September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

हानेदादेखि हाइजिमासम्म

उद्धव लुइटेल

टोकियो, जापान

टोकियोका उन्मत्त घाम देखेर छक्क परें म ।

टोकियो अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् हानेदा  विमानस्थलबाट बाहिर निस्कँदा शरीरभरि पसिनाका धारा बगे । बाटाभरि नखोलेको कोट खोलेर हातमा झुन्ड्याउनुपर्यो मैले । टाइ खोलेर झोलामा थन्क्याएँ । हिमालबाट तराईका चर्का घाममा पाइला हाले जस्तो भयो। ३५ डिग्री तापक्रम देखियो सामुन्नेको डिस्प्लेमा ।

‘समुद्र पुरेर बनाइएको हानेदा विमानस्थल राजधानी टोकियोको महत्त्वपूर्ण विमानस्थल हो’ – केही महिनाअगाडि पढेको थिएँ । वरिपरि समुद्र, बिचमा टापु । त्यसमै थियो भव्य विमानस्थल । विमानस्थलको सरसफाइ, सजिसजावट र अनुशासनले हामी तीनछक्क पर्यौं । सन् १९३१ देखि सन्चालनमा आएको हानेदा विमानस्थल संसारकै अत्याधुनिक विमानस्थलमध्ये एक हो ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र हानेदा विमानस्थलमा आकाश र पातालको फरक रहेछ सर’- मसँगै हिंडिरहेका अनुपम गिरीले मुख खोले ।

‘मेरो पनि त्यस्तै अनुभूति छ भाइ’ – मेरो जवाफ गिरीलाई ।

अतिथि प्रतीक्षालयमा भेटिए बेलबारी मोरङका निर्मल राई । राई हामीलाई लिन हाइजिमाबाट हानेदा आएका थिए । म विराटचोकको बासिन्दा, त्यहाँबाट बेलबारी तीन किलोमिटर पूर्व । राईसँगको पहिलो पटकको चिनजानमै अत्यन्तै खुसी लाग्यो ।काठमाडौंका सजीव वनले राईलाई हानेदा विमानस्थलसम्म गएर सल्यानका अनुपम गिरी, उदयपुर गाईघाटकी नीलम ढुंगाना, काभ्रेबनेपाकी विनिता कायस्त र मलाई हाइजिमासम्म लगिदिन अनुरोध गरेका रहेछन् । वनको आग्रहमा राई हानेदा विमानस्थल पुगेका रहेछन् ।

विनिता कायस्त र नीलम ढुंगानाको मित्रता गहिरो देखिन्थ्यो । काठमाडौंमा मैले चिनेदेखि नै यी दुईको कसिलो साथीत्वसँग मपरिचित थिएँ ।

नीलम ढुंगाना र निर्मल राई स्कुले साथी रहेछन् ।

‘नीलमका बुबा बेलबारीमा जागिर खानुहुन्थ्यो । त्यो समय नीलम र मसँगै स्कुल पढ्थ्यौं’- राईका मुखबाट निस्किएको वाक्य मेरा कानमा ठोक्कियो ।

‘सजीव सर, दाइहरू टोकियो आइपुग्नुभयो’-  निर्मल राईले सजीव वनसँग भाइबरमा कुरा गरेको सुनें ।

राममाया गुरुङलाई लिन टोकियो हिराताका  फुकुसीमा आएका थिए । उनी फुकुसिमा सरसँगै उभिएकी थिइन् । हामी चार जना निर्मल राईसँगै ।

सजीवले मसँग फोनमा कुरा गर्न खोजेछन् । राईले आफ्नो मोबाइल मेरा हातमा थमाए । सजीव मलाई सर भनेर बोलाउँथे । उनीसँग पहिलो चिनजान गर्दा म सुनखानी, दोलखाको कालिनाग बहुमुखी क्याम्पसको उप-प्राध्यापक र कालिनाग उच्च माध्यमिक विद्यालयको शिक्षक थिएँ । त्यो छाप सजीवमा पछिसम्म पनि रहिरह्यो ।

‘कस्तो लाग्यो सर जापान ?’ – वनको पहिलो प्रश्न थियो ममाथि ।

‘राम्रै देखिँदै छ, निर्मल भाइसँग भेट भयो, आभारी छौं तपाईप्रति’- मेरो जवाफ वनलाई ।

भर्खर जापानमा पाइला हालेको मानिसले जापानका बारेमा योभन्दा बढी बोल्ने कुरा पनि थिएन ।

