तारा खसेको रात !

भोलि मावलमा देवाली रहेछ, थाहा थिएन । बिहान कान्छा मामाको फोन आयो । भान्जा, “देवालीमा आउनुपर्‍यो” भन्नुएको रहेछ । मैले फोनमा ‘र्‍याली सुनेँ र्‍याली ?’ भनेर भनेँ, होइन देवाली भन्दा दङ्ग परेँ । यता दिउँसो जेठा मामाले फोन गर्नुभयो, “भान्जा, देवाली छ, आउनू है” भन्दा त्यहाँ गाडी छ, आउनू भन्या सुनेछु ।’ फोनवार्ता यस्तै भएको थियो जसलाई मैले ट्विटरमा लेख्न भ्याएको थिएँ । अब मलाई अरू चिन्ता थिएन । मावल कसरी पुग्ने भन्ने मात्रै थियो । चीनबाट फर्किएकै पनि ४ महिना बितिसक्यो, पाइला टेक्न पाएको होइन । घरमा थोरै थोरै केही सघाउन पाए हुन्थ्यो भन्ने अभिलाषाले पनि हुनुपर्छ घरबाट फुत्त निस्केर कतै हिँड्न मन लागिहाल्दैन । बरु घरमा काम होलो भएपछि सल्लाह गरेर निस्किँदा मज्जा लाग्छ । नत्र यात्राभरि प्रश्न मात्रै मनमा आइदिन्छन् ।
बेलुका सेरा पुगेँ । घरमा सिकर्मी दाइहरू थिए । उनीहरूलाई भनेर कुखुरो लिन पुगेँ । त्यही बेला सानी बहिनी आइन् । जिस्किँदा जिस्किँदै म ती सानी बिहिनीलाई नाम के तिम्रो भनेर सोधेँ । गजबको कुरो यो रह्यो कि उनको अगाडि नाम नै थिएन । मैले सोध्दा नाम फुत्त आएछ क्यार । उसकी ममीलाई नि अब बाबु भन्ने नामजस्तै नानी नै राख्दिनू है भन्या थिएँ । यो मिठो प्रसङ्गपछि म नारायण अङ्कलकामा पुगेको थिएँ । ‘भोलि मेलम्ची जानुहुन्छ कि नाइ’ भनेर सोधेँ । अङ्कलले ‘जाने’ भनेपछि मनमा एकखाले तरङ्ग आइपुगेको थियो । यो खुसी स्वाभाविक किन पनि थियो भने हामी दशकौँं पहिले मावलको देवाली मनाउन पुगेका थियौँ । मलाई यसपालीको देवालीमा फेरि मावल जानु थियो, त्यो सल्लाघारीमा एकैछिन बालापन स्मरण गर्नु थियो। अङ्कलसँग जाने भएँ । बेलुका जेठा मामाले ड्याडीलाई फोन गर्नुभयो, वहाँहरू नजाने भए पनि हामी जाने भयौँ ।
भोलिपल्ट कुलपूजा (देवाली), चण्डी पूर्णिमा, बुद्ध जयन्ती, उभौली पर्व, चण्डेश्वरी जात्रा, कुर्म जयन्ती, गोरखनाथ जयन्ती सबै एकैदिन थिए । एउटै पूर्णिमामा सबैको आ—आफ्नै चालचलन हगि ! सुन्दर छैन त ? म चाहन्छु हामीलाई बुद्धको आशीष लागिरहोस् । गोरखनाथले राष्ट्र बचाइरहुन् । घरमा रोटी चिया खाएर निस्किएँ । ८ बज्न १० मिनेट हुँदा नारायण अङ्कल पनि आइपुग्नुभयो । ३० मिनेटमा मेलम्ची पुग्यौँ । ’मलाई खाडीचौर जान नपरेको भए माथि नै पुर्‍याइदिन्थेँ ’ भन्नुभयो । ‘मेरा लागि यति पनि ठुलो हो अङ्कल’ भन्दै अङकललाई धन्यवाद दिएँ । एक त लकडाउन अर्को अङ्कलले त्यहाँसम्म पुर्‍¥याइदिनु नै अहोभाग्य भइदियो । मेलम्चीको झोलुङ्गे पुलबाट दीपेशलाई फोन