September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

किरिगामिनेको  शिरदेखि पुछारसम्म

उद्धव लुइटेल

टोकियो, जापान

‘दाइ भाउजू जसरी पनि चिनो सहर घुम्न आउनुहोला’ ( राममाया गुरुङको विगत चारपाँच महिना  अघिदेखिको निम्तो थियो ।

राममायालाई म विगत आठ वर्षदेखि चिन्दै आएको छु । उनी र म जापान पसेको दिन एउटै थियो । उनी असाध्यै मिहिनेती रसङ्घर्षशील युवती हुन् भन्ने बारे म जानकार थिएँ । टोकियोको चार वर्षे पढाइपूरा गरेर उनी नागानो प्रिफेचरको चिनो सहरभन्दा माथिडाँडाको तातेसिना रिसोर्ट होटलमा विगत तीन वर्षदेखि काम गर्दै थिइन् ।

ताचिकावा, टोकियोबाट बिहान ७:२१ को रेल चढेथ्यौं हामी दम्पत्ति । सिमसिम पानी परिरहेको चिनोस्टेसनमा ओर्लिँदा बिहानको नौ बजेर सात मिनेट गएको थियो । आजुसा नामक रेलको तीव्र गतिसँगै ताचिकावाबाट हुत्तिएको शरीर चिनो पुगेर स्थिर बनेको थियो । वरिपरिका सुन्दर पहाडी थुम्काहरूले चिनो सहरको सुन्दरतामा सुगन्ध थपेको आभास भयो । रेलबाट ओर्लेपछि मैले निकै चिसो महसुस गरें ।

चिनो स्टेसनबाहिर निस्किएपछि पेसिफिक ब्लु कलरको कारको झ्यालबाट राममाया गुरुङले मुस्कुराउँदै हात हल्लाइन् । राममाया गुरुङले कवितालाई गम्लङ्ग अँगालो हालिन् । यी दुईको प्रत्यक्ष भेट जीवनमै पहिलोपटक भएको हो । यसअघि विभिन्न माध्यमबाट भएको कुराकानीले एकआपसमा भेट्ने हुटहुटी दुवैको मनमा थियो । लामो प्रतीक्षापछि भएको पहिलो भेट नै चिरपरिचितसँगकोजस्तो । लामो समयपछि भेटेका दुई पुराना मिल्ने साथीजस्तो ।

मैले आफ्नै भान्सामा बनाएका केही थरी नेपाली खाना राखेको झोलालाई हातमा झुन्ड्एको थिएँ । देब्रेतिर कोइलाबाट चल्ने पुरानो  रेलको अग्र भागलाई सबैका आँखा पर्ने गरी राखिएको थियो । यो रेल जेम्स वाटले पत्ता लगाएको बास्फचालित इन्जिनले बनेको हो । प्रविधिमा आएको आमूल परिवर्तनले डिजेल रेल हुँदै विद्युतीय रेलका अनेकौं संस्करणहरूले विकसित राष्ट्रहरू धेरै उचाइमा पुगिसकेका छन् । अबको पुस्ताले यस्ता रेलहरू सङ्ग्रहालयमा मात्र देख्न पाउने छन् ।

‘ऊ त्यो रेल आधुनिक रेलहरूको बराजु हो’ -कविता र राममायातिर फर्किएर म बोलें ।

दुवैजना मरीमरी हाँसे मेरो कुरा सुनेर ।

राममायाका पछिपछि ट्युरिस्ट इन्फर्मेसन सेन्टरतिर लाग्यौं ।

भित्ताका फोटाहरू देखाउँदै उनले भनिन्, ‘दाइ कहाँ कहाँ घुम्ने ?’