‘मेरो नेपालको मोबाइल नम्बरमा सम्पर्क गरेर म टोकियो ओर्लिएको खबर कवितालाई सुनाइदिनस् न वनजी।’- मैले छोटो कुराकानीमै यति भन्न पनि भ्याएँ । उनले तुरून्तै खबर गरेछन् ।

त्यो कुरा केही दिनपछि कविताबाट थाहा पाएँ । मनमनै धन्यवाद दिएँ सजीवलाई ।

मेरो मनमा एउटा गम्भीर विषयले सोला हान्यो  । त्यो के थियो भने कविता नौ दिनकी सुत्केरी थिइन् । कवितालाई त्यो समयमा छोडेर जापान आएकोमा मेरो मनमा पश्चाताप ज्यादा थियो । जापान आउनु र इरानी छोरी जन्मिनुको संयोगको चेपुवामा म च्यापिएको थिएँ नमज्जासँग । समयलाई दोष दिनु वा समयलाई धारे हात लगाउनु मेरो मध्यमार्गी बाटो थियो । दुईवटा जागिर छोडेर जापान पस्नु मेरो बाध्यता कम रहर ज्यादा थियो ।

निर्मल राईका पछि पछि आआफ्ना लगेज र झोला बोकेर विमानस्थलसँगै जोडिएको बस स्टेसनतिर गयौं हामी । अनुपम गिरी पनि आश्चर्य र विस्मयको भाव अनुहारमा झल्काइरहेका थिए । अल्लारे मान्छे कसैको यादमा डुबेका पनि हुन सक्छन् । लामो हवाईयात्राको थकाइ पनि हुन सक्छ ।

पछाडि माया गुरुङ टोकियो हिराताका फुकुसीमा सरसँगै आइन् । हामीले हानादाबाट हाइजिमासम्मको यात्रा तय गर्नु थियो ।

एउटा ज्यादा रातो कम सेतो रङको बस आएर रोकियो छेउमा । हाम्रा सबै लगेज ड्राइभरले बसको उक्लने ढोका छेउको फराकिलो डिकीमा हालिदियो र डिकीको ढकन लगायो।

‘जापानमा बस चढ्दा पछाडिको ढोकाबाट चढ्ने र अगाडिको ढोकाबाट ओर्लने नियम छ‘- सजीव वनका मुखबाट सुनेको कुरा ।

हानेदाबाट ताचिकावा चल्ने बसमा एउटै ढोका थियो ।

बसमा जापानी र केही अरू विदेशी अनुहारहरू देखिरहेछु म ।

हानादा विमानस्थलको वरिपरि दुई तीन फन्का लगायो बसले । समुद्र पुरेर बनाएको विमानस्थलबाट पुल तरेर बस प्राकृतिक जमिनमा टेक्दो रहेछ । जापानीहरूको भौतिक चमत्कारको एक स्वाद हानेदा पनि हो भन्ने लाग्यो मलाई । प्राकृतिक जमिनमै व्यवस्थित विमानस्थल नभएको मुलुकबाट आएको मान्छे म । हानेदाले छातीमा भ्वाक्क लाती हानेको महसुस हुन्छ मलाई । बनाएको भए त हाम्रा पनि हुन्थे होला नि ।

बसले एउटा भव्य पुल टेक्यो। समुद्रको एउटा धार रहेछ त्यो । हानेदाको कृत्रिम र टोकियोको प्राकृतिक जमिन जोड्ने पुलमाथि लामो ट्राफिक जाममा फसेको छ हामी चढेको बस ।

‘यो बसको नाम पनि छ निर्मल भाइ?’- मेरो प्रश्न राईलाई ।

‘त्यो त थाहा भएन सर’- राई बोले ।

नेपालमा त प्रत्येक सार्वजनिक बसका नाम हुन्छन् । अग्नि यातायात, मितेरी यातायात, अरनिको यातायात, मकालु यातायात आदि इत्यादि । राई पनि अनभिज्ञ रहेछन् यसबारेमा । यसका पछाडि उनको व्यस्त जापानी जीवन वा रुचि नभएको विषय कुनै कारण हुन सक्छ ।

चारैतिर भौतिक भव्यता पान गरिरहेछन् मेरा आँखाले । भूकम्पको देशमा गगनचुम्बी भवन देखेर आश्चर्य मानिरहेछ मेरो मन । चौडा र फराकिला सडक देखेर तीन छक्क परेको छु म । समुद्रका भँगालोमा आइरहेका, गइरहेका र पर्खिरहेका विभिन्न आकार प्रकारका सानाठुला मेसिन जडित डुङ्गा देखेर उमङ्गले टिलपिल छ मन ।

