इलाम : स्वर्गको स्वर्णटुक्रा
अचानक “सानो पाथीभरा दर्शन गर्न जाऊँ” भन्नुभयो योगेशजीले । “हाम्रो त इटहरी नगै भा’ छैन” भन्दा पनि “पारिवारिक यात्रा हो, जतिखेरै हिड्ने अवसर जुट्दैन, नाईं नभन्नु यसपटकलाई” भन्नुभयो । श्रीमतीलाई सुनाएँ, भुईँमा वचन नखस्तै “हुन्छ” भनिन् । ठुली छोरी काठमाडौँमा र कान्छीको स्कुलले गर्दा अलि असजिलो लाग्दै “ल न त” भनेँ । बिहान ६:३० मा पशुपति अधिकारी, योगेस गुरागाईँ र हाम्रो परिवार चढ्यो स्कोर्पियोमा। तीनै परिवार एउटै लाइनका व्यापारी, एउटै लाइनका छिमेकी, एउटै सहकारीका सञ्चालक र एउटै साहित्यिक संस्था ‘साहित्य कला सङ्गम’ का आजीवन सदस्य ।
झरीले आँखा उघारेकै थिइनन् । रतुवा, कमल, कन्काइमाई र बिरिङ बेग बटुलेर दक्षिण हानिँदै थिए । सानातिना खोल्साखोल्सी पनि “तर्न सक्तैनौ मलाई आज” भन्ने सङ्केत दिइरहेका थिए । चारआली, हडियाबुधबारे, बर्ने, सुनमाई, जोर कलस कतै नबिसाई अर्याल गाउँको चेपेघुम्तीमा फ्रेस गराएर कुटीडाँडाको कछाडमा फुत्त ओराल्यो हामीलाई स्कोर्पियोले । भगवती माईको कुटीलाई शिरमा टुसुक्क राखेर अनन्तकालदेखि उभिएको कुटीडाँडो आज निथ्रुक्क भिजेको ढुकुरझैँ देखिएको थियो । माताजीको बासस्थानलाई दायाँ पारेर भित्रिने अभिलाषाले माथिल्लो बाटो रोज्यौँ हामीले। झरी झरिरहेकै थिइन् । उनलाई छाताले छेक्तै हामी चढिरहेका थियौँ सिमेन्टेड खुड्किलाहरू । अर्याल घुम्तीकी अर्जेल्नी कान्छीले ” स्याउँस्याउँ जुका लाग्छन्, पेन्ट सुर्केर हेर्दै, टिप्तै हिड्नू है” भनेदेखि गोडा सक्सकाउन थालेका थिए सबैका । धाम जाने भनेपछि आजैचाहिँ म पनि पण्डित पहिरनमा ठाँटिएको थिएँ । मेरो कुर्थी सुरुवाल देखेर खुबै व्यङ्ग्य मिसिएको हाँसो हाँसेकी थिइन् अर्जेल्नी कान्छी। उनको हाँसोमा मेरो निराशा गहिरिएको थियो । अहिले बाटैभरि, पाखैभरि, झार बुट्टा र रुखका पातैभरि जुका तन्किरहेका देख्ता उनै कान्छी झल्झल्ती आँखामा छाइरहेकी थिइन् । मेरी कान्छी छोरी गरिमा विद्यालयको डान्स क्लासले पूरै जिउ अररिएर खल्च्याङ्खल्याङ् गर्दै उक्लिँदै थिइन् सिँढी । “ढिलो पाइला चाल्नेका खुट्टामा छिटो जुका चढ्छन् है” भन्ने ओर्लिनेहरूको आवाज सुनेर छर्छरी बगेका तिनीहरूका खुट्टा देखेपछि कान्छीलाई भेट्न मलाई नै धौधौ पर्यो । मेरा जुत्तामा चढेर तन्किँदै गरेका १५/२० जुका माढेर औँलाले फित्कौली हान्दा मात्रै उनका जुत्तामा बल्ल तन्कियो एउटा लाबरकाने जुको । तर तितेपातीको झोल बनाएर मैले जुत्ता वरिपरि दलिदिएपछि तितोले अँगेरीका फूल देखेछन् क्यारे, तिनीहरूको आक्रमणमा एक्कासि कमी आयो ।
