका कुराहरू
पक्कै अब बन्द हुन्छ, त्यसैले त लेखेँ मैले ।
बैराग्य र बेथितिको जालो छुट्ने आशै आशमा,
आशाको दीप बल्यो झट्ट, त्यसैले त लेखेँ मैले।
सुन्दर, शान्त, समृद्धि र ‘सुरक्षा’ को थिति मिलोस्
देश र जनता खुसी बनुन्, त्यसैले त लेखेँ मैले।
लेखकको सम्वन्धमा