May 30, 2026, Saturday
२०८३ जेष्ठ १७, आईतवार

म मरेको छैनँ

म आज दिउसो मर्दै गर्दा
आकाश हाँसेर बोल्दै
मेरो कात्रो गगन
मैसँग गनगन गर्दै छ।
 
घाट पखालेको पानी
पग्लेर रगत बन्दा
मलाई बोक्ने काधहरू
उठेर त्यसै नाच्दै छन्।
 
मेरा पत्थर अस्तुहरू
तातो हिउँ हिमाल जमाउँदै
मसानघाट हिलाम्य पार्दै छन्।
 
मरेको म त्यही
ब्रह्मनाल घुटुघुटु पिउँदै
सहर, सगर र सडक
हिलाम्मे सपाना सुक्दै
भोलिको डर हेर्दै छु।
 
किनकि
म अझै मरेको छैनँ
जिउँदो मसान खेलाउँदै छु।