पशुपतिजीका ८ बर्से छोरा आर्नेश दौडँदै समूहभन्दा अगाडि पुग्थे र फेरि दौडँदै त्यही बाटो झर्थे । समूहको पुच्छरमै पुग्थे । उनी चराजस्तै उड्दै पटक पटक अगाडि पछाडि गरिरहे तर थाकेनन् । हामी भने एकसरो उकालो पार गर्न पनि फ्याँफ्याँ गरिरहेका थियौँ । भैरव अर्यालका घ्याम्पे, हाँडीघोप्टे भुँडीहरूजति सबै हाम्रै अगाडि आएर झुन्डिएका रहेछन् कि क्या हो ? पाइलै सर्दैन त ! कति छरिता, कति हलुका हुँदारहेछन् बालबालिकाहरू ? आर्नेशलाई हेर्दा आफ्नो भद्दापन आफैँलाई गरुङ्गो लाग्यो । १० जनाको हाम्रो समूहमा केहीलाई जुकाले नराम्ररी आक्रमण गर्यो तर कसोकसो, बालबाल बच्यौँ बाँकी हामी । डाँडामा पुग्दा “जुत्ता खोलेर राख्नुहोस्, फूलको पैसा लाग्दैन” भन्ने छाप्राहरू धेरै भेटिए । धेरै सेवा दिएर थोरै मेवा लिने उनीहरूको व्यापारको ढाँचा हामीलाई राम्रो लाग्यो । हामीले एउटा छाप्रो रोज्यौँ र पूजा सामग्री किन्यौँ । जुत्ता, छाताहरू त्यही बाँसका खबटाका खाटे पसलमुनि घुसार्यौँ र मन्दिरछेउमा व्यवस्था गरिएको ‘हातखुट्टा धुने धारा’ मा चोख्खिएर मन्दिर प्रवेश गर्यौँ । पहिले गणेशजीको र लगत्तैपछि पाथीभरा देवीको पूजा गर्यौँ । दुर्गा, शिव, गणेश र भगवतीका मन्दिर रहेछन् परिसरमा । कतिपय मन्दिरहरू सौजन्यमा निर्माण भएका, कतिपय समितिले चन्दा उठाएर बनाएका रहेछन् । फरक कुरा के देखियो भने जाल्पादेवी छिन्ताङ, पाथीभरादेवी ताप्लेजुङमा छाना हालेका मन्दिर थिएनन् तर सानो पाथीभरामा छानोसहितको मन्दिर रहेछ पाथीभरा देवीको । मैले कारण भनेँ खोजिनँ । फोटोसेसन निकैबेर चलेपछि हामी दोस्रो बाटोहुँदै ओराल्लियौँ मूल सडकतर्फ । लगातार ९ सयभन्दाबढी खुड्किला ओर्लिँदा पिँडुला फर्किए, तिघ्रा कामे, लुलिक् लुलिक् भए गोडा । कक्क्रक्कै पर्यौँ, गाडीमा पसेपछि त झन् । पूजा गर्न जोगाएका हाम्रा खालिपेटहरू अब छट्पटाउन थाले । आन्द्राले रेट्न थाले सुरेश गन्दर्भको धराने सारङ्गी । बाहनमा बसेर हामी तुरुन्तै कन्याम पुग्यौँ र थकाली होटलमा आराम गर्दै खाना मगायौँ ।
