म सम्झिन्छु !

पिँढीमा बसेर
बलेसीमा झरेका
पानीका थोपासँगै
उठेका
ती पारदर्शक
गोलाकार
पानीका फोकाहरू !
मेरा बालसुलभ
हातले
च्याप्प च्याप्प
समात्न
खोज्दाखोज्दै
विलिन हुँदै
फेरि
उठ्दै र फुट्दै गरेका
ती पानीका फोकाहरू
कति
सुन्दर र शान्त
तर आफैंमा
कति क्षणभङ्गुर
ती पानीका फोकाहरू !
तपतप झरेका
पानीका थोपाको
झड्का र बेगसँगै
प्राप्त तिनको जीवन
परेलीको
एक पलकसँगै
बिलीन !!
मैले नचाहेको होइन
मैले
नचाहेको होइन
तिनलाई टिपेर
अँजुलीमा भर्न
तर !
तर ती
उठ्नु र फुट्नुको
नियतिमा
भासिइरहेका हुन्थे !
सिसिफस जस्तै
म
तिनका पछि
कुदिरहन्थें
म सम्झिन्छु
म कुदिरहन्थें !!!
लेखकको सम्वन्धमा