March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

छोरीको माया

“आमा ! यस पटक म इलाम घुम्‍न जान्छु है ।” मैले आमालाई भनेँ । सायद आमालाई मेरो प्रस्ताव मन परेन । “नानी ! छोरी मान्छेले जथाभावी हिँड्नु हुन्न ।” आमाले मलाई सम्झाउनुभयो । मैले आमाका कुरामा लैङ्गिक विभेद देखेँ । तर, त्यसो भन्दा आमाले चित्त दुखाउनु होला भन्ने लाग्यो । त्यसैले आमालाई सम्झाउँदै भनेँ, “आमा म जथाभावी हिँड्दिनँ नि । मेरो देश, समाज र परिवेश बुझ्‍न भ्रमण गर्छु ।” आमाका भय र आशङ्काले भरिएका आँखा ममाथि परे । “आमा ! म एक्काइसौँ शताब्दीकी छोरी । सुरक्षित तवरले यात्रा गर्न सक्छु ।” मुसुक्क मुस्कानसहितको बोलीले आमालाई विश्वास बढाएछ । अलिकति झुकेको मेरा शिरमा हात राखेर भन्नुभयो, “छिट्टै आऊ है नानी । तिमी नहुँदा बुबाले पनि चिन्ता गर्नुहुन्छ ।”
इलामको छोटो र रमाइलो भ्रमणपछि घर फर्कने बेला भयो । कोसेली किन्न बजारतिर निस्कँदा ‘हाम्रो कोसेली घर’ लेखिएको पसलमा मेरा आँखा अडिए । आधाफिट जति लामा छुर्पी डोरीमा उनेर माला जसरी नै झुन्ड्याइएका थिए । सोकेसमा सिसाका बट्टाहरू लाइन लगाइएका थिए । कुनैमा कागतीको निम्की र कुनैमा अकबरे खोर्सानीको लोभ लाग्दो अचार देखिन्थ्यो । राता र निला प्लास्टिकका पातला खोलमा सजिएका ललिपप खाइहालौँ जस्ता देखिन्थे । ससाना प्याकेटमा राखिएका कुराउनीका पोका उस्तै आकर्षक थिए ।
“कोसेलीका लागि हो बहिनी ? आउनुस् न, बस्‍नुस् ।” आत्मीयता भरिएको मिठो मुस्कानमा पसल्नीले स्वागत गरिन् । पसलअगाडिको मुढामा टुसुक्क बसेँ । र, पसलका सामानमा आँखा दौडाउन थालेँ । दाल, चामल, चिनी, तेल आदिले पसल भरिभराउ देखिन्थ्यो । एकैछिनको कुराकानीमा हामीले परियच साट्यौँ । उनको नाम सरिता रहेछ । उनको मिठो बोली मेरा मनमा र पूर्वका न्याना घाम तनमा खेलिरहेका थिए । यो बिरानो ठाउँमा त्यति मिठो गरी ‘बहिनी’ भन्ने मान्छेलाई पक्कै दिदी भन्नुपर्ला भन्ने सोचिरहेकी थिएँ ।
“छुर्पी, ललिपप, कुराउनी, कागतीको निम्की र अकबरे खोर्सानी पाहुनाले धेरै रुचाएका कोसेली हुन् । तपाईँलाई के दिऊँ त बहिनी ?” फेरि पनि उस्तै मिठो र लोभलाग्दो शब्द ‘बहिनी’ सुन्न पाएँ । अनि त मलाई सरिता आफ्नै दिदी हुन् जस्तो लाग्यो । सिलसिला मिलाउँदै भनेँ, “यो बिरानो ठाउँमा ‘बहिनी’ भनेर बोलाउँदा आफ्नै दिदीलाई भेटे जस्तै लाग्यो । म पनि तपाईँलाई ‘सरिता दिदी’ भन्छु नि है ।”
 
“सबैसँग साइनो लगाएर बोल्ने यसको बानी नै हो नानी ।” एकमुठी सिमीका दाना बोकेर उभिँदै एउटी वृद्धाले भनिन् । उनी अगिदेखि नै भुईँमा छरिएका सिमीका दाना टिप्दै रहिछिन् । मैले नदेखे पनि उनी हाम्रा कुरा सुन्दैरहिछिन् ।
“को होलिन् यी आमा ?” मैले जिज्ञासु आँखाले हेरेँ । उनी मुठीका दाना बोरामा राख्‍न निहुरिइन् । सपक्क बाटिएको सेतो कपालमा धागाको रातो फुर्को लर्कियो । कम्मरमा पहेँलो पटुका, कलेजी रङको चौबन्दी र चिटिक्क परेको फरिया उनका शरीरमा खुलेका थिए । कानका मुन्द्रा र उज्यालो अनुहारले सुखलाई सङ्केत गरिरहेका थिए । 