गरेँ । ऊ कुरेर बसेको रहेछ । म सरासर उकालो चढेँ । ४० मिनेटमा मावल नै पुगियो । ढिलो नगरी बाइक चढेर हामी कूल पुजा गर्ने ठाउँ पुग्यौँ । मामाहरू पूजा गर्दै हुनुहुँदो रहेछ । हजुरबुवाहरू, मामाहरू, माइजूहरू, दाइहरूलाई एकै ठाउँमा भेट्दा खुसी लाग्यो । ‘कोरोनाअघि नेपाल आइपुगेछौ, भाग्यमानी रहेछौ’ भनेर मलाई भन्नुभयो । मसँग त्यसको उत्तर थिएन, संयोग जो थियो ।
सल्लाघारी उसै पनि प्रिय लाग्छ मलाई । सल्लाका अग्ला रूखहरू, खोटाको बासना, पाटनजस्ता ठाउँहरूले मन तान्यो । सानोमा आउँदा चिलाउनेको हाँगामा बसेर सल्लाका पातमा चिप्लेटी खेल्नुलाई मैले सम्झिन मात्रै सकेँ । धेरै कुरो बिर्सेको रहेनछु । चिलाउनेकै बोटमुनि देवालीचाहिँ किन भएको होला भन्ने जिज्ञासा रहिरह्यो । वातावरण मस्त थियो, पूजाको धुप बास्ना आइरहेको थियो । मलाई एक्लो नहुन सञ्जीव भाइको साथ थियो, त्यहाँ दीपेश पनि थियो । राम–लक्ष्मण मामा, रजिन दाइहरू, कान्छा मामाहरूदेखि आफूले नचिनेका सबैसँग गफिन पनि भ्याएँ । उता मिलन पनि आउँदै रहेछ । झन् खुसी लाग्यो । ऊ राम्रो तस्बिर लिन खप्पिस पनि छ । मेरो मित्र पनि हो । दीपेश लिन गयो । म र सञ्जीव केही बेर माथि सम्म परेको सल्लाको बनमा नै गयौँ, घुम्यौँ । अब भने बादलहरू मडारिन थाले । मिलन आइपुग्यो । खाजा खायौँ । खिर र पुरी मिठो थियो । मसलदार दुध चिया उस्तै । पूजा सकिन लाग्दा पानी पर्न थाल्यो । हामी रुझ्दै–भिज्दै फर्कियौँ । पुगेपछि लुगा फेर्‍यौँ । दीप्ती र माइजूले भिजेका लुगाहरू धोइदिनुभएछ । निःशब्द भएँ, न नधुनु भन्न सकेँ न धन्यवाद नै दिन सकेँ । आगो ताप्दै ठुली हजुरामा, दीप्ती, दीपा, मिलन, मनीषा, सुस्मिता बहिनी र म गफियौँ । माहोल रमाइलो थियो । खाना खाइसकेर केही बेर म आराम गर्नतिर लागेँ ।
रातमा जेठा मामाकामा खाना खाने भएँ । ‘भान्जाहरू सम्झनुहुन्न । भान्जाहरू त झोलीका देवता हुन् भन्छन्’ भनेर जेठी माइजूले भन्नुभयो । ‘फोन मात्रै नगरेको माइजू सम्झिन्छौँ हामी’ भनेँ । मामालाई त गरेकै हुँ माइजूसम्म पुगेन कि ? खैर, रातमा खाना खाइयो । अनि खाएर डाँडासम्म हिँडियो । गफिँदै बहिनीहरूसँग हिँडियो । सम्भवत पहिलोपल्ट तारा खसेको देखियो । उनीहरूले नि पहिलोपल्ट देखेछन् । मलाई चाहिँ कमेट्स लाग्छ हो चाहिँ के हो पत्तो पाइनँ । जुनेली रातमा जुगल पनि मुसुक्क मुस्कुराइरहेको थियो । फर्केर हामी एकैछिन गफियौँ । नवीन दाइ पनि चीन गएका रहेछन् । धेरै प्रसङ्गमा रहेर गफियौँ । तास खेल्यौँ । अनि सञ्जीव र म सुत्न पल्लो घर गयौँ । म भुसुक्क भएको पत्तो पाइनँ ।
