February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

प्रेमपत्र

(कृषि तथा वन विज्ञान विश्वविध्यालय, रामपुर, चितवनको शुभारम्भ साहित्य समाज र गण्डकी विद्यार्थी समाजको संयुक्त आयोजना रहेको मिति २०७८/११/०२ को प्रतियोगितामा चतुर्थ स्थान हासिल गर्न सफल प्रेमपत्र ।)

प्रिय कालु,

मुटुभरिको माया!

खै कहाँबाट सुरु गरौँ? तिम्रो सम्झनामा अन्तर्मनमा  प्रेमिल भावहरू छताछुल्ल भै पोखिन्छन्। आजकल तिमीलाई नसम्झिरहन सक्दिनँ त्यसैले यी कोमल हातहरू थर्थराउँदै कोरा कागजमा कलमको सहायताले पवित्र प्रेमको इस्तिहार लेख्न अघि बढ्दै छन्।

जीवनरूपी यात्रामा आएका बाधा अड्चनहरूबिच लडेर सङ्घर्ष गर्द गर्दै थाकेकी थिएँ म । कसलाई आफ्नो जीवनमा ठाउँ दिने र कसलाई नदिने भन्ने चिजको दोधारले चेपेर मेरो मन पनि शिथिल भएको थियो। यसैबिचमा तिमी मेरो जिन्दगीमा कुनै रोमाञ्चक फिल्मको हिरो जस्तै बनेर प्रवेश गरिदियौ। मलाई ढुङ्गा खोज्दा देउता मिलेझैं भयो।

तिमी आयौ अनि बल्ल थाहा पाएँ, मानिसको जीवनको सबैभन्दा ठुलो पुँजी रहेछ प्रेम। प्रेममा कति ठूलो शक्ति हुँदोरहेछ। प्रेम त दुई पवित्र ह्रृदयहरूबिचको अन्तर्घुलन रहेछ। नापेर ननापिने, जोखेर नजोखिने अनि मासेर पनि नमासिने प्रेमको सायदै कुनै सटीक परिभाषा दिन सकिंदोरहेछ। चुम्बन र अँगालोमा लुप्त प्रेम मात्र प्रेम रहेनछ । हर सुखदुःखमा साथ हुने प्रेम नै साँचो प्रेम रहेछ। तिमीलाई हेर्दा लाग्छ कालु, जुनसुकै स्वार्थ भन्दा परको प्रेम नै सँच्चा प्रेम रहेछ ।

माया, तिमी आएसँगै मेरो जीवनमा बहार आएको छ। रोइरहेको मेरो अत्रिप्त मन तिम्रो नि: स्वार्थ माया र मोहनी रूपमा  हराउँदै ‌गएको छ। आजकल त तिमी हरबिहानी सँगै मेरो मन मस्तिष्कमा उदाउँछौ। गोरे दाइको चिया पसलमा दिनहुँ चिया खाँदा बज्ने गीतहरूमा पनि म तिम्रै झङ्कारहरू महसुस गर्छु । कलेज होस्टेल क्यान्टिनमा खाना खाँदै गर्दा टिभीमा हेर्ने प्रेमिल गीतहरूमा पनि तिमी हिरो र म हिरोइनको कल्पना गरी रमाइरहेकी हुन्छु। मेरा हर सांझपखहरू तिम्रै सम्झनामा अस्ताउँछन्।

पढाइले पेलिरहेको बेला अनि यसै मन उराठ भैरहेको बेला आजकल म हामी ‌दुईका तस्बिरहरू हेर्ने गर्छु अनि मख्ख पर्छु। हामीले संगै बिताएका पलहरूका सम्झनाहरू मेरा लागि तनाव हटाउने औषधि बनेका छन्। मलाई थाहा छ मैले पनि तिम्रो मनमस्तिष्कमा अड्डा जमाउन थालिसकेकी छु। तिम्रो मनपालिकाको मेयर त म बनिसकें । अब घरपालिकाको गृहमन्त्री पनि छिट्टै बनाउनु।

म पनि तिम्रो प्रेम दहमा पौडिसकेको भएर होला सायद तिमी पनि मलाई औधी मन पर्छौ। तिम्रो झप्प परेको दारी, राता रसिला ओठ, चुचो बाहुन नाक र मोहनी लगाउने आँखाहरूमा म फिदा भएकी छु। तिम्रो अग्लो जिउडाल र चौडा छाती देख्दा म मेरो सानो भाइ पनि हुर्केर तिमी जस्तै भएको कल्पना गर्छु। मैले गरेका जुन काम पनि प्रशंसा गरिदिने अनि मैले गाएका जुन गीत पनि कान ठाडा पारेर सुनिदिने तिम्रो स्वभाव म निक्कै मन पराउँछु। म रिसाएर आगो हुँदा नि धैर्यको बाँध नफुटाउने तिम्रो सज्जन व्यवहारले नै म सबैभन्दा बढी तिमीतिर लोभिएकी हुं। आफ्नो कामसंग काम राख्ने अनि अरूको कुभलो नगर्ने तिम्रा भद्र व्यवहारहरूमा म मेरो बुबाको रूप‌ प्रतिबिम्बित भएको देख्छु। त्यही भएर पनि होला, दिनानुदिन  मेरा मनमा तिमीप्रतिको सम्मान बढ्दै गएको छ।

कालु,म तिम्रो मुटुको केन्द्रबिन्दुलाई आफ्नो घर बनाउन चाहन्छु। म‌ जति सँगीतलाई प्रेम गर्छु,उति नै तिमीलाई गर्न चाहन्छु। जीवनभर त्याग्न नसक्ने गरी। जसरी जूनले घामसँग र नदीले सागरसँग गरेको हुन्छ; म पनि तिमीलाई त्यस्तै नि:स्वार्थ प्रेम गर्न चाहन्छु। म तिम्रो प्रेम र प्रेरणाले कठिन परिश्रम गर्न चाहन्छु अनि आफ्नो गन्तव्यका‌ ढोकाहरू खोल्न चाहन्छु। मनमनै सजाएका हजार सपना पूरा गर्न चाहन्छु। कहिल्यै कम नहुने आमाको आफ्नो सन्तानप्रतिको माया जस्तै म तिमीलाई अनन्त अनन्तकालसम्म प्रेम गर्न चाहन्छु। 

तिमीलाई औधी माया गर्ने,

उही तिम्री पियारी।