नेपालका अति नै मनमोहक ठाउँहरूमध्ये एक हो ‘कन्याम’ । यस्तो सुन्दर ठाउँको मनोरम दृश्य देखिने, चिसो हावा चल्ने सानदार किचनका सोफामा बसेर, पलेँटी कसेर खान पाइने सफासुघ्घर थकाली होटलको नेपाली खाना खाँदा हाम्रो थकान सबै मेटियो । हामी सबै प्रफुल्लित मुद्रामा चिया बगानको स्थलगत अवलोकनतर्फ लाग्यौँ । साथीहरू कसैले घोडामा सवार भएर पूरै बगानको परिक्रमा गर्नुभयो । कोही परिपरिका जातीय पहिरनमा तस्बिरका सफ्ट कपीभित्र कैद हुँदै तुरुन्तै फ्रेमभित्र हार्डकपीमा परिणत हुनुभयो । समयलाई भविष्यका लागि सुरक्षित गर्ने यो राम्रो अवसर हो जस्तो लाग्यो मलाई पनि । एउटा तस्बिर खिचेर फ्रेमिङ गर्ने रहर श्रीमतीज्यूको पनि रहेछ तर छोरी मानिन । उसले दिदी लुनाको खुबै याद गरी । “दिदीबिनाको अधुरो पारिवारिक तस्बिर खिच्न हुँदैन, पछि दिदीलाई कस्तो कस्तो लाग्छ । तपाईंहरू दुई जनाको मात्रै फ्रेमिङ गराउनू , म सँगै बस्तिनँ ।” उसले थकाली होटलमा खाना खान लाग्दा पनि दिदीलाई भिडियो कल गरेर “वी मिस यु दिदी” भनेकी थिई । हामी बुढाबढीलाई पनि नखिचौँ जस्तो लाग्यो । फेरि आमाछोरीको गोप्य वार्तापछि एकल तस्बिर खिचाइन् छोरीले र हामीले जोडीको ।
बाँकी सबै आ-आफ्नै धुनमा मग्न थिए । मचाहिँ कोणधारी सल्लाका रूखमुनि बसेर चियाका बुट्टाहरूसँग बातमार्दै थिएँ । “तिमी कहिले रोपियौ यी पहाडहरूमा ? रोपेर हुर्काउनेहरू जीवित छन् कि गइसके परमधाम ? तिमी कति राम्री छौ है ? न बास्नादार फूलले ढाकिएकी छ्यौ, न स्वादिष्ट फलले लटरम्म भएकी छ्यौ, न सल्लेरीझैँ सिरसिर बतासमा सुसेली गाउँछ्यौ, न इन्द्रधनुषझैँ सिमसिम वर्षामा मात्र उदाउँछ्यौ । तिमी आफैँमा सम्मिश्रण छ अत्तर भरिएको बास्ना र सङ्गीतको सुमधुर धुन । एउटा बेग्लै सदावहार हाँसो र लालित्यमय मुस्कान छचल्किरहन्छ तिम्रो ओठमा हरपल । संसारका सबैखाले मनलाई एउटै रूपले लठ्याउने जादु तिमीबाहेक सायदै होला कोहीसँग । यस्ती सर्वश्रेष्ठ सुन्दरी हुँदाहुँदै पनि तिमीले भोगेजति धेरै पीडा भोग्ने भुक्तभोगी बाँकी कोही देखेको छैन मैले । तिमी काटिएरै जन्मेकी हौ, काटिएरै हुर्केकी हौ । तिमी हजारबार काटिइसकेकी छ्यौ र मृत्युवरण नगरुन्जेल काटिइनै, निमोठिइनै रहने छ्यौ । सधैँ रोएर पनि हाँसिरहने,आँखाभरि नअटाउने सौन्दर्यकाे बिस्कुन फिँजाएर पाखाभरिभरि जग्मगाइरहने, रेटिएर पनि सिर्जना गीत गाइरहने सारङ्गीले भन्दा कठोर, चुँडिएर पनि सौर्न्दर्यको वर्षा गराइरहने तिमीजस्ती सुन्दरी सायदै भेटिएला यो ब्राह्मणमा । तिम्रोजस्तो एकरूपता यदि मान्छेभित्र