बिहान गुफा जाने कुरो थियो । कारणवस मिलन र म सामेल हुन नसक्ने भयौँ भन्दा सबै निराश भए । भाइबहिनी ‘बोल्दिनँ’ भन्न थाले, मामा माइजूहरू नि ‘गए हुन्छ, आज यतै बसौँ’ भन्न थाल्नुभयो । मैले सबै कुरा भनेपछि सबैले बुझेझैँ गरे । एकैछिन बसेर घर फर्कने कुरो गरियो । दुबै हजुरामाहरू ‘बस न, किन आजै जाने ?’ भन्न थाल्नुभयो । मन छुट्टिने छँदै थिएन । तर पनि मान्छेको नियति हो ठुलीहजुरमाको एक प्रश्नमा मैले, ’हाम्लाई दुवै हजुरामा प्यारा, दुवै हजुरामा हाम्रै’ भन्दा भावुक हुनुभएको थियो । २ वर्षपछि पुग्दा पनि मलाई चिन्दा म दङ्ग परेको थिएँ । ’कति हँसिला छन्न्’ भनिरहनुहुन्छ हजुरामा । अनि केही बेर जेठी माइजूसँग दर्शन गफ गर्दै हामी निस्क्यौँ । हजुरामा बाहिर घाममा हुनुहुन्थ्यो। आउँदा खुसी देखिने मान्छे, जाँदा दुःखी देखिन्थिन् । जानेसँग कस्को के लाग्दो रहेछ र ?
हामी दाजुभाइ गफिँदै ओरालो झरिरह्यौँ । छाडी जान मन थिएन । परिबन्द हुँदो रहेछ । मान्छे कतै च्यापिएको हुँदो रहेछ । हामी निरन्तर हिँडिरह्यौँ । न्वारानमा माहिली फुपू हजुरामाको घर पस्यौँ । ठुल्बा–ठुल्यामा, दिदीहरू सबैलाई भेट्दा औधी खुसी भएँ । दीर्घबहादुर जो मेरो कुप्रो हजुरबुवा हुनुहुन्छ वहाँको इतिहास सुन्दा छाती धक्क फुल्यो । हामी कति महान् पुर्खाका सन्तान रहेछौँ त ! मेरो न्वारानको नाम दीर्घबहादुर आउँदा नाम हजुरबुबाको पहिले आइसकेको कुरोले अर्कै राखिएको, फुपू हजुरामाले मलाई दीर्घबहादुर देखेको प्रसङ्ग र एमबीबीएस पढ्नुअघि गोसाइँकुण्ड जाँदा हजुरबुवाको श्राद्धकै दिन सुखद् खबर पाउनु सौभाग्य थियो । त्याँबाट सबैसँग बिदा भइओरी हामी टार आइपुग्यौँ । लक्ष्मी दिदी, दाइभाउजूहरू सबैलाई भेट्यौँ । खुसी हुनुभयो । यता पनि पल्लो घरतिर कोपिला दिदी, भिनाजु, भतिजी, नाति नातिनाहरूलाई भेट्यौँ । काफल र चिया खाँदै कोरोना, पढाइ आदि बारेधेरै संवाद गर्‍यौँ । अनि उता सुनिता भाउजूले ‘बस, बस खाजा बनाउँछु’ भन्दा पनि हाम्रो हतारिएको वेगलाई रोक्न सक्नुभएन । माथि प्रवीण दाइ पनि भेट्यौँ । अनि तालामाराङ पुगेर काली दिदी, गनेश दाइ, भाउजू, जीवन, प्रकृतिसँग पनि भेट्यौँ । चिया खाँदै गफियौँ । सबैलाई घरतिर आउने निमन्त्रणा पनि दियौँ । अनि हामी बतासियौँ ।
घर आउँदा च्याट र टिङटिङ म्यासेजले भरिएका रहेछन् । लिपुलेकबाट मानसरोवर जाने सडक खोलिएको कुरो ट्विटमा पढियो । मनमा आक्रोश थियो । धन्न, भाग्यवश आएर चाइनिज परीक्षा दिन भ्याएँ । यो अविस्मरणीय दिन बनेको अनुभूति गरेँ । सबैलाई यतैबाट धन्यवाद ! यात्रा चलिरहेछ !