December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

चाहिएको छैन मलाई

चाहिएको छैन मलाई मेरो अस्ताउन लागेको जिन्दगी
मलाई मेरो सुस्ताउन लागेको जिन्दगी
होस रहोस् तर आस हराई रङमा मस्त जिन्दगी
ठेगान रहोस् तर गन्तव्यको खास हराइ जस्तो जिन्दगी ।
 
चर्को घाममा पनि ‘अहो !’ भन्ने दिन लिएर आउनु
मङ्सिरमा दर्के पानीको उपहास मनाउनु
हार्नु नै पर्ने कुरामा जितको शीत मनाउनु
यी सबै कुरा सादा पानामा सजाएर राख्‍नु
किनकि पानामा सजिने कुराहरू प्रायः पानामै रहन्छन् ।
 
चाहिएको छैन तिमी पनि नदेऊ सस्तो उपहास मलाई
सुक्‍ने पातको सास र दिनै नपर्ने साहस मलाई
सक्छौ भने जलाई जाऊ आफ्ना धारिलो मुस्कानलाई
ममा अब्बल तिम्रो विश्वासलाई
खाँचो नहुँदा तिम्लाई रचेको इतिहासलाई ।
 
सुनौलो किरणझैँ उदाऊ हरेक बिहानीमा
समयमा अस्ताउन नखोज्दा घामको किरणभन्दा
उत्तम साँझको सिरानीमा
सादा जीवनमा रङ्गिन रङको खोजीमा
हराइजान्छ सारा जीवन चम्किलो मोतीको रोजाइमा ।
 
आगन्तुक ‘आहा !’ पोसाकको ओत के लाग्‍नु
जब न्यानो कपास नै बेस
क्षणिक खुसीको भोग के गर्नु जब बेस नै हरेस
चोटको अर्थ व्यर्थै किन सोध्छौ कैदी बोक्रेलाई
हाँसोको अर्थ व्यर्थै किन सोध्छौ रुदिलो खोक्रेलाई ।
 
चाहिएको छैन मलाई चमेरी सिकारीको माया
रमाउनु छैन मलाई पात नहुने बिरुवाको छायामा
हसाई गयौ, रुवाई गयौ भन्ने अनौठो दिन गन्दै
भुल गर्यौ यसलाई जिन्दगी ठानेर बरु
‘चाहिएको छैन तिम्रो पारदर्शी हाँसो उनका मुखमा’ भन्दै
यहाँ
ठुलो भाषणको प्रजा फैलिएर आफू सज्जन कहलाउनु
कर्णाधारका कुरा भैदिए जनताको ताँती पछि पर्नु
वास्तवमा
मूल्यवान् कुराले जलाउनु र मूल्यहीन हाहाकारले देश चलाउनु
त्यसैले
चाहिएको छैन मलाई धर्मी भाषण सुन्नलाई
छैन तिम्रो अनौठो थिचोमिचो शासन बुझ्नलाई
तिम्रा फजुल आश्वासनमा रुक्‍नलाई
र, बेमौसमी झरीमा रुझ्नलाई
तर, तिमी पनि त सक्दैनौ नि मूल्यवान् पाइला टेक्‍न
बरु तिर्खाएरै बस्छु सक्दैनौ तिमी मेरो प्यास मेट्नलाई ।