“चिन्नुभएन बहिनी ? उहाँ मेरी आमा ।” मनको कुरा बुझे झैँ सरिता दिदीले भनिन् ।
“नमस्कार आमा !” मुस्कुराएर हात जोडेँ । 
प्रायः यात्रामा भेटिएका विषयवस्तु समेटेर कथा अथवा कुनै लेख लेख्ने मेरो बानी छ । मलाई यी आमाछोरीका कुराले लोभ्यायो । एउटा लेखको विषयवस्तु त पक्कै पाउँला भन्ने आशा पनि लाग्यो । बिहानीपख भएकाले होला पसल भिडभाड थिएन । सरिता दिदी र आमा दुवै जना बोल्ने मुडमा थिए । मसँग पनि केही समय बाँकी नै थियो । त्यसैले मोबाइमा रेकर्ड अन गरेँ अनि सुखदुःखका कुरा सुरु गरेँ ।
“मेरी छोरीले साह्रै दुःख पाई नानी ।” सुस्केरा हाल्दै आमाले भनिन्, “छोरी माग्‍न धनी कुटुम्ब आए । सुख पाउली भनेर चौध वर्षकै उमेरमा बिहे गरिदियौँ । अलि दिन त राम्रै थियो । बिहे गरेको चार वर्षमै दुइटी छोरी जन्माई । त्यसपछि छोरो जन्माउन सकिन भनेर धेरै दुःख दिए ।” आमाले एकै सासमा भनिन् । 
आमाका कुरा सुन्दा मलाई साह्रै नराम्रो लाग्यो । सरिता दिदीका बुबाआमा अशिक्षित थिए । उनीहरूले छोरीको भलाइ नै सोचेर विवाह गरिदिएका थिए होला । तर, सधैँ सोचेका कुरा कहाँ पूरा हुन्छन् र ! पहिली छोरी जन्मँदै नै सासूले नाक खुम्च्याइछिन् । दोस्री पनि छोरी जन्मँदा त तथानाम गाली नै गरिछन् । बिचरा दिदीले सुत्केरी हुँदा पटेभरि खान पाइनछिन् । आमाकै पेट भोको भएपछि छोरीले दुध खान पाउने कुरै भएन । सुत्केरी भएका बाइस दिनमै घाँस, दाउरा र मेलापात गर्नुपरेछ । पिठ्युँमा घाँसको ठुलो भारी, तिखा ढुङ्गाले छेडेका रगताम्मे पाइताला, त्यसमाथि सुत्केरी रगत पनि मिसिएका राता पाइला सरिता दिदीले अघि बढाइरहिन् । उनलाई आफ्नो पीडा र भोकको कुनै पर्बाह थिएन । सल्लाका सुसेलीमा पनि छोरीकै रोदन सुन्थिन् । दिदीले भोगेका पीडाको त्यो दृश्य सम्झँदा मेरो शरीर सिरिङ्ग भयो । आँखा चिम्लिएर काम थुन्नै आँटेकी थिएँ ।
“त्यसलाई के दुःख भन्नु र बहिनी ! म त कालो बादलमा पनि चाँदीको घेरा देख्छु ।” दिदीले त साहित्यिक अभिव्यक्ति दिइन् । “हुन त त्यसबेला म निकै चिन्तित थिएँ । छोरीको जिम्मेवारी मेरै काँधमा थियो । आफैँलाई पनि कसरी बाँच्ने भन्ने चिन्ता थियो ।”
सरिता दिदीले पीडाका ती कठोर पहाडहरूसँग सङ्घर्ष गरिरहिन् । कर्मले संसार जित्‍न सकिन्छ । आफ्नै पति, सासू र ससुराको मन फर्काउन के नसकियोस् भन्ने उनलाई लगेको रहेछ । तर, सौता आएपछि आशाको त्यो झिनो त्यान्द्रो पनि चट्ट चुडिएको महसुस सरिता दिदीले गरिछन् । दिनहुँको झगडा र सास्ती खपिसक्‍नु थिएन । घरमा बस्‍ने वातावरण नै भएन । आफन्तले सहरमा सानोतिनो नोकरी लगाइदिन आश्वासन पनि दिएछन् । तर, पहाडका कन्दरामा जन्मी हुर्केकी सरिता दिदीलाई सहरको काम त्यति सहज लागेनछ । जानेकै ठाउँमा सङ्घर्ष गर्न सजिलो होला भनेर उनी छोरीका साथ माइत आइछन् ।