पनि भैदिएको भए हाम्रो संसार पनि कति सुन्दर हुन्थ्यो होला । तिम्रो सौन्दर्यमा लठ्ठ परेर तिम्रै जवानी निमोठ्छौँ हामी । तिम्रो प्रेममा पागल बनेर तिम्रै हाँगामा सोइसोइला खेल्छौँ हामी । लाखौँ मान्छे आए गए तर तिम्रो घाउमा मल्हमपट्टि लगाउँने कोही आएनन् होला अहिलेसम्म । एक घुट्को पानी पिलाएर गएन होला अहिलेसम्म । र पनि तिमी यति सन्तुष्ट छौ कि लठ्याइरहन्छ्यौ मान्छेका मन रम्भा र उर्वशी बनेर । तिम्रो महानतालाई मेरो लाखलाख सलाम ।
इलामका जताततै पोखिएको देखिन्छ संस्कृति बनेको इलामे जाँगर । उनीहरूले फलाएका काँक्रा सिङ्गो पूर्वीतराईलाई खुवाउने बढ्दो संस्कार । किनभने इलामले आफ्नो फिक्कलमा भन्दा सस्तोमा खुवाउँछ दमकलाई स्कुसका मुन्टा बाह्रैमास । काठमाडौँसम्मलाई सन्तुष्टि दिलाउँछ अकबरेको बास्नाले । भारतको सफाई गर्छ ऊ अम्लिसोले । अलैंची र अदुवालाई पर्फ्युम र कपाल काले बनाउने तेल बनाएर नेपाली जनतालाई नै बेच्न पर्याप्त बनाइदिन्छ भारतलाई । दुधका परिकारहरू आफैँ बनाउँछ इलाम र बेच्छ बम्बइसन, कुराउनी र बेरुवा चकलेटहरूमा । कहिल्यै खालि बस्तैनन् बारीका सुर्का, कान्लाहरू उसका । के उत्पादन हुँदैन र त्यहाँ जहाँ जाँगरको खानी हुन्छ । यो जाँगर, सिप, कला र कौशल संस्कार संस्कृति बनेर बाँकी जिल्लामा पनि फैलिन सके स्वर्गको टुक्रा हेर्न विश्व नै ओइरिन्थ्यो होला ‘नेपाल नेपाल’ भन्दै ।
चियासँग मिसाएर मैले दार्जिलिङ सम्झेँ तुरुन्तै र सम्झेँ राज बहादुर राईको उपन्यास “रङ्दु कमानको परिवेशभित्र” । जहाँ उनले चियाको इतिहास, दार्जिलिङका सारा कमानहरूको स्थापना र विकास, बेलायतीहरूको दूरदृष्टि र नेपालीहरूको जाँगरको तथ्यगत इतिहास एकएक केलाएर पस्केका छन् । एउटा लिम्बू मजदुरले मन पराएकी केटी कमान्डरले लगेको रिसको झोकमा बेस्सरी चियाका रूख ठुन्क्याइदिएर (आधा ढाडमा काटिदिएर) रातारात नेपाल छिरेको र पछि तिनै काटेका ठाउँबाट अत्यन्तै धेरै हाँगा पलाएर उच्च गुणस्तरको चिया उत्पादन भएपछि ब्रिटिस कमान्डरले लिम्बूलाई खोजेर दार्जिलिङ लगी सम्मान गरेको र त्यहीँबाट चियाका रूखलाई कटिङ गरी बुट्टामा परिणत गर्न थालिएको रोमाञ्चक कथा पनि सम्झेँ । कमानका नेपाली मजदुरहरूको जहिल्यैको आर्थिक दूरावस्था सम्झेँ र सम्झेँ यी चियाका बुट्टाहरूलाई यति सुन्दर बनाउने कन्यामका चियामजदुरहरूको कहालीलाग्दो जीवनकथा र पटक पटक भएका मजदुर आन्दोलनहरू ।
