सम्झनाको प्रण

प्रणको सम्झनालाई
मनभरि सजाएर
मेरै अस्तित्व धान्दै छु म आफैँ ।
अर्थलाई पछि ब्यागमा कोचेर
एक अर्काको हात समाउँदै
निस्फिक्र बिनालगामको घोडाझैँ
जिन्दगीभर हिनहिनाउँदै विचरण गर्ने
मेरो र तिम्रो, तिम्रो र मेरो
संयुक्त प्रण ।
सोचेका थियौँ आर्थिक स्थिति सम्हाल्न सके
जीवन नौकाले भुमरी ब्यहोर्दैन होला
त्यसैले त
तिमीले तिम्रो नासो ‘म’लाई मेरो मनको साक्षी राखी
मैलाई जिम्मा लगाएर हिँडेका थियौ खाडीतिर ।
मार्कण्डेयले आफ्नो उमेर सकिने बेलामा
महादेवको मृत्युन्जय जप गरेर पार लागेझैँ
म तिम्रो नामको माला
आँखा चिम्म गरेर जपिरहेकी छु
तर, जब डराई डराई आँखा खोल्छु
चारैतिर यमदूतहरु अट्टहास लगाउँदै
आफूसँग लैजान पर्खी बसेका पाउँछु
भैँसी बाहनका साथमा ।
सुरु सुरुमा यमदूत देखेर
अट्टहास सुनेर बिचलित हुने मन
बिस्तारै त्यही क्रूर हाँसो पनि
बानी पर्न थालिसकेछ नजान्दा नजान्दै
थाहा छ प्रियतम !
उनीहरूको भैँसी चढ्नु हुँदैन
उनीहरूको गन्तव्य नर्कसम्म मात्र हो
तिम्रो सम्बन्ध मेरा लागि
एक अमृत प्याला हो
र, उनीहरू फाले विषका घैँटा हुन्
तर
मिठो धुन त भित्रबाट खोक्रिएको मुरलीले मात्रै
ओकल्ने रहेछ
केवल एक शिराबाट मिलाएर फुक्ने
र औँलाको चाल
मात्रको आवश्यकता रहेछ
तिम्रो प्यारो अनुपस्थितिको आभासले
मलाई भित्रभित्रै खोक्र्याइदिइसकेको रहेछ ।
आर्थिक उपार्जनको मृगतृष्णामा
उत्पन्न तिलस्मी झिलको
भविष्यमा विहारको स्वप्निल तन्द्रा देख्दादेख्दै
हामीले वर्तमान विस्मरण गरेछौँ
हिजोआज म आफूभित्र
आफैँ हराउँदै गएकी छु
खाडी तिमी हान्नियौ
भासिँदै जानलागेको भान मलाई भएको छ
खाडीको तातो तिमी खप्दै छौ प्रियतम
म त्यसको रापमा यहाँ झुल्सिँदै छु ।
२०७८-०३-२५ ।
लेखकको सम्वन्धमा