“ए, यति राम्रो घर रहेछ । माइती पनि सम्पन्न नै हुनुहुँदो रहेछ । त्यसपछि त सुखका दिन आए होला नि; होइन ?” म सरिता दिदीका सुखका दिनको प्रतीक्षामा थिएँ । त्यो दुःखको सागरबाट उनी निस्कियुन् । मेरो यही कामना थियो ।
“काँ हुनु नि नानी । त्यसबेला हाम्रो घर गाउँमा थियो । अलिकति पाखो बारी र एउटा गाईगोठ थियो ।” आमाले गरिबीको पीडा सुनाइन् ।  “छोरी माइत आएपछि हामीलाई साह्रै पिर पर्‍यो । छोरीले घर गरी खान सकिनँ भनेर निद्रै लागेन । ‘छोरो भने पनि छोरी भने पनि यही एउटी त हो नि । यहीँ बस्छे’ भनेर बुबाले मलाई सम्झाउनुभयो । तर, छरछिमेकले कुरा काट्न थाले ।”
बुबाको उदात्त विचार सुन्दा मेरो मन भक्कानियो । सबै मानिसले छोरा र छोरीलाई समान दृष्टिले हेर्ने हो भने संसार साच्चै स्वर्ग बन्थ्यो । तर, आज पनि छोरा र छोरीका बिचको विभेद अन्त्य हुन सकेको छैन । अरू त के मेरै आमाले पनि ‘छोरी मान्छेले जथाभावी हिँड्नु हुन्न’ भनेर मलाई सम्झाउनुभयो । “आमा ! छोरा मान्छेले चाहिँ जथाभावी हिँड्न हुन्छ ? मनपरी गर्न हुन्छ ?” भनेर सोधूँ जस्तो लागेको थियो । तर आमाको चित्त दुख्ला भनेर त्यसो भन्न सकेकी थिइनँ ।
“मलाई कुरा काट्नेहरूको कुनै पर्वाह भएन । मात्र आमाबुबा र दुइटी छोरीको चिन्ता थियो । अनि केही गर्न सक्छु भन्ने विश्वास थियो । तर, के गर्ने ? मसँग कुनै उपाय थिएन । बुबाआमालाई खेतीपातीकै काममा सघाउन थालेँ । त्यतिकैमा गाउँमा प्रौढ शिक्षा सुरु भयो । बुबाले मलाई पढाउन नसकेकोमा पछुताउँदै प्रौढ शिक्षा लिने सल्लाह दिनुभयो । मलाई पनि पढ्ने रहर थियो । तर ‘म पनि पढ्न जान्छु’ भनेर बुबाआमालाई भन्न सकिनँ । बुबाले नै ‘पढ्न जा’ भनेपछि खुसीको सीमा नै रहेन । दिनभरि घरको काम गरेर राति अबेलासम्म पढ्न थालेँ ।” दिदीले भन्नुभयो । 
“त्यसबेला धपेडीले यसको शरीर हेरिनसक्नु भएको थियो । आमाको मन न हो; छोराछोरीको दुःख कहाँ सहन सक्दोरहेछ र ! ‘भयो, अब नपढ्’ भनेर मैले नै सम्झाएँ । तर किन मान्थी र ? ‘मेरो जस्तो हेला र दुःख अबका छोरीले नपाउन्’ भनेर उल्टै मलाई नै सम्झाई ।” आमाले उज्यालो अनुहारमा भन्नुभयो ।
आमाका कुरा सुनेर मेरो मन चसक्क भयो । आँखा रसाउलान् जस्तो भयो । एक पटक पारिका डाँडामा आँखा पुर्‍याएँ । अनि प्रसङ्ग मोड्दै भने, “ती साना छोरीहरू खोई त सरिता दिदी ?”
“कलेज गएका छन् । ठुली डिग्री र सानी ब्याचलर अन्तिम वर्षमा पढ्छन् ।” दिदीका कुरा सुनेर मनमा अपार खुसी लाग्यो ।
“आफूले पढ्न नपाए पनि छोरी पढाउनुभएछ दिदी । मलाई खुसी लाग्यो ।” 
“मैले पनि पढेँ नि बहिनी । यस पालि बार पास गरेँ । अब ब्याच्लर पढ्छु । छोरीहरू पनि मलाई पढाइमा हेल्प गर्छन् ।”
दिदीका कुरा सुनेर म अबाक भएँ । थाहै नपाई आँखा रसाए । अवरुद्ध स्वरमा भनेँ, “यो कसरी सम्झव भयो दिदी ?” 