म कति समय सम्बादमा हराएँ थाहा छैन तर छोरीले “बाबा” भन्दा झसङ्ग भएँ र “हँ” भन्दै जुरुक्क उठेँ । साथीहरू हिँड्न तम्तयार भैसकेका रहेछन् र म पनि आफ्नो सिटमा गएर बसेँ ।
ओराल्लियो हाम्रो बाहन अघिकै बाटो एक रफ्तारमा । पशुपतिजीकी साली (अर्याल्नी कान्छी)का हातको मिठो चिया पिएपछि सुनमाइका मेरा प्रिय मित्र मातृका निरौलाको घरछेउको “जरेबर” अवलोकन गर्यौँ । टिम्माई खोलामाथिको अक्करे भिरका टुप्पामा हालेको डरलाग्दो फलामे पिङ खेल्न कस्सिए साथीहरू । मैले अघिल्लो यात्रामा देखिसकेको हुनाले टुप्लुक्क पुर्याएँ पिङमा । तर छाँगो देख्तै माया काकीका गोडा लुलिक्क भए । “राम ! राम ! राम ! राम !” भन्दै पर बाटोमै थचक्क बसेर टाउको समाउनु भयो उहाँले । शिवम् र आयुसीको पनि एक नजरमै भाले सातो उड्यो । रक्षा र रेणुका खाँबो मात्रै छोएर ” मेरी आम्मै ! लु भो । राति सपनामा पनि यै सम्झेर ऐठन हुन्छ होला” भन्दै फर्किए । पशुपति र योगेशजी त्यहाँको वस्तुगत यथार्थ बुझ्न थाल्नुभयो । “एकपटक खेलेको पैसा कति हो भाइ ?” पिङ खेलाउने भाइले भने “तपाईंको टोलीबाट पाँच जनासम्मले खेल्नुभयो भने जनही रु. ५००/- का दरले खेलाइन्छ र त्योभन्दा बढीले खेल्नुभयो भनेँ केही डिस्काउन्ट गर्न सकिन्छ ।” “अनि यो कसरी खेलाइन्छ त ?” “यसमा तपाईंलाई बन्जी जम्पमा जस्तैगरी बाँधिन्छ र यो मेसिनको सहायताले हातले घुमाएर खेलाइन्छ । तपाईंले जति हाइट र स्पीडमा खेल्न चाहनुहुन्छ त्यति नै खेलाइन्छ र अब भयो भन्ने बित्तिकै रोकिन्छ ।” श्रीमानहरू अन्तरवार्तामा अल्मल्लिएको देखेर श्रीमतीहरूको मुटुको गति तीव्र हुन थाल्यो । उता आर्नेसले खेल्छु कि खेल्छु भनेर भिरतिरै दगुर्न थालेपछि जोगाउन मुस्किल पर्यो दीपक गुरुजीलाई । श्रीमतीहरू दौडेर गए र आआफ्ना श्रीमान्का हात पकडेर घिसार्दै ल्याए । तानतुन पारेर गाडीभित्र कोच्न थालेको देखेर पिङ खेलाउने भाइहरू डल्लो परीपरी हाँसे । पशुपतिजीले गाडीबाटै “ल है भाइ हो आज यस्तै भयो, अर्कोबाजी हामी केटाकेटा मिलेर खेल्नेगरी आउछौँ ल” भन्दा रक्षा बहिनीले पशुपतिजीको मुखै थुनिदिनु भयो । “ए के गर्छे यो ? नगर्न भन्या ।” अलि अमिल्चो हाँसो हाँस्दै बाई गर्यौँ हामीले पिङलाई र हुइकियौँ बर्नेको चिया बगानतिर । एकछिन स्तब्ध भयो टोली । पिङ नखेल्दै हिउँ बनिसकेका साथीहरूका छाती सेलाउन् भनेर होला मेरी श्रीमतीले कुरा झिकिन् “मेरी बहिनीको घरमा एकैछिन् निस्कौँ है हँडिया- बुधबारेमा।” मैले थपेँ “गर्मी ज्यादै छ, के सालीले कोक ख्वाउलिन् त ? ”