‘एउटा चक्रपथ आकारको मार्गले भेट्ने र समेट्ने क्षेत्र घुम्ने’ मैले तुरुन्तै जवाफ दिएँ ।

‘किरिगामिने पहाड लैजान्छु’-  राममायाले पुनः मुख खोलिन् ।

‘हामी घुम्न आएका छौं । जता लगे पनि लैजाऊ’- मेरो जवाफ राममायालाई ।

 उत्तर दिशाका हरिया पहाडहरू ताकेर राममायाको कार दौडियो । हामी जोईपोइ बसेका छौं पछाडिको सिटमा । सडकका दायाँबायाँदेखिएका विभिन्न आकारप्रकारका घरहरूले   मेरा आँखा तानेका छन् बेस्सरी ।

आजको मौसम छ धुम्मधाम्म । हुनसक्छ केहीबेरमा पानी पर्न पनि सक्छ । मौसमप्रति चिन्ता गर्दै एकहप्ताअघि राममायाले भ्रमणको दिन सार्ने हो कि दाइ ? भनेर गरेको प्रस्तावलाई मैले ठाडै अस्वीकार गरेको थिएँ । उनले मौसम प्रतिकूल हुँदा पहाडी क्षेत्र घुम्नुको अर्थ हुँदैन पनि भनेकी थिइन् ।

‘त्यो दिन पानी पर्नुको त के कुरा भूकम्प, ज्वालामुखी र सामुद्रिक आँधी आए पनि हामी आउँछौ’- मैले राममायालाई प्रष्टसँग भनेकोथिएँ ।

टोकियोको व्यस्त जीवनबाट अनेकौं तारतम्य मिलाएर निकालेको समय क्यान्सिल गरे फेरि भ्रमण योजना बनाउन निकै समय पर्खिनुपर्दथ्यो । विदा मिल्दा मौसम ठिक नहुने मौसम ठिक हुँदा विदा नमिल्ने । यी दुवै एकै दिन मिलाउन सजिलो थिएन ।

केही उत्तरतिर गएपछि राममायाले एउटा सुपर मार्केटको अगाडि कार अड्याइन् ।

‘म यहीँबाट सामानहरू किनेर लैजान्छु’- राममायाले कवितातिर  हेरेर भनिन् ।

दुई बोतल मिनिरल वाटर र तीन बोतल तातो कफि किनेर हामी पुनःअगाडि बढ्यौं ।

केही वर्षअघि  आफ्नी आमाको स्वास्थ्यप्रति उनले बारम्बार चिन्ता व्यक्त गर्थिन् ।

‘अहिले आमालाई कस्तो छ ?’- पहाडका घुमाउरा घुम्तीहरूमा कार चलाइरहेकी मायालाई सोधें ।

‘अहिले राम्रो छ, बुबा पनि घरमै हुनुहुन्छ, म ढुक्क छु’- राममायाको तीन वाक्यको उत्तर ।

‘परदेशमा परिश्रम गरिरहेका सन्तानहरूको खुसीको स्रोत भनेकै परिवार र आफन्तहरूको शुभ समाचार त हो नि ।

राममायाले एकहप्ता अगाडि जे भनेकी थिइन् त्यहीँ भयो । बाहिर बेस्सरी पानी पर्न थाल्यो । कुहिरोका झुण्डझुण्डहरूले हाम्रा अगाडि हामीभन्दा छिटो पहाड चढ्न प्रतिष्पर्धा गरे । कारभित्र बसेर पहाड चढिरहेको लुइटेललाई बाहिरको दृश्यले मन अमिलो बनाएन । दिनभरिमा एकदुई पटक बादलले घुम्टो उघारे तल चिनो सहर आखाँमा परिहाल्छ नि । मनभित्रै मौसमका बारेमा जोडघटाउ गर्छु म ।

‘दाइ मेरो होटल पनि हेरेर जाऊँ है ।‘

‘नजिकै हो र ?’

