ममताले किन त्यागिन् सुबोधलाई ?

दीपा बुढाथोकी
कक्षा : १२
मनोहर माध्यमिक विद्यालय
 
बहुमुखी प्रतिभा, नेपाली साहित्यकी अमर स्रष्टा भागीरथी श्रेष्ठको जन्म वि. सं. २००५ असोज १४ गते गुल्मीको रिडी बजारमा भएको हो । कथा र उपन्यास विधाका माध्यमबाट उनले नेपाली साहित्यलाई सम्पन्न बनाउन विशेष योगदान दिएकी छिन् । स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेकी श्रेष्ठको पहिलो पहिलो प्रकाशित कथा `प्रबल इच्छा´ हो । त्यसपछि उनले महदंश, विभ्रम, रंगिन पोखरी, भूमिगत कथा सङ्ग्रह प्रकाशन गरिसकेकी छन् । यसै गरी उका मालती, एउटा यस्तो आकाश जस्ता औपन्यासिक कृतिले उनलाई सफल उपन्यसाकारका रूपमा स्थापित गरेका छन् ।  
मातृत्व भागीरथी श्रेष्ठले लेखेको र कक्षा बाह्रको पाठ्यपुस्तकमा समावेश गिएको उत्कृष्ट कथा हो । एउटी विधवा नारीले छोराछोरी हुर्काउँदा आइपर्ने सामाजिक तथा मनोवैज्ञानिक समस्यालाई कथाकार श्रेष्ठले मातृत्व कथामा रोचक र कलात्मक रूपमा प्रस्तुत गरेकी छिन् । कथामा केन्द्रीय पात्र ममताको मातृत्वबोध र नारीसुलभ चाहनाका बिचमा मानसिक द्वन्द्व  देखाइएको छ । 
हवाईजहाज दुर्घटनामामा परी श्रिमान् गुमाएपछि ममता बेसहारा बनेकी छिन् । उनलाई आफ्नो जीवन बिताउन र छोराछोरीको हेरचाहा गर्ने सहारा र मायाको खाँचो छ । यही अवस्थामा पतिका मित्र सुबोधको आगमन हुन्छ । ममता र सुबोध आपसमा नजिकिन्छन् । सुबोधले ममतालाई साथ दिने वाचा गर्छन् । समय बित्दै जाँदा सुबोधले आफूलाई मानसिकभन्दा बढी शारीरिक प्रेम गरेको कुरा ममतालाई थाहा हुन्छ । सुबोध ममताका छोराछोरीलाई पटक्कै माया गर्दैनन् । उनी विभिन्न बाहाना बनाएर ममताका छोराछोरीलाई घरबाहिर पठाउन र ममतासँग एकान्तमा रमाउन चाहन्छन् । उनी ममता नहुँदा ममताका छोराछोरीलाई हपार्छन् । यो कुरा ममताका दशबर्से छोरालाई मनपर्दैन । ममता पनि सुबोधबाट आफूले चाहेजस्तो माया, सहारा र सुरक्षाको आभाससम्म भएन । त्यसपछि उनी सुबोधसँग सम्बन्ध राख्नु ठिक हैन भनी सुबोधलाई परित्याग गरेर छोराछोरीसँग नै सम्पूर्ण जीवन बिताउने निर्णय गर्छिन् । यो निर्णय ममताका जीवनकै सबैभन्दा ठुलो सफलता हो भन्ने मलाई लाग्छ । 
पतिसँगको वियोगपछि बेसहारा बनेकी ममताले सुबोधसँग मानसिक प्रेमको आशा गरेकी थिइन् । त्यसको ठिक विपरीत सुबोधचाहिँ ममतासँग यौन चाहना पूरा गर्न मात्र चाहन्थे । उनी ममताको स्वास्थको पनि ख्याल गर्दैनथे । एकदिन ममताकी सानी छोरी चन्द्रमा अबेलासम्म घर आइनन् । छोरी खोज्न गएकी ममता असिनपसिन भएर आइपुगिन् । त्यो देखेर सुबोधले भने, “किन पसिनै पसिना भएर खोज्न गएकी ? पुलिसले पाएपछि रेडियोबाट खबर दिइहाल्छ नि !’’ सुबोधको सय भनाइले जोसुकै आमाको हृदयमा कति पीडा होला भनी सहजै अनुमान गर्न सकिन्छ ।
 
छोरी चन्द्रमा दुर्घटनामा परी अस्ताल पुर्‍याएको जानकारी भयो । छोरी लिन सँगै जाऔँ भनी ममताले सुबोधलाई आग्रह गरिन् । तर, पेट दुखेको बाहाना बनाई सुबोध ममताका पलङमा सुतिरहे । सुबोधका यस्ता क्रियाकलापले ममताको सुबोधप्रतिको आकर्षण घट्न थाल्यो । उनमा छोराछोरीप्रतिको प्रेम र कर्तव्य त थियो नै । यस्तो परिस्थितिमा सुबोधका व्यवहारले उनी असाध्यै पीडा महसुस गर्न थालिन् । उनको आशा, भरोसा र विश्वास छोराछोरीप्रति नै केन्द्रित भयो । त्यसैले ममताले सुबोधलाई परित्याग गरिन् ।
यसरी छोराछोरीको आडभरोसाका लागि ममताले सुबोध लाई प्रेम गरिन् । तर, सुबोधबाट ममताका सन्तानले कुनै राहत पाएनन् । ममतालाई सुबोधप्रतिको प्रेमभन्दा छोराछोरीप्रतिको दायित्व महान् लाग्यो । त्यसैले उनले छोराछोरीको प्रेम रोजिन् । यति मात्र होइन ममताको यस कार्यले आमा धरती हुन्; जननी हुन् । आमाले श्रृष्टि गर्छिन् । एउटी आमाको सुख भनेकै सन्तान र सन्तानको सफलता हो । आफ्ना सन्तानका लागि आमाले क्षणिक सुख र शारीरिक प्रेमलाई महत्त्व दिँदैनन् भन्ने वास्तविकता मातृत्व कथाले देखाएको छ । यसका साथै आफ्ना छोराछोरीका लागि सुबोधप्रतिको प्रेम त्यागेर ममताले असल र जिम्मेवार आमाको परिचय दिएकी छन् । यो उनको स्वागतयोग्य कार्य हो ।