मर्ने मान्छे

केवल अन्तिम सत्यको
सूर्य छेल्न हत्केलाले झैँ
सकेन छेक्न मृत्युलाई
त्यसैले,
इतिहाँस मृत्युकै रचेर
आखिर मरी रहेछ मान्छे ।
तृष्णाका अनेक भुँवरीहरूमा
रचेर पट्यार लाग्दो जीवन
तिखारिरहेछ सिङ्ग घुँडाको
अलाप्दै धिक्कार जिन्दगी !
सकेन काल पर्खन उसले
तृष्णा मेटाउँछ र्यालले
आखिर,
मर्ने न हो, मरिरहेछ ।
तर
ऊ स्वतन्त्रताको सेनानी
खोइ चराझैँ उसको स्वतन्त्रता ?
कामना कुण्ठित मनका
इच्छाएको मरण उसको
तड्पाएरै अनमोल जिन्दगी
आखिर,
मर्ने मान्छे न हो, ऊ मरिरहेछ ।
अहो ! सोचेझैं सरल कहाँ छ र
गर्न आत्मदाह नै पनि ?
नक्कली छ रे विषादी ।
पासो पनि चुडिन्छ रे
हाम फाले विकुंजो भइन्छ ।
हाय ! दैव दशामै लट्पट्टिएर
कायर मान्छे मर्दोरहेछ ।
बाफरे ! अग्निको त कुरै छाडौँ
तेजाबले पिल्स्याउछ रे
छुँदै छुरा मुटु चस्कन्छ
डुबुल्कीमा पानी सर्कन्छ
अहो ! गोहीको बास नदीविसे छ
कायर मनको उपज
कठै ! भागदौड यो जिन्दगीको
आखिर,
मर्नैमान्छे न हो, ऊ मर्दोरहेछ ।
त्यसैले,
विकृत उपज मानसिकताको
दोषारोपण अनेक आफ्नै
रमेर मृत्युको आत्मरतिमा
छि नामर्द !
काँतर मनको अन्तिम उपाय ।
बस, आत्महत्याको के पुरुषार्थ ?
तैपनि मर्ने मान्छे मर्दोरहेछ ।
वास्तविकता यो पो रहेछ
मर्नुभन्दा त बौलाउनै निको
बौलाउनुभन्दा खरानी घस्नु ।
तर, खै इज्यत मगन्तेको ?
पौरखमा नै त इज्यत रहेछ ,
पुरुषार्थको पौरखमा रमाउँने
आखिर मान्छे एक दिन मर्दोरहेछ ।
poudelc296@gmail.com
लेखकको सम्वन्धमा