‘अब आउन लाग्यो ।‘- उनले सङ्केत गरिन् ।

‘हेरौं ।‘- मेरो जवाफ उनलाई ।

केही मास्तिरबाट हाम्रो कार मूल सडक छोडेर कामी खोलातिर मोडियो ।

एउटा भव्य भवनको आँगन हुँदै हामी केही दक्षिण लाग्यौं र एउटा पार्किंङमा अडियौं ।

मास्तिरको तातेसिना रिसोर्ट होटलको भव्य भवन र आफू बस्ने कोठाको बारेमा राममायाले जानकारी गराइन् ।

‘प्राकृतिक वातावरणमा घुम्न आउने पर्यटकहरूका निम्ति ओनसेन, स्कीलगायतका सुविधाहरू पनि छन् नि दाइ’- यो पनि राममायाकै मुखबाट सुनेको वाक्य ।

हामी पुनः पहाडतिर उक्लियौं ।

देब्रेतिर अल्लारे जोस बोकेर कामी खोला बगेको छ तल सुवा ताल भेट्न । हामी कामी खोलाको दाहिनेतिरको घुमाउरो सडकबाट माथि डाँडातिर उक्लिरहेछौं निरन्तर । गत वर्ष लाइसेन्स निकालेर कार किनेको कुरा सुनाइन् उनले । राममायाको कार खरिद त्यहाँको भूगोलमा रहरभन्दा बाध्यता बढी थियो । किनमेल गर्न तल चिनो सहर आउनु पर्ने । बस नियमित चल्दैनन् । ट्याक्सीमा आइजाइ गर्दा पाँच छ हजार खर्च हुने । समय र पैसा बचतका निम्ति उनको कार खरिद बाध्यताको परिणति हो भन्ने बुझ्न मलाई कुनै कठिन भएन ।

गफगाफ गर्दागर्दै हामी सिराखाबा तालको डिलमा पुग्यौं । रोयल हिल्स स्की रिसोर्ट, टु इन वान स्की रिसोर्ट र इकेनो ताइरा स्नो पार्क देखिए तालको पूर्वीउत्तर दिशामा । समुद्र सतहबाट हामी १४१६ मिटरको उचाइमा थियौं । सिराखाबा ताल प्राकृतिक नभई कृतिम हो । ताल वरिपरिको सुन्दर दृश्यले मन लोभ्याएको छ बेतोडसँग । मौसम सफा हुँदै आयो हामी तालका डिलमा रमाइरहँदा । कविता र मैले टाइटेनिकका रोज र  ज्याककै शैलीमा फोटाहरू खिच्यौं । आकाशमा बादल फाटेर ठुल्ठुला प्वालहरू बनिरहेका थिए । हाम्रो चर्तिकला चियाइरहेथ्यो घामले तिनै बादलका प्वालहरूबाट । पर पूर्वी दिशामा ठडिएको थियो माउन्ट तातेसिना गजधुम्म भएर ।

आउट डोर मनोञ्जनका निम्ति यस्ता स्थानहरू देशका प्राकृतिक सम्पत्ति हुन् । आर्थिक हिसाबले पर्यटकहरूको मन भुलाएर देशको अर्थतन्त्रलाई गति दिने अचुक अश्त्र हुन् । मैले नेपालका खेर गइरहेका पहाडी र हिमाली सुन्दर सम्पदाहरू झल्झली सम्झिएँ त्यो बेला ।

हामी पुनः अगाडि बढ्यौं ।

राममायाले पहाडका दर्जनौं घुम्तीहरूमा आफ्नो कार कुदाएकी छिन् निर्धक्कसँग । सिराखाबा ताललाई देब्रेतिर छोड्दै हामी किरिगामीने पहाडका लोभलाग्दा दृश्यहरू हेर्न निरन्तर अगाडि कुदिरह्यौं ।