पुल तर्न केही समय लाग्यो । सडकमा पैदल हिँडिरहेका मानिसहरू फाट्टफुट्ट मात्र देखिन्छन् । विश्वप्रसिद्ध कार कम्पनीहरू टोयोटा, निसान, होन्डा आदि भएको देशका मानिसहरू कारमा मात्रै हिँड्छन् होला- मनकै करेसामा लख काट्छु म ।

बसभित्रैबाट टोकियोको सम्पन्नता, समृद्धि र आकाश छुने विकास देखेर मनमनै लोभिएको छु म । सानोतिनो परिश्रम र मिहिनेतले देशको उन्नति यो हदसम्म हुँदैहुँदैन- अनुमान गर्न गाह्रो छैन मलाई । सडकका दायाँबायाँ नियालेर हेर्छु, फोहोरको नामोनिशाना छैन । अपाङ्गमैत्री, बालमैत्री र बृद्धवृद्धामैत्री सडक जताततै देखिरहेछु म ।

सडकको दाँयाबायाँ हरिया रूखहरूको पङ्क्तिबद्ध उभ्याइले मेरा आँखा तानेको छ बेस्सरी । अलि पर पर लामा लामा रेलहरू आफ्ना भूँडीभित्र हजारौं मानिसका जीवन बोकेर बेगिएका छन् । म रेल नभएको देशको मान्छे । रेल चढ्नु मेरा निम्ति रूचिको कुरा हो । आफूसँग नभएका चिजको चाहना धेरै हुन्छ नि मान्छेलाई । रेल र मेरो सम्बन्ध यही सूत्रमा अडिएको छ ।

ठाउँ ठाउँका बस स्टपमा हाम्रो बस रोकिन्छ र उही प्रक्रिया दोहोर्याउँछ, यात्रु चढाउने र ओराल्ने । बसमा चालक मात्र छ । सहचालक र कर्मचारी छैनन् । चालकको पोषाक छ टाइसुट । बाहिर प्रचण्ड गर्मी छ । त्यसको कुनै पर्बाह छैन । बसको एसीले चिस्याएको चिस्याएकै छ हामीलाई ।

बस चालकको टाउको मास्तिर राखिएको डिस्प्लेमा बस गुडिरहेको स्थान, अगाडि आउने स्टेसन र आआफ्नो गन्तव्यमा पुग्न लाग्ने समयको सही सूचना प्रसारण भइरहेछ । म खान्जी नबुझ्ने मान्छे । ती अक्षर मेरा लागि फलामका चिउरा हुन् । खान्जी बुझ्न निकै मिहिनेत गर्नु पर्छ । खान्जी नबुझे जापानमा जीवनरथ चलाउन गाह्रो हुन्छ- पहिल्यैदेखि बारम्बार सुनेको कुरा ।

ह्याट लगाएका एक हुल जापानी बुढीहरू सडक किनारमा हिँडिरहेछन् । जागिरबाट रिटायर्ड भएर फुर्सदिलो जीवन बिताइरहेका जस्ता देखिने यिनीहरू कतै घुमेर आएका हुन सक्छन् । जापानले गरेको चरम भौतिक र प्राविधिक विकासका साक्षी हुन् यिनीहरू- मेरो मनले तर्क गर्यो।

बसको झ्यालबाट बेलाबेला देखिए फ्यामिली मार्ट, सेभेन इलेभेन र ल सन । यिनीहरूलाई जापानीहरू कोम्बिनी भन्छन् । कोम्बिनी चौबिसै घण्टा खुल्ने पसलहरू हुन् ।

‘उदोन जापानको प्रसिद्ध खानेकुरा हो’- कतै पढेको थिएँ । बाटामा कतै लेखिएको देख्छु कि भनेर धेरै पटक बसको झ्यालबाहिर आँखा हुत्याउँछु म । हिरागानामै लेखेको भए नि हुने थियो । तर मैले ठम्याउन सकिनँ । ‘पछि खाउँला नि’- आफ्नै चेतन मनले आफैंलाई सान्त्वना दियो ।

निर्मल राईले बाटामा निलमसँग लामै गफ गरे । बाल्यकालदेखिका साथी वर्षौपछि भेट हुँदा गफ गर्नु पर्ने कुरा धेरै हुन्छन् । बालसँगीसँग वैचारिक समानताका अशं धेरै लुकेका हुन्छन् । बाल्यकालका साथीसँग गफ गर्न औधी मन पराउने मान्छे हुँ म पनि ।