 “जहाँ इच्छा त्यहाँ उपाय भन्छन् नि । ममा पढ्ने तीव्र इच्छा थियो । सकारात्मक इच्छा, काम गर्ने प्रतिबद्धता र सङ्घर्षलाई कुनै पहाडले छेक्‍न सक्दैन ।”
प्रौढ शिक्षा सकिएपछि दिदी पाँच कक्षामा भर्ना भइन् । तर, कहिल्यै स्कुल गएर पढ्ने आवसर पाइनन् । उनले दिनभरि घरका काम गर्नुपर्थ्यो । घरका काम सकिएपछि छोरीहरू सरिता दिदीलाई घरमै पढाउँथे । छोरीहरू सरिता दिदीका गुरु भए । 
त्यसपछि मैले दिदीसँग व्यसायको कुरा गरेँ ।
“सङ्घर्ष जीवनको अभिन्न पाटो हो । मलाई त सङ्घर्षबिनाको जीवन नीरस लाग्छ ।” दिदीले कुनै दार्शनिक जस्तै बनेर भनिन्, “प्रौढ शिक्षा पढाउने गुरुहरूले पनि ममा सङ्घर्ष गर्ने प्रेरणा बढाइदिनुभयो । उहाँहरूले व्यावसायिक चेतना भरिदिनुभयो । त्यहीअनुसार गाउँको दुध सङ्कलन गर्न थालेँ । त्यसबाट कुराउनी पकाउन र बेच्न थालेँ । थोरै फाइदा हुन्थ्यो । त्यही थोरै भएको फाइदाले पनि म अझ बढी प्रेरित भएँ । अनि छुर्पी बनाउन थालेँ । सहरमा गएर दुधबाट बन्ने विभिन्न प्रकारका मिठाई बनाउने तालिम लिएँ । मेरा उत्पादनको माग बढ्दै गयो । त्यसपछि घरेलु विभागमा ‘हाम्रो कोसेली घर’ भन्ने उद्योग दर्ता गरेँ । त्यही उद्योगमा उत्पादित ‘हाम्रो छुर्पी’ र ‘मिठो ललिपप’ गाउँ र बजारमा निक्कै लोकप्रिय भए । ती वस्तुहरू इलाम आउने पर्यटकहरूले कोसेलीका रूपमा खोजी खोजी खरिद गर्न थाले । निरन्तरको मिहिनेत र सङ्घर्षका कारण व्यापार पनि राम्रो भयो । त्यही व्यापारले दुईवर्षअगाडि यो घर किनेँ । त्यसपछि बुबाआमा, दुई छोरी र म यही घरमा बस्दै आएका छौँ ।”
त्यतिकैमा एक जना बा प्लेटमा चियाका कप बोकेर आए । उनले मतिर सङ्‍केत गर्दै भने, “पाहुना आएको भन्नुपर्छ नि । मैले तीन कप मात्र चिया ल्याएँ ।” 
“उहाँ मेरा बुबा हुनुहुन्छ । उहाँले भान्साको काम गरेर हामीलाई पसलमा पालो दिनुभएको छ । सत्तरी वर्षको उमेरमा यो सक्रियता देख्दा साह्रै खुसी लाग्छ मलाई ।” दिदीले भन्नुभयो ।
“यो सब छोरीको माया हो नानी । छोरीको माया पाइरहँदा अझ धेरै वर्ष पनि यसरी नै सक्रिय बाँच्‍न सक्छु जस्तो लाग्छ ।” बा हाँस्दै बोले ।
हामी चार जनाले तीन कप चिया बाँडेर खायौँ । त्यसबिचमा धेरै कुरा भए । गफको मिठाससँगै घडीको सुई घुमिरह्यो । समयको गतिकालाई कसले रोक्‍न सक्छ र ! मन नलागी नलागी छुट्टिनुपर्‍यो । चिया र त्यो आत्‍मीयताको मिठास सम्झँदै म फर्केँ । झोलाभरि कोसेली थियो; मनभरि बुबाआमाको सम्झना । बाटाभरि सम्झिरहेँ, “के म सरिता दिदी जस्तै सरल, साहसी र असल छोरी बन्न सक्छु ? जीवनमा सङ्घर्ष गर्न सक्छु ? प्रत्येक विपत्‌का क्षणमा सम्भावनाका सुनौला आशा देख्‍न सक्छु ? अनि अठोट गरेँ, म प्रयास गर्छु ।”