September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

च्यामुसीबाट चियाउँदा

“उत्थानका लागि इच्छा र साधना चाहिन्छ, पतनका लागि इच्छा मात्रै भए पुग्छ रे । तर म मान्दिनँ । विदेश आउँदा नाल्मा डाँडाबाट जब आफ्नो गाउँघरको अन्तिम झलक हेर्छु त कति इच्छा गर्छु, म त्यहीँको आङमा अटाऊँ, त्यस पहाडी समाजको ठुलो पखेटाले मलाई बिरानो देशमा नबिलाउँदै छपक्क छोपिदिओस् । तर चिताउँदैमा यति वर्षको साधनाले सँगालेका शिक्षा–सभ्यता मिल्काएर म सङ्लो लेकाली बन्न सक्तिनँ । त्यसैले मलाई लाग्छ मात्तिएको देश र उछिट्टिएको मानिस एकै हुन्, एउटा टापुमा एक्लो । अझ टाकुराको फेद हुन्छ, द्वीपको प्रतिबिम्ब हुन्छ तर मेरो पृष्ठभूमि नै छैन । पर्वतेले पढ्यौ भन्दैमा प्रवासी ठानिनुमा के अत्युक्ति ?” डा. हर्क गुरुङको यो वाणी मैले बारम्बार पढेको छु । यता पाइला टेक्नुअघि मैले केही ठाउँहरू र मावल–घर यात्रा गर्दै यसैगरी देउरालीहरूलाई भाकेको थिएँ, डाँडाहरूबाट फाँटहरू नियालेको थिएँ, पहाडहरूको प्रतिबिम्बमा आफूलाई पाएको थिएँ, नदीहरूको गतिशीलतामा आफूलाई बगाएको थिएँ । खैर ती अनुभूतिहरूभन्दा अरू के होलान् र ! जसको स्मरणमा एउटा अर्कै स्वर्गानुभूति छ ।

कर्मको बिरुवा जहाँ उम्रिन्छ, त्यहाँ लालित्यले झाङिनुपर्छ भन्ने वाणी सरल छ तर गहिरो अभिव्यक्ति राखेको छ, मेरो जीवन–व्याख्यामा । तिजको दिन मैले एमबिबिएस अध्ययनका लागि मेरो माटासँग केही समयलाई बिदा मागेको थिएँ, आज चीनको च्यामुस् आइपुगेको ट्याक्कै ६ महिना पुगेको छ । आजै फुसफुसे हिउँहरूले स्वागत गर्नु, पढाइ उस्तै शीर्षकको हुनु, सपनीमा लाओशिर्सँग चाइनिजमा गफ हुनु संयोग नै हो । आइन्स्टाइनले भनेजस्तै, हामीले अनुभव गर्न सक्ने संसारको सबैभन्दा सुन्दर कुरा रहस्यमय छ । त्यो मानिस जो रहस्यका भावनाहरूसँग अपरिचित छ, जो एकछिन रोकिएर रहस्यप्रति छक्क पर्न सक्दैन, त्यस्तो मानिस मरेतुल्य हुन्छ । उसका आँखा खुलेर पनि बन्द छन् । सायद यी जीवन संयोगहरू जुर्नुलाई मैले रहस्यमय पो मानेँ या आफैँमा ती रहस्यमय नै पो हुन् कि ?

समय गतिशील छ भनेर हामी आज बाँच्नेहरूले मात्रै होइन हिजो यही धर्तीमा जन्म लिइसकेकाहरूले पनि समय र समुद्रको छालसँग तुलना गर्दै अनेकन् साहित्य सिर्जना गरिसके, अनेकन वाणीहरू भनिसके । समय आफ्नै गतिशील यात्रामा छ । समुद्रमा त छाल आइरहन्छ, यसलाई पनि पर्खिने हो र भन्दै मैले अफ्रिकाकै एउटा सुन्दर द्वीपबाट आएका अफ्रिकन डा. रसिद हसन अलि खानलाई प्रश्न सोधेको थिएँ । उनी भन्थे, “म सानै हुँदा प्रत्येक दिन बिहान आउने सामुद्री छालहरू हेर्न जान्जिबारको त्यो सामुद्री किनारामा पुग्थें । आज पनि त्यो उत्तिकै सम्झना छ । अझ आखिर समयलाई मैले यति धेरै व्याख्या किन गरिरहनुपर्दो हो र ? तैपनि प्रसङ्गहरूलाई छुट्याउनु पनि त भएन ।

