December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

नरोऊ आमा !

आमा ! तिम्रा आँसु ओबाएनन्
झरी, पानी र बर्षाद सँगै
जन्जालले घेर्दा
र, समस्याले पिरोल्दा पनि
तिमी कहिल्यै थाकिनौ
हिम्मत नहारी निडर अनि
आँटी र साहसी बनिरह्यौ ।
 
तिम्रो अस्मिता
अनि सन्तानको भविष्य लुटिंदा
कत्ति पनि डगिनौ
बिचलित बनिनौ
पहाडले थिच्न सकेन
तिम्रा छातीमा बुट र गोला बारुद
बर्सिँदा पनि कहिल्यै कायर बनिनौ ।
 
तिम्रो रक्षार्थ
युद्धमोर्चा होमिएका
तिम्रा सन्तानहरू
सुदूर क्षितिजमा
घामझैँ विलुप्त भएर गए
तर, तिनको न्यानो र लालीमा
तिमी स्वयम् र बाँकी सन्तानहरूका लागि
प्रेरणा र ऊर्जा बनेर
भुङ्ग्रोझैँ भर्भराइरहेछ ।
 
तिम्रो अस्मिता लुट्नेहरू
तिम्रो छातीमा बुट बजार्नेहरू
घरि वर घरि परबाट
नियाली रहेछन् तिमीलाई
झुक्याएर लुटपाट गर्न
नामेट पार्न खोजिरहेछन् ।
 
आज पनि
तिम्रो बचाउका लागि
लाखौँ सन्तान
युद्ध मैदानमा
अविचलित उभिरहने छन्
प्रतयेक किल्ला र मोर्चाहरूमा
साहस र आँटका साथ
लडिरहने छन् डटिरहने छन् ।