मैले आठ वर्षअघि टोकियो हिरातामा भाषा पढ्दाको एउटा प्रसङ्ग कोट्याएँ । राममायाले मलाई एउटा चिया पकाउने विद्युतीय उपकरण लिन हाइजिमा स्टेसनको पश्चिमतिर रहेको उनको छात्राबास बोलाएकी थिइन् । त्यो छात्राबास महिलाहरूको मात्र थियो । मैले भित्र नजान निकै करबल गरेको थिएँ । तर उनले बाहिरको सिडीबाट माथि जान मिल्छ कोठामा पस्न मिल्दैन भनेर मलाई लिएर गइन् । ठिक त्यही समयमा छात्राबासको गतिविधि जाँच्न टोकियो हिराताबाट केही सरहरू आएछन । उनीहरूले मलाई पक्राउ गरिहालें । अप्रत्यासित घटनाको पात्र बन्नु परेकोमा आफैंलाई लज्जा महसुस भयो । मैले क्षमायाचना गर्दै बाटो तताएँ । भोलिपल्ट अफिसमा गएर पुनः क्षमायाचना गर्नुपर्‍यो ।

पुरानो कुरा सुनेर राममाया मरिमरि हाँसिन् । उनको स्मृतिमा त्यो घटना मधुरो बनेको रहेछ । कवितालाई त मैले पहिला नै सुनाएको थिएँ । त्यो चिया पकाउने भाँडो अहिले पनि हाइजिमामा अनुपम गिरीको कोठामा आंशिक रूपमा सुरक्षित छ ।

एउटा फराकिलो पार्किङमा कार अड्याएर हामी किरिगामीने पहाडको अग्लो भागतिर लाग्यौं । सानो ढलान गरेको बाटोका दायाँबायाँ सुकेका घाँसहरूको साम्राज्य देखियो परपरसम्म ।

किरिगामीने पुग्दा जापानी समय दिउँसोको ठिक १ बजेको थियो । घाम दक्षिण पश्चिमतिर ढल्किएका थिए । आकाशमा बादलको झुण्डझुण्ड थियो बाक्लै ।

२०७८ वैशाख १ गतेका दिन हामी तीन नेपाली किरिगामीने डाँडाको प्राकृतिक वातावरणमा चुर्लुम्म डुबेका छौं । परपरसम्म देखिएका होचा अग्ला पहाडी भूखण्ड र भौतिक प्रगतिका अनुपम दृश्यहरू आँखामा ठोकिएका छन बारम्बार ।

‘सम्ममा सुविधा हुन्छ; पहाडमा सुन्दरता’- कतै सुनेको थिएँ । त्यो प्रत्यक्ष अनुभव गरिरहेछु आज ।

डाँडाको टुप्पामा थिए काठका फलैचाहरू, बस्न मिल्ने चिल्ला ढुङ्गाहरू  । पर्यटकहरूका लागि होटलबाट डाँडासम्म उक्लिन बनाइएका थिए दुईवटा रोप बेहरू । ताचिकावाबाटै बनाएर बोकेका आधादर्जन परिकारहरू काठका फलैचामा बसेर कपाकपी खायौं । राममायाले खानाको स्वादको तारिफ गरिन् ।

चौरमा जताततै थिए मृगका बड्कौँला । मृग मैले बाल्यकालदेखि देखेको जनावर । तेह्रथुम बजारनजिकैको गडीको जङ्गलमा होस् वापिप्लेको मेरो जन्मघर वरिपरि होस् मृगका झुण्डझुण्डहरू हुन्थें । निकै वर्षपछि मृगको बड्कौंला देखें मैले । मृग एउटा पनि थिएनन् हाम्रा वरपर । हुन सक्छ अन्त कतैभ्रमण गर्दै थिए आज तिनीहरू ।

किरिगामिनेको डाँडालाई हात हल्लाएर विदा गरें मैले । राममायाको कार दौडिएको छ पहाडका घुम्ती छिचोल्दै तल सुवा तालको किनारतिर । बाटामा भेटियो- तातेसी पार्क । हामी केहीबेर रोकियौं त्यहाँ । चिनो सहर र सुवा ताललाई पृष्ठभूमि बनाएर दर्जनौं फोटाहरू खिच्यौं आलोपालो गरेर । राममायाले पार्कको सानो फलामे घोडामा चढेर गाइन्- ताराबाजी लै लै, मामा आए घोडा……. ।

