December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

यो मन त नेपाली हो !

त्रिलोक यादव
प्रसादी एकेडेमी
कक्षा : ११
 
जति दुःख,कष्ट दिए नि यो मन त नेपाली हो 
नेपाल हाँस्दा नै यो मन हाँस्ने हो
नेपाल रुँदा यो मन पनि धुरु धुरु रुने हो
देशका लागि रगत बगाउन तयार छु
तर, यो मन नदुखाइदिए हुन्थ्यो
किनकि,
यो मन दुखेसँगै नेपाल पनि दुख्छ
यो मन रोएसँगै नेपाल पनि रुन्छ ।
 
मलाई लाग्छ- 
म रोएँ  पनि मेरो देश हाँसिरहोस्
म मरे पनि मेरो देश बचिरहोस्
प्रत्येक नेपालीले हृदयमा सिङ्गो नेपाल साँचिरहोस् !
 
देशको बदनामीभन्दा मलाई मेरो मृत्यु प्रिय छ
देशकै हाँसोसँग मैले मेरो हाँसो साटिसकेँ
मेरा चाहना केही होइनन्
मेरा खुसी केही होइनन्
देशका चाहना र खुसी नै मेरा सर्वस्व हुन्
देशभन्दा माथि केही छैन
त्यसैले देशको दुर्दशा मलाई स्वीकार छैन ।
 
जब मेरी आमाको तस्बिर हेर्छु
देशकै नक्सा देख्छु त्यहाँ
आमा र देशमा फरक देख्दिनँ केही
मेरा पीडामा आमा रोएकी छिन्
मलाई लाग्छ-
मेरा पीडामा देश पनि रोएको छ
त्यसैले देश र आमाका आँसु पुस्‍नु मेरै कर्तव्य हो ।
 
देशका हरेक विपत्‌मा म धरधरी रुन्छु
देशका खुसीमा दिल खोलेर हाँस्छु
किनकि यो मन त मेरो नेपाली हो
देश त मेरो नेपाल नै हो ।