“हैन तपाईंले के ठान्नु भएको छ हौ बाबा मेरी भानु सानिमालाई ? किरानाको होलसेलर, कस्मेटिक्सको होलसेलर, हाइवेमा दुदुईवटा पक्का घर, फेरि त्यस्ती मजाकी सानिमाले, जाबो कोक ख्वाउनुहुन्न होला त ?” गरिमाले निश्चिन्त भएर सानिमाको तारिफ गरी । सबैजना हाँसे र गरिमाको भनाइमा सही थपे ।
हामी टुप्लुक्कै पुग्यौँ सालीघर। उत्रिएर एउटा हातले घाम छेक्तै टाँडमाथितिर आँखा तन्काउँदै थिएँ “ऊ साडुले साली हेर्नुभयो है हातको चस्मा लगाएर” भन्दै साडुभाइ निस्कनुभयो । हाँसखेल गर्दै परिवारसँगको भेटघाटमा मस्त भयौँ ।
साली आफ्नो व्यापारमा अति व्यस्त रहिछन् टाँडमाथि। भलाकुसारीपछि सालीले कोकभन्दा निकै महङ्गो र स्वादिष्ट चकलेटको डब्बा खोलिन् । एक एक थान चकलेट ग्रहण गर्दै चियाको अफरलाई हात जोडेर हामीले बिदा लियौँ र हान्नियौँ जयपुर चौक हुँदै अर्जुनधारा धामतर्फ । सम्झनामा कन्यामको चिसो बोकेर शरीरमा पसिनाका धारा छुटाएको हाम्रो अवस्थालाई बुझ्नुभयो क्यारे भोलेबाबाले पनि, अर्जुनधाराको धारोमा नुहाउने आग्रह नगरी सडकबाटै हाम्रो नमस्कार स्वीकार गरी बाई गर्नुभयो । हामी उही रफ्तारमा आइपुग्यौँ चारपानेको साङ्गवेद विद्याश्रम जहाँ ३०० विद्यार्थी नि:शुल्क अध्ययनरत थिए । जसमध्ये १८० विद्यार्थीले खाना र आवासको पनि नि:शुल्क सुविधा पाएका रहेछन् । निकै फराकिलो र सुरक्षित क्षेत्रभित्र विभिन्न देवी देवताका मन्दिरहरू, विशाल सभाकक्ष, पाकशाला, गौशाला, तीन चार तले विद्यालय भवनहरू, छात्रवास, गुरुनिवास आदि व्यवस्थित भौतिक सुविधाले सम्पन्न संस्कृत विद्यालय देखेर हामी प्रफुल्लित भयौँ । विद्याश्रमको अवलोकनपछि सोही विद्याश्रममा ३५ बर्से शिक्षणअवधि पूरा गरी अनिवार्य अवकाशप्राप्त गुरु पं. पूर्णानन्द तिम्सिना (मायाकाकीका पिताजी) को आतिथ्य स्वीकार गर्यौँ । उहाँले आफ्नै बारीमा आफैँले फलाएको काँक्रो, कागतीपानी र कालोचिया खुवाएर हामीलाई स्वागत गर्नुभयो । उहाँबाट बिदा मागेर हामी पुनः पश्चिम हान्नियौँ ।
बाँकी बाटो रक्षा बहिनीका ठट्यौली र उन्मुक्त हाँसोको आनन्दमा डुबुल्की मार्दै बासस्थानमा आइपुग्दा स्वर्गको स्वर्णपद चुमेर फर्केको अनुभूति भयो ।
(२०७९/०४/१३ गते शुक्रबार)
दमक, झापा
लेखकको सम्वन्धमा