April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

राणा शासनको प्रतीक : माउजङ बाबुसाहेबको कोट

कथाकार भवानी भिक्षु ( वि.सं. १९८६—२०३८) द्वारा रचित माउजङ बाबुसाहेबको कोट उत्कृष्ट कथा हो । गुनकेसरी, मैया साहेबजस्ता उत्कृष्ट कथाहरूका रचनाकार भिक्षुले सामाजिक पृष्ठभूमिमा उत्कृष्ट मनोवैज्ञानिक कथाहरूको रचना गरेका छन् । विवेच्य माउजङ बाबुसाहेबको कोट कथामा कोटलाई तत्कालीन राणाशासनको प्रतीकका रूपमा चित्रण गर्दै त्यसमार्फत शासकीय अहम् मनोवृत्ति देखाइएको छ ।
माउजङ बाबुसाहेब यस ‘माउजङ बाबुसाहेबको कोट’ कथाका प्रमुख पत्रका रूपमा रहेका छन् । यस कथामा कोटलाई राणाशासनको प्रतीकका रूपमा चित्रण गरिएको छ । कोट पुरानो, मैलो तथा भित्रभित्रै मक्काएर जर्जर भएको छ, त्यस्तै राणाशासन पनि पुरानो मात्र नभई विकृतियुक्त तथा जनाधार गुमाएकाले भित्रभित्रै जर्जर भएको देखाइएको छ । तत्कालीन शासनव्यवस्थाको हबिगत माउजङ बाबुसाहेबको कोटले सङ्केत गरेको छ । माउजङ बाबुसाहेबले आफ्नो कोटप्रति गौरवबोध गरेजस्तै राणाशासनकालीन शासकहरू पनि राणाशासनप्रति गौरवबोध गर्दथे भन्ने कुरा यस कथामा कोटका माध्यमबाट देखाइएको छ । राणाशासन समाप्त भए पनि त्यसलाई तत्कालीन शासकहरूले स्वीकार गर्न नसकेको कुरालाई पुरानो मक्किसकेको कोटप्रति माउजङ बाबुसाहेबको अतिरेक प्रेमबाट देखाइएको छ । तत्कालीन शासकहरूले आफ्नो शासनसत्ता बचाउन भारततिर गएर सम्झौता गर्न चाहेका तर जनाधार गुमेकाले असफल भएको कुरालाई लखनउ गई ड्राइक्निङ र रफ्फु गरे पनि बचाउन उनी सफल नभएको कुराबाट देखाइएको छ । तत्कालीन विकृतयुक्त, जर्जर शासनव्यवस्थालाई नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको आन्दोलनको धक्काले उखेलेर फ्याकिदिएको कुरालाई एउटा सामान्य कार्यकर्ताको चोटबाट राम्रो बनाएको भनिएको माउजङ बाबुसाहेबको कोट ध्यार्र च्यातिनबाट बच्न नसकेको घटनाबाट सङ्केत गरिएको छ । यसपछि मात्र माउजङ बाबुसाहेब यथार्थ धरातलमा आएका छन् अर्थात् तत्कालीन शासकहरूले आफ्नो शासनसत्ता ढलेर प्रजातन्त्र आएको स्विकार्न बाध्य भएको कुरा कोटका माध्यमबाट देखाइएको छ ।
कोटलाई राणा शासनका प्रतीकका रूपमा चित्रण गरिएको यस कथाको भाषाशैली जटिल तर कलात्मक रहेको छ । सामाजिक भावभूमिमा लेखिएको यस कथामा कोटलाई तत्कालीन शासन व्यवस्थाको प्रतीकका रूपमा चित्रण गर्दै तत्कालीन शासकीय अहम्लाई स्वाभाविक तथा आकर्षक ढङ्गले प्रस्तुत गरी परिवर्तनलाई स्वीकार गरी यथार्थ धरातलमा ओर्लिएको देखाइएको छ । विगतमा आफ्नो जस्तोसुकै सामाजिक, आर्थिक तथा राजनीतिक पृष्ठभूमि भए पनि परिवर्तित  धरातललाई सबैले स्विकार्नै पर्ने सन्देश यस कथाबाट प्रस्तुत गरिएको छ ।