तातेसी पार्कको चौरमा बसेर हामीले सम्झियौं राममायाकी बहिनी रूपा गुरुङलाई । रूपाको रूपको चर्चा गर्यौं ।

दुरुस्तै जापानी, काटिकुटी मिल्ने । जापान आएकी भए अरूका त के कुरा रूपालाई जापानीहरूले पनि जापानी नै भन्थे होला । आँखा, नाक, मुख, टाउको, जिउडाल, छालाको रङ र कपाल सबै दुरुस्तै – म बोलें निरन्तर ।

राममाया र कविताका कान थिए मतिर आँखा सुवा तालको पानीमा ।

सुवा तालका किनारमा पुग्दा घाम हराएका थिए बादलभित्र । हावाको बेगले छचल्किरहेको तालको पानीमा रमाइरहेका थिए पानीहाँसहरू । तो, तेनरियु, याना, मियागावा र कामी खोलाको पानी मिसिएको छ सुवा तालमा । तालको पारीपट्टी ओकाया कोहान, आकासुनासाकी र इजुहाया पार्कका केही भागहरू देखिए । ओकाया, सिमोसुवा र सुवा सहरले घेरिएको सुवा ताल नागानो फ्रिफेचरको सबैभन्दा ठूलो ताल हो भन्ने सुनेको थिएँ – राममायाका मुखबाट केही महिनाअघि ।

मानिसले आफ्नो भाग्य बदल्नु छ भने पानीले मात्र नुहाएर पुग्दैन, पसिनाले नुहाउनुपर्छ । पसिनाले नुहाउने परिश्रमी जापानीहरूका हातमा परेर नै हो राजधानी टोकियोबाट टाढा भएर पनि सुवा ताल वरिपरिको भूगोल भौतिक विकासले सजिएको । राममायाका पछिपछि हिँड्नु हाम्रो दिनचर्या बनेको छ आज । उनका पछि नहिँडे कुहिराको काग भन्ने उखान चरितार्थ हुने सुनिश्चित छ ।

नजिकैको प्राकृतिक तातोपानीमा लिएर गइन राममायाले हामीलाई । जापानीहरू यसलाई ओनसेन भन्छन् । ओनसेनमा खुट्टा चोबेर मिठामिठा कुराकानीमा रमायौं हामी तीन । ओनसेनको ठिक अगाडि चिनिया अकुपन्चर प्रविधिमा आधारित तिखा टायलहरू थिए । राममाया र मैले त्यसमाथि टेकेर केही समय बितायौं । कविता ओनसेनमा खुट्टा चोबेर बसिरहिन् । अकुपन्चर प्रविधिमा इन र याङको महत्त्वपूर्ण भूमिका हुन्छ- कक्षा नौको अङ्ग्रेजी किताबमा २०५३ सालतिर तेह्रथुम नागदहका दिलबहादुर श्रेष्ठले पढाएको कुरा सम्झिएँ त्यो बेला ।

बेलुका जसरी पनि टोकियो फर्किनु थियो हामी दुईले । चिनो स्टेसनदेखि ताचिकावा स्टेसनसम्म हाम्रो साथी थियो बिहान चढेको आजुसा रेल । आजुसाको गन्तव्य भनेकै सिन्जुकु स्टेसनदेखि माचुमोतोसम्म हो भन्नेमा म जानकार थिएँ बिगत केही हप्तादेखि । राममायाले हातमा राखिदिएको चिनो सहरको चिनो बोकेर हामी फर्कियौं गन्तव्यतिर । बाबु बाजेले सपनामा पनि नदेखेको धर्तीमा आफ्नै पाइलाले टेक्न पाउँदा गौरवान्वित थियौं हामी दम्पत्ति । यसको सूत्रधार थिइन् तनहुँ बन्दीपुरकी राममाया गुरुङ । उता नेपालमा भने नयाँ वर्षको उत्साह र रौनक थियो जताततै ।