January 14, 2025, Tuesday
२०८१ माघ २, बुधबार

सप्रसङ्ग व्याख्या : ‘सन्तुष्टि’ कविता

नआओस्……………………………
…………………………………….गति ।
प्रस्तुत पद्यांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको ‘सन्तुष्टि’ नामक कविताबाट निकालिएको हो । आधुनिक नेपाली कविता साहित्यका क्षेत्रमा चर्चित तथा सफल परिष्कारवादी कवि भरतराज पन्त (१९८६—२०६५) द्वारा प्रस्तुत कविता रचना गरिएको हो । जीवनोपयोगी सन्देश दिने सन्दर्भमा यो पद्यांश आएको हो । सुख तथा दुःखको समिश्रण नै जीवन भएकाले धैर्यपूर्वक लक्ष्यप्रति समर्पित व्यक्ति मात्र जीवनमा सफल भई सन्तुष्ट बन्न सक्छ भन्ने विचार प्रस्तुत गरिएको छ ।
जीवनको अविरल यात्रामा सधैँ एकनासको अवस्था असम्भव हुन्छ । यस क्रममा कहिले सुख त कहिले दुःखको मानिसले सामना गर्नुपर्छ । त्यसैले जीवन भनेको सुख तथा दुःखको समिश्रण हो । रातपछि दिन तथा दिनपछि रात अविरल गतिमा चलेजस्तै सुख तथा दुःख जीवनका अभिन्न प्रक्रिया हुन् । सुखपछि दुःख र दुःखपछि सुख आउनु नियमित प्रक्रिया हो । त्यसैले सुख हुँदा मात्तिने र दुःख हुँदा आत्तिनेजस्ता कमजोरीबाट मानिसले आफूलाई टाढा राख्नुपर्छ अर्थात् धैर्यशील बन्नुपर्छ भन्ने विचार प्रस्तुत गरिएको छ । सम्पत्ति प्राप्त हुँदा हुने अधैर्यले व्यक्तिलाई नैतिक पतन गराउन सक्तछ । त्यसबाट मानिस अपमानित तथा घृणित जीवन बाँच्न बाध्य हुन्छ । दुःखमा आत्तिने गर्दा मानिसलाई आफ्नो लक्ष्य प्राप्त गर्न असम्भव हुन्छ । सुख तथा दुःख जीवनका अभिन्न अङ्ग भएकाले जस्तोसुकै जटिल परिस्थिति आइपरे पनि धैर्यपूर्वक लक्ष्यप्रति समर्पित व्यक्ति मात्र जीवनमा सुखी वा आनन्दित बन्न सक्छ भन्ने सन्देश दिइएको छ ।
अनुष्टुप छन्दमा रचना गरिएको यस पद्यांशमा अन्त्यानुप्रास अलङ्कार मिलाइएको छ । सरल भाषाका माध्यमबाट जीवन जिउने क्रममा जीवनका अभिन्न अङ्गका रूपमा आइपर्ने सुख तथा दुःखबाट विचलित नभई धैर्यपूर्वक आफ्नो लक्ष्यप्रति समर्पित व्यक्ति मात्र जीवनमा सफलताको शिखर चुमी सन्तुष्ट हुन सक्छ भन्ने जीवनवादी विचार प्रस्तुत गरिएको छ ।