सुरुका दिनहरूमा कुनै पनि ठाउँ नौलो हुन्छ भन्थे भन्नेहरू । तर आफूले नै नभोगेसम्म त्यो अन्तर्मनमा गएर नठोकिने रहेछ । अरूका भोगाइ, अनुभूति पढ्दा, सुन्दा गहिराइमा पुगेर आफूलाई त्यही पात्रमा राखेर हेरे पनि नयाँझैँ नै बनी भोग्नु नै पर्नेरहेछ । घरभन्दा धेरै टाढा, क्षितिजभन्दा धेरै पर, नौलो ठाउँ, नौलो भाषा अनि नौलो हावापानीमा आफूलाई बानी लगाउनु ढुङ्गा चपाउनुसरह हो । आफ्नै देशमा जन्मेर, हुर्केर, बढेर राम्रा कुरा सिक्न त वर्षौं लाग्छ तर लगभग सबै वातावरण नै फरक भएको ठाउँमा पुगेर आफूलाई अभ्यस्त बनाउने प्रयास गर्नु जीवनको एउटा सिकाइकै पाटो होला, सायद । ती बाटामा हिँड्दा चाइनिज खानाको बास्नाले के तान्थ्यो, अर्कै के हो के हो लाग्थ्यो । भित्ता र फ्लेक्समा लेखिएका अक्षर देख्दा डा. सन्तोष दाइलाई बारम्बार सोध्थेँ, अनि तिमीहरूले पनि जान्ने दिन आउँछ भन्दै ढाडस दिनुहुन्थ्यो । सुरुका दिन बजार लैजाने, त्यताको जीवनशैलीलाई सजिलो कसरी बनाउने, के कता गर्नेलगायत सबै कुराहरूमा उहाँले भन्न, सिकाउन नाइँनास्ती कैले गर्नुभएन । उताबाट आउँदा कसरी के गर्ने हो भन्ने चिन्ता केही गर्नुपरेन । राम्रा कर्म गरे राम्रा मान्छेको सहयोग नपाउने कुरो अपवादमा नै पर्ला । बाहिर निस्कँदा देखिने चाइनिज अक्षर, शब्दहरूमा आँखा परिहाल्थे । ती अक्षर न अङ्ग्रेजीजस्ता न हाम्रा देवनागरिक लिपि नै जस्ता न हाम्रा आँखाले कैले भेउ पाएको लिपि नै । कैले पढेर जान्ने होला हुटहुटीले मलाई सधैँ अघि बढ्नुपर्छ भन्ने हेतुले जगाइरहन्छ, हुन त सिकेका, जानेका कुराभन्दा व्यक्तिको जीवनमा अरू के नै सम्पत्ति छ र ! जाने मेरो भाषा हुन्छ, नत्र मैले नजानेको कुरा मेरै भए पनि हुनुले के अर्थ राख्ला र !

सुरुका दिनहरू सजिला कहाँ हुन्छन् र ! विशेषतः मलाई घर, परिवार, आफन्तको यादले झस्काइरहन्थ्यो । मन अमिलो भएर आउँथ्यो, ती दिनहरू स्मरण हुँदा । घर भन्ने चिज वस्तु मात्रै होइन रहेछ भावना रहेछ । नत्र सुन्दर हुने वस्तुले मात्रै तान्ने हो भने त च्यामुस्मा हिउँ परेको समय र यताको शरद्  वा अरू कुनै सुन्दरताले तान्नुपर्ने हुँदो हो । यात्राको सुन्दरता व्याख्या र अब यतै बस्नुपर्ने भनेर मनोभावनाले गर्ने व्याख्याहरू फरक हुँदा रहेछन् । सुन्दरतालाई यसो भन्दै गर्दा सापेक्षताबाट तौलिएको होइन किनकि यहाँ ती साथीहरू छन् । हामीले मरुभूमि भन्ने ठाउँहरूबाट आएका मित्रहरू पनि भेट्छौँ, जो ती जन्मेको भूमिलाई अपार प्रेम गर्छन्, सायद यसैले घरहरू ढुङ्गा र माटोको थुप्रो मात्रै होइन, यो त भावनाहरूको सङ्ग्रहालय पनि हुन् कि !

आज भाषा कक्षामा  (时间过真快的– समयको गतिशीलता छ ) शीर्षक पनि पढ्ने संयोग जु¥यो अनि सम्झिएँ, त्यो ६ महिनाअगाडि, आफ्ना सपना पूरा गर्न नै मैले गरेका हरप्रयासहरू जसको प्रतिफल स्थितिले सम्भव÷असम्भव दुबै कुरालाई उत्तिकै बोकेको थियो । आखिर सम्भावना तिनै असम्भव हुन सक्ने स्थितिहरूको बुइ नचढी नहुन पनि त सक्छ । संसारका कुनै भाषा पनि दोस्रो भाषाका  रूपमा सिकेर बोल्नेलाई उत्तिकै गा¥हो कुरो हो । चाइनिजको लेखाइ हान्ज र ध्वनिले गर्दा गाह्रो भनिएको हुँदो हो तर पनि विश्वकै कठिन भाषा भनेर चाइनिज भनिन्छ पनि, स्वाभाविक कुरो नै हो । तर निरन्तर अध्ययन, सिकाइ र मिहेनतमा आफ्ना इच्छाहरूको फ्युजन गरे कुनै पनि कुराहरू वा भाषालाई आफ्नो सम्पत्ति बनाउन सकिन्छ भन्ने निक्र्योल निकाल्न सकिन्छ । भाषा नजानी त्यो देश के जानिएला होइन र ? चीनले भाषालाई दिएको प्राथमिकतालाई हाम्रो देशका उत्तराधिकारीहरूले स्मरण गर्नुपर्छ ।