बसले ताचिकावा ताकेको ताकेकै छ ।

जापान प्रमुख पाँच टापुहरू मिलेर बनेको देश । होक्काइडो, होन्सु, सिकोकु, क्युसु र ओकिनावाको कुल योग भन्नु नै जापानी धर्ती हो । ससाना टापुहरू पनि धेरै छन् जापानमा ।

‘भूकम्प र सुनामी यो देशका प्रमुख शत्रु हुन्’- म बोलें गिरीतिर फर्किएर ।

‘बाहिरी ज्ञानका किताब पढ्नै पर्ने रहेछ । मैले पाठ्यक्रम मात्र पढेर ज्ञानको दायरा बढाइन छु’- गिरीको जवाफ मलाई ।

यत्रो विशाल सहरमा बोटविरूवा रोपेर हरियाली बनाएको दृश्यले द्रवीभूत भएको छु । आधुनिक घर, व्यवस्थित सडक र मानव अनुशासनको एक छत्त साम्राज्य अनि त्यसको व्यवस्थित सौन्द्रर्यले सेकेन्ड सेकेन्डमा घेरिएको छु म । सुमिदागावा र तामा खोलाको शीतलताले जेलिएको छ मेरो मन ।

‘जापान राजाले बनाएको देश हो कि जनप्रतिनिधिले ?’- मौनताको रसातलमा डुबेका गिरीलाई मैले प्रश्न गरेँ ।

‘थाहा छैन सर’- गिरीले अनविज्ञता प्रकट गरे ।

‘जापानको इतिहास नपढी आएछन् गिरी’- मनमनै विश्लेषण गर्छु म ।

‘सन् १८९० को मेइजी संविधानको पृष्ठभूमिमा दोस्रो विश्वयुद्धको पराजयपछि सन् १९४७ मा बनेको संविधानमा चलिरहेको देश हो जापान’- कुनै बेला पढेको कुरा सम्झिएँ मैले ।

पाँच बजेर तेह्र मिनेट जाँदा ताचिकावामा ओर्लियौं हामी ।

‘हाम्रो गन्तव्य यहीँ हो भाइ?’- राईलाई मैले जिज्ञासा पोखें ।

‘अब बाह्र मिनेट रेल चढेर जानुपर्छ सर’- राईको जवाफ कानसम्म आयो ।

उनैले रेलको टिकट काटे हाम्रो । पहिलो पटक जापानी रेलमा पाइला हाल्यौं हामीले । माया गुरुङ फुकुसिमा सरसँगै गन्तव्यतर्फ लागिन् ।

ताचिकावा रेल स्टेसनको भव्य भवनलाई छोडेर रेल दौडियो उत्तर पश्चिमतिर । निसी ताचिकावा, हिगासी नाकागामी, नाकागामी, आकिसीमा रेल स्टेसनमा एकएक मिनेटभन्दा बढी अडिएन रेल । रेलभित्र जापानीहरूको भीड छ शिवरात्रीको पशुपतिनाथ परिसरझैँ । आइफोनमा डुबेकाहरूकै बहुमत देखियो अगाडि पछाडि । रेल चढेको बाह्र मिनेटमा हामी ओर्लियौं हाइजिमा स्टेसन ।

हाइजिमा स्टेसनमा ओर्लिंदा प्रकृति रिसाएको रहेछ । भर्खरै पानी परेर केही कम भएको तर नरोकिएको अवस्थामा स्टेसनबाट बाहिरियौं हामी । नीलम र विनितालाई केही समय पर्खाएर राईले सोही दिन बिहान बुकिङ गराइदिएको होरिमुकोनको एउटा तीन कोठे फ्ल्याटमा लगेर गिरी र मलाई थन्क्याए ।

‘यो आइफोन राख्नु सर । केही समस्या पर्यो भने मलाई यो नम्बरमा फोन गर्नु’- राईले भनेका कुरा कान तिखा पारेर सुनिरहेँ मैले ।

कोठाको तापक्रमले एकछिन उकुसमुकुसिएँ म । तीन चार मिनेट जति कोठाको बखान गरेर राई फर्किएँ । गिरी र म आफ्नै मनोलोकमा रम्यौं केही क्षण ।

‘के खाने त आजको छाक ?’- मौन बसेका गिरीको मन जाँच गरेँ ।

‘तपाईले ल्याएका असनका ताइचिन चिउरा र मैले ल्याएका ठिमीका चाउचाउ छँदैछन् नि सर’- गिरीले उत्तम उपाय निकाले ।

अर्को दिनको सूर्योदयसँगै सामुन्नेमा उभिएका चुनौती र अवसरले हामी दुई भाइ बेरिएका थियौं फनफनी ।