“जब म विदेशमा हुन्छु तब बोलचित्र र नाटक हेरिरहेको हुन्छु, जब म स्वदेशमा हुन्छु, म जीवन अनुभव गरिरहन्छु… तर ठाकुरबाबाको देखासिकी गर्ने सबै सिकारू विश्वप्रेमी र विश्वसिद्धान्ती लेखक र कविहरू भुल्दछन् कि विश्वप्रेम भनेको चिज स्वदेशमै विकसित हुन्छ ।  जसले आफ्नो जाति, आफ्नो राष्ट्रको प्रेम राख्न सक्दैन, त्यसले विश्वप्रेम राख्छ भन्नु ताती गर्न सिक्नुअगाडि दगुर्न जान्ने हुनु मात्रै हो ।” देवकोटाको यो लेखाइले मलाई ऊर्जाशील अनुभूति गराउँछ । उताबाट आउँदा केही आध्यात्मिक र साहित्यिक पुस्तकहरू पनि साथमा लिएर आएको थिएँ । ममा देशप्रेम मेरै माटामा विकास भएको थियो, विदेश आएर होइन । बरु यताबाट चियाउन पाउनु सौभाग्य रहेछ । देशमा के गर्दा कस्तो हुन्छ भन्ने सानो रेखाचित्र यहाँबाट बनाउन सकिन्छ । विदेशमा आएर मात्रै स्वदेशप्रेम गर्नु भनेको चाहिँ बैमौसमी तरकारी फलाउनु मात्रै हो, देशलाई जहाँ गए पनि सदाबहार माया गर्ने मन स्वदेशमै उम्रिनुपर्छ ।

यस बिचमा संवादहरू निक्कै पातलिए । बाआमा, परिवार, दिदीभिनाजुहरू र केही साथीहरूसँग बाहेक मेरो संवाद अहिले लगभग छैन नै । सबैले बुझेर पनि होला, यता बिचबाट भन्दा बाहेक अरूबाट कुरा गर्न अलिक गाह्रो नै छ । बाआमा, काका काकीहरूसँग बोल्न पनि कैले त महिनौँ कुर्नुपर्छ । मूलतः आमासँग बोल्दा उहाँ अझै पनि मलाई अति सम्झनुहुन्छ, फोनका प्रत्येक संवादमा उहाँको आँखा रसाइहाल्छन्, सम्हालिनुहुन्छ । बा त रामको बनवास यात्रा सुनाएर प्रेरित गर्नुहुन्छ । अनि आमालाई भन्छु, “पढ्न मात्रै त आएको  हुँ, राम्रो पढेर फेरि उतै आइहाल्छु नि । मेरो यहाँ राम्रो छ, कैले चिन्ता नमान्नू है” तर माया सधैं उँधो हुन्छ भन्छन्  नि बाआमाले गर्ने माया हामीले महसुस गर्न हरप्रयास गरे पनि उहाँहरूले गर्ने त्यो अगाध प्रेम कस्तो छ भनेर म व्याख्या गर्न सक्दिनँ । म उहाँहप्रति सदा नतमस्तक छु,  जीवनका ईश्वरहरूप्रति !

मूलतः चीनमा फेसबुक प्रतिबन्ध छ । म सधैँ चलाउन्न, भिपीएन बेलामौकामा चलाउँछु । प्रतिबन्ध लागेकाले होला फेसबुक म्यासेन्जरबाट भिडियो कल हुन्न । संवाद पनि पातलिएको छ । समय उस्तै सधैं कहाँ हुँदो रहेछ र ! ऐले पढ्ने समय पनि हो, र यो समय पैले जस्तै अरूसँग बोल्न, संवाद गर्न, भेटघाट गर्न नभए पनि आफूलाई एउटा अनुशासित मार्गबाट सपनामा दृढ हुनुछ । मलाई यहाँसम्म आइपुग्न प्रेरित गर्ने मेरा हजुराबाआमाहरू, बाआमा, काका काकीहरू, दिदी, भिनाजुहरू, दाइहरू, भाइहरू, साथीहरू, आफन्त,  शुभचिन्तक र सामाजिक सञ्जालमा गाँसिनुभएर मलाई सदा हौसला दिने मनहरूप्रति म आभारी छु । सिर्जना कसले गरे भन्ने नखुले पनि विजयकुमारले ट्विट गरेको एउटा कविता तल प्रस्तुत गर्दै सबैका आउने दिनहरू शुभ रहुन्, मेरो यही कामना !

“पछाडि साथी थियो

अगाडि थियो लक्ष्य

रोकिएको भए शिखर छुट्ने

हिँडे साथी छुट्ने

शिखरको चाहना पनि

साथीको माया पनि

रोकिएको भए म अतृप्त मर्थेँ

हिँडेको भए वियोगले मर्थेँ

तिर्खा थियो भयानक

तर पानीमा विष थियो

पिएको भए विषले मर्थेँ

नपिएको भए तिर्खाले

तिमी नै भन म